कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

दृष्टिविहीन क्रिकेट शृंखला : १० विकेटको जित

काठमाडौँ — नेपाली महिला दृष्टिविहीन क्रिकेट टोलीले पाकिस्तानलाई १० विकेटले हराउँदै अन्तर्राष्ट्रिय महिला दृष्टिविहीन क्रिकेट शृंखलामा सफल सुरुआत गरेको छ । दृष्टिविहीन महिला क्रिकेट शृंखला विश्वमै पहिलोपल्ट आयोजना भएको हो । पहिलो खेलमा जितपछि नेपालले ५ खेलको शृंखलामा १–० को अग्रता बनाएको छ । 

दृष्टिविहीन क्रिकेट शृंखला : १० विकेटको जित

लाहोरस्थित किन्नर्ड कलेजको मैदानमा मंगलबार नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछि घरेलु टोली पाकिस्तान ५३ रनमै अलआउट भयो । ५४ रनको सामान्य लक्ष्य नेपालले ५.३ ओभरमै बिनाक्षति पूरा गर्‍यो । विनिता पुनले २८ रन बनाइन् । १९ बल खेलेकी उनले ५ चौका समेत प्रहार गरिन् । उनले पहिलो ओभरमै २० रन जोडेकी थिइन् । मन केसीले १४ बल खेल्दै २ चौका मदतमा १९ रन जोडिन् ।


पाकिस्तानका किरन रफिकले सर्वाधिक ९ रन बनाउँदा ४ खेलाडीले खाता समेत खोल्न सकेनन् । पाकिस्तानले १६ रन अतिरिक्तबाट पाएको थियो । नेपालका सरिता घिमिरे र भगवती अम्गाईंले १–१ विकेट लिए । पाकिस्तानका ८ खेलाडी रनआउट भए । विकेटकिपर मन केसी चौधरी र सरिता घिमिरेले समान ४ जनालाई रनआउट गरे ।


उत्कृष्ट फिल्डिङ गर्दै चार रनआउट तथा बलिङमा १ विकेट लिएकी सरिता प्लेयर अफ द म्याच घोषित भइन् । नेपालको जितमा ब्याटिङमा २८ रन बनाएकी विनिता भ्यालुएबल प्लेयर बनिन् । सरिताले १५ हजार र विनिताले ५ हजार पाकिस्तानी रुपैयाँ प्राप्त गरे ।


खेलपछि नेपालकी कप्तान भगवती भट्टराईले पाकिस्तानविरुद्ध खेल्नुअघि केही डर लागे पनि अपेक्षाकृत सहज भएको बताइन् । ‘पाकिस्तानको टिम नयाँ थियो, ६ महिनाअघि मात्र उनीहरूले टिम बनाएका थिए । कस्तो खेल्छ भन्ने थियो । उनीहरूले पनि राम्रो क्रिकेट खेले । हामीले त्यो भन्दा राम्रो खेलेर खेल जित्यौं ।’


अबको खेलमा पनि नेपालले अझै उत्कृष्ट खेल प्रदर्शन गर्ने उनले बताइन् ।


यस्तै पाकिस्तानी कप्तान रबिअ शेहजादीले पहिलो खेल भएका कारण आफूहरूले धेरै कुरा सिक्ने अवसर पाएको बताइन् ।


पाकिस्तान ब्लाइन्ड क्रिकेट काउन्सिलको आयोजनामा विश्वमै पहिलोपल्ट नेपाल र पाकिस्तानको महिला दृष्टिविहीन क्रिकेट टोलीबीच अन्तर्राष्ट्रिय सिरिज भएको हो ।


सिरिजअन्तर्गत अब खेल फैसलावाद र इस्लामाबादमा हुनेछ । दोस्रो खेल बिहीवार फैसलावादमा हुनेछ । नेपाली टोली बुधबार लाहोरबाट फैसलावाद जानेछ ।

प्रकाशित : माघ १६, २०७५ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?