२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

शृंखलामा फर्कियो नेपाल

दीपेन्द्रको पुरानै शैली
आदर्श ढकाल

यूएई — दीपेन्द्रसिंह ऐरीले आफ्नो फर्म सानदार शैलीमा फर्काएपछि नेपालले शुक्रबार यूएईसँगको दोस्रो खेल ४ विकेटले जित्दै ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला १–१ को बराबरीमा ल्याएको छ । यूएईले अघिल्लो दिन पहिलो खेल २१ रनले जित्दै शृंखलामा अग्रता लिएको थियो । 

शृंखलामा फर्कियो नेपाल

दुबईस्थित आईसीसी एकेडेमी ओभलमा टस जितेको यूएईलाई नेपालले १९.२ ओभरमा १ सय ७ रनमै अलआउट गर्‍यो । खराब सुरुआत गरेको नेपाल ४६–५ को दयनीय अवस्थामा पुगेको थियो । दीपेन्द्रले पवन सर्राफसँग महत्त्वपूर्ण साझेदारी गर्दै विजयी इनिङ्स खेलेपछि नेपालले ३ बलअगाडि १ सय ११ रन बनाएर लक्ष्य भेटयो ।

यूएईसँगको तीन एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा निकै कमजोर प्रदर्शन गरेका दीपेन्द्र ट्वान्टी शृंखलाको पहिलो खेलमा पनि धेरै टिक्न सकेका थिएनन् । पहिलो बलमा चौका हानेका उनी अर्को बलमा आउट भएका थिए । शुक्रबारको परिदृश्य भने अलिक फरक थियो । उनले इनिङ्सलाई बढाउनुका साथै अन्तिम ओभरमा चौका प्रहार गर्दै विजयी रन बटुले ।

नेपाललाई अन्तिम बलमा विजयनिम्ति ७ रन चाहिन्थ्यो । पवन ओभरको पहिलो बलमा अमिर हायतबाट बाउन्ड्री लाइनमा क्याच आउट हुन पुगे । त्यसअघि उनले दीपेन्द्रसँग छैटौं विकेटमा ५५ रन जोडिसकेका थिए । स्ट्राइकमा आएका दीपेन्द्रले स्ट्रेट छक्का प्रहार गर्दै स्कोर बराबरीमा ल्याए भने अर्को बलमा थर्डम्यानमा चौका प्रहार गर्दै नेपाललाई जित दिलाए ।

म्यान अफ द म्याच दीपेन्द्रले ४१ बलमा ४७ रन बनाए । उनले ४ चौका र १ छक्का प्रहार गरे । निर्णायक क्षणमा रन बनाउन सक्दा राहत महसुस गरेका दीपेन्द्रले भने, ‘पहिलो चार खेलमा रन बनाउन नसक्दा मलाई के नपुगेजस्तो महसुस भइरहेको थियो । मैले आफैंमाथि विश्वास गरेको थिएँ र यो इनिङ्सले आउँदा दिनमा मलाई ठूलो हौसला दिनेछ ।’

वसन्त रेग्मीको स्थानमा खेलेका पवनले २५ बलमा १८ रन बनाए, जसमा १७ औं ओभरमा प्रहार गरेको २ चौका समावेश छ । नेपालको सुरुआत निकै खराब रहयो । कप्तान पारस खड्का दोस्रो बलमै शून्यमा आउट भए । उनका ओपनिङ जोडी प्रदीप ऐरीले पनि ८ रनमात्र बनाउन सके । आश्चर्यजनक रूपमा तेस्रो नम्बरमा पठाइएका करण केसीले २३ बलमा २० रन बनाउनेक्रममा २ चौका र १ छक्का प्रहार गरे ।

नेपालले त्यसपछि ज्ञानेन्द्र मल्ललाई ७, करण र अघिल्लो दिन अर्धशतक बनाएका सन्दीप जोरालाई १ रनमा गुमायो । यो तीन विकेट ११ रनअन्तरमा झर्‍यो । त्यसमा दुई विकेट सुल्तान अहमदले लिए । दबाबमा रहेको नेपाली इनिङ्सलाई दीपेन्द्र र पवनले उकासे ।

यसअघि नेपाली बलरहरू उत्कृष्ट लयमा देखिए । तीव्र गतिका बलर सोमपाल कामीले पहिलो दुई ओभरमै २ विकेट लिए । आफ्नो पहिलो ओभर लिएर आएका सन्दीप लामिछानेको चौथो बलमा साइमन अनवरले छक्का प्रहार गरे । सन्दीपले त्यसको जवाफमा अनवर र मोहम्मद उस्मानलाई लगातार बलमा आउट गरी यूएईलाई दबाबमा धकेलिदिए ।

यसै शृंखलाबाट राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेका अविनाश बोहराले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए, त्यसमा यूएईबाट सर्वाधिक रन बनाएका सीपी रिजवान, हार्ड हिटर एवं कप्तान मोहम्मद नाभेद र हायतको विकेट छ । अविनाशले ४ ओभरमा २० रन खर्चे । १९ औं ओभरमा नवौं विकेटका रूपमा आउट भएका रिजवानले ४३ बलमा ४४ रन बनाए । उनले ४ चौका र १ छक्का प्रहार गरे । करणले पनि २ विकेट लिए । उनले अनवरलाई १४ र मोहम्मद बुटालाई ११ रनमा पेभेलियन पठाए ।

पारसले बलरको प्रदर्शन सराहनीय भएको बताए । ‘बलरहरूले पुन: असाधारण क्षमता देखाए । सोमपालको स्पेल उत्कृष्ट थियो, त्यसपछि सन्दीप आए । अविनाशले दोस्रो खेलमा पनि राम्रो बलिङ गरे । बलिङमा सबैले राम्रो गरे । ब्याटिङमा राम्रो सुरुआत हुन सकेन तर जित भनेको जित नै हो,’ दीपेन्द्र फर्ममा आएकोमा खुसी देखिएका पारसले भने, ‘दीपेन्द्रले आफ्नो भूमिकाअनुसार खेले ।

उनले रन बनाउन सकिरहेका थिएनन् र उनी जतिसक्दो रन बनाउन आतुर थिए । उनी हामीले भर गरेका खेलाडी हुन् । यस्तो स्थितिमा पनि उनले पहिले पनि यस्तो इनिङ्स खेलेका थिए र आज फेरि यस्तै इनिङ्स खेलेकोमा खुसी छु ।’

तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला २–१ ले जितेको थियो ।

प्रकाशित : माघ १९, २०७५ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?