१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

इटहरी गोल्डकप फाइनल आज : आर्मी र मनाङको होड

वेदराज पौडेल

इटहरी — मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलको ट्रफीको छिनोफानो शनिबार हुँदै छ । फाइनलमा त्रिभुवन आर्मी र मनाङ मस्र्याङदी क्लबले उपाधि दाबेदारी प्रस्तुत गर्नेछन् । 

इटहरी गोल्डकप फाइनल आज : आर्मी र मनाङको होड

दुवै टिमले रणनीति र खेलाडीको सेटमा खासै फेरबदल नहुने जनाएका छन् । लगातार मोफसलका प्रतियोगिताहरू खेल्दै आएका दुवै टिमका प्रशिक्षक खेलाडीमा पर्ने मानसिक र शारीरिक दबाबप्रति सतर्क छन् । त्यसैले दुवैले खेलमा बराबरीको दाबी गरेका छन् ।


मनाङका कप्तान सुजल श्रेष्ठले आर्मी निकै बलियो रहेकाले जितको सम्भावना पनि बराबर रहेको बताए । उनले भने ‘फाइनल हो दुवैको सम्भावना उत्तिकै रहन्छ ।’


मनाङका प्रशिक्षक टोपे फुजाले आर्मीसँग धेरै प्रतिस्पर्धा गरेकाले उनीहरूको बलियो र कमजोर पक्षबारे जानकार रहेको बताए । आर्मीका कप्तान भरत खवासले लगातार खेल र खेलाडी घाइते भएकाले अहिलेसम्म अपेक्षा गरे जति प्रदर्शन गर्न नसके पनि फाइनलमा सशक्त प्रस्तुत हुने बताए । विपक्षी टिम परिचित भएकाले खासै नयाँ रणनीतिमा खेल्नुपर्ने अवस्था नरहेको उनको तर्क थियो ।


आर्मीका प्रशिक्षक चुनबहादुर थापाले खेलमैदान राम्रो भएकाले जित निकाल्न त्यसले साथ दिने बताए । विगतका कमीकमजोरी फाइनलमा दोहोरिन नदिने उनको रणनीति छ । गत वर्ष मनाङले उपविजेतामा चित्त बुझाएको थियो । दुहवी गोल्डकपमा विजेता बनेको थियो । दुहवीमा गत वर्ष आर्मीले उपविजेतामा चित्त बुझाएको थियो ।


इटहरी गोल्डकप विजेताले १६ लाख रुपैयाँ पुरस्कार जित्नेछ । उपविजेताको भागमा ८ लाख पर्नेछ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही २० हजार पाउने छन् । सर्वाेत्कृष्ट खेलाडीले ३० हजार र ४२ इन्चको एलईडी टीभी पाउने छन् । सर्वाधिक गोलकर्ताले ३० हजार रुपैयाँ जित्ने छन् ।

प्रकाशित : माघ १९, २०७५ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?