स्यान्टु र नविता ब्रान्ड एम्बासडर

काठमाडौँ — टेबलटेनिस खेल सामग्री उत्पादक कम्पनी स्टयागले नेपालका शीर्ष वरीयताका दुई खेलाडीलाई ब्रान्ड एम्बासडर नियुक्त गरेको छ ।

स्यान्टु र नविता ब्रान्ड एम्बासडर

वर्तमान राष्ट्रिय पुरुष च्याम्पियन स्यान्टु श्रेष्ठ र महिला च्याम्पियन नविता श्रेष्ठलाई स्टयाग ब्रान्डले आफ्नो दूत नियुक्त गरेको छ । दुवै खेलाडीले सम्झौतापत्रमा हस्ताक्षर गरेर स्टयाग इन्टरनेसनलको कार्यालयमा पठाएका छन् । स्टयागले अन्तर्राष्ट्रिय टेबलटेनिस फेडेरेसनसँग सहकार्य गरी विभिन्न मुलुकका राष्ट्रिय खेलाडीलाई आफ्नो उत्पादन सहयोग गर्दै आएको छ ।


अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्यले दुवै खेलाडीलाई ‘गोल्ड क्याटगोरी’ अन्तर्गत प्रायोजन गरेको जानकारी गराए । उनीहरूसँग दुईवर्षे सम्झौता भएको वैद्यले जानकारी दिए । यसवापत दुई वर्षसम्म स्यान्टु र नविताले स्टयागको लागोअंकित खेलसामग्री प्रयोग गर्नुपर्नेछ । दुवै खेलाडीले आफ्नो क्लब नेपाल पुलिसबाट खेल्दा पनि यस ब्रान्डको लोगोअंकित सामग्री प्रयोग गर्नेछन् ।


संघका अनुसार पहिलोपल्ट नेपाली टेबलटेनिस खेलाडी अन्तर्राष्ट्रिय कम्पनीको ब्रान्ड एम्बासडर नियुक्त भएका हुन् । विश्व चर्चित ब्रान्डसँगको सहकार्यले आफूहरूलाई टेबलटेनिसमा अझै राम्रो प्रदर्शन गर्न प्रेरित गर्ने खेलाडीहरूले बताए । ‘अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा हामीलाई कुन जर्सी लगाउने भन्ने द्विविधा हुन्थ्यो, प्रायोजन पाइसकेपछि सजिलो भएको छ,’ सातपल्टकी नेपाल च्याम्पियन नविताले पत्रकार सम्मेलनमा भनिन् ।


गत भदौमा भएको एसियाली खेलकुदको तयारीका क्रममा नेपाली टिमले भारतमा प्रशिक्षण गरेको थियो । त्यसक्रममा भारतमै केन्द्रीय कार्यालय रहेको स्टयाग कम्पनीको प्रायोजनबारे थाहा पाएका नविता र स्यान्टुले ब्रान्ड एम्बासडरका लागि पहल थालेका थिए ।


उनीहरूलाई भारतीय टेबलटेनिस संघका उपाध्यक्ष चेतन गुरुङले पनि सहयोग गरेका थिए । ‘एक महिनाको प्रशिक्षणमा बस्दा त्यहाँका खेलाडीले यो कम्पनीको किट प्रयोग गरेका देख्यौं र हामीले किन सक्दैनौं भनेर पहल थालेका हौं । पछि हाम्रो संघले सहयोग गरेपछि प्रयास सार्थक भयो,’ नम्बर एक खेलाडी स्यान्टुले भने ।


अध्यक्ष वैद्यका अनुसार खेलाडीले वार्षिक २ देखि ३ लाखसम्मको खेल सामग्री पाउनेछन् । त्यसमा जर्सी, ब्याट, ट्रेनिङ किटलगायत हुनेछ ।

प्रकाशित : माघ १६, २०७५ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?