दुई दिनमै थ्रीस्टारसँग बदला

मदन भण्डारी स्मृति गोल्डकप
वेदराज पौडेल

इटहरी — डिफेन्डिङ च्याम्पियन थ्रीस्टारलाई टाइब्रेकरमा ३–१ ले हराउँदै त्रिभुवन आर्मी क्लब सोमबार मदन भण्डारी स्मृति आमन्त्रण इटहरी गोल्डकप फुटबलको सेमिफाइनल पुग्न सफल भएको छ । 

दुई दिनमै थ्रीस्टारसँग बदला

आर्मीले थ्रीस्टारमाथि सिमरा गोल्डकपमा भोगेको हारको बदला लिएको छ । गत शनिबार मात्र फाइनलमा थ्रीस्टारले आर्मीलाई हराएर सिमरा गोल्डकप उचालेको थियो । आर्मी गोलरक्षक विकेश कुथुको उत्कृष्ट प्रदर्शनले आर्मीले अन्तिम चारसम्मको यात्रा पक्का गरेको हो । निर्धारित समयमा १–१ गोलको बराबरीपछि टाइब्रेकरबाट निर्णय छिनोफानो भएको थियो । जसमा गोलरक्षक विकेशले उत्कृष्ट प्रदर्शन गरे । उनले थ्रीस्टारका रन्जित धिमाल, बुद्धराज लिम्बु र रुपेश केसीको प्रहार रोके । थ्रीस्टारका विक्रम लामाको प्रहारमात्र सफल बन्यो । विकेश म्यान अफ द म्याच भए ।


आर्मीका भरत खवास, सन्तोष तामाङ र विवेक बस्नेतले गोल गर्दा दीप लामाकोपेनाल्टी बाहिरिएको थियो । पदम तामाङको प्रहार थ्रीस्टारका एलन न्यौपानेले रोकेका थिए । पहिलो हाफ गोलरहित खेलेका दुवै टिमले दोस्रो हाफमा १–१ गोल गरे । थ्रीस्टारका अनन्त तामाङ, दिनेश राजवंशीले रक्षापंक्तिमा पर्खाल बनाए पनि उपाधि रक्षाको यात्रालाई निरन्तरता दिन सकेन ।


थ्रीस्टारका अनन्त तमाङ, बुद्धराज लिम्बु, रुपेश केशी, रन्जन विष्टको प्रहार आर्मीका गोलरक्षक कुथुले रोकेका थिए । थ्रीस्टारका रेजिन सुब्बाले पेनाल्टी बक्सभित्र पाएको राम्रो बल सदुपयोग गर्न सकेनन् । बल नियन्त्रण गर्नेक्रममा उनी आफैं लड्न पुगेका थिए । ३९ औं मिनेटमा थ्रीस्टारका रन्जित धिमालको प्रहार रिबाउन्स हुँदा रुपेश केसीको हेड प्रयासलाई विकेशले विफल तुल्याए । दोस्रो हाफको सातौं मिनेटमा आर्मीका टंक बस्नेतको प्रहार पोस्ट माथिबाट बाहिरियो । दोस्रो हाफको १३ औं मिनेटमा भरत खवासले पेनाल्टी बक्सभित्र पाएको बललाई हेडमार्फत गोल गरे ।


१–० को अग्रता लिएको आर्मीले रक्षात्मक रणनीति अबलम्बन गरे पनि खेलको २७ औं मिनेटमा बुद्ध तामाङको पासलाई वान टचमै अनन्त तामाङले गोलमा परिणत गरिदिए । खेलको सुरुआतबाटै दबाबमा रहेको थ्रीस्टारले एक गोल फर्काएपछि मात्र गति लिएको हो । अन्य खेलमा आर्मीलाई दबाबमा राखेर खेल्ने थ्रीस्टारका खेलाडी सोमबारको खेलमा भने आफैं दबाबमा थिए ।


थ्रीस्टारका प्रशिक्षक उज्ज्वल मानन्धरले लगातारको खेल र मैदानको अनुभव नपाउँदा सोचेअनुसार खेल खेल्न नसकेको बताए । उनले भने, ‘हिजो आएर आज नै मैदानमा उत्रनुपर्ने कसिलो समयतालिका भएकाले पनि अपेक्षा गरेजस्तो खेल खेल्न सकिएन ।’ भर्खरै सिमराको खेल सकेर आएकाले राम्रो आराम दिन नपाई खेल्नुपरेकाले सुरुबाट नै आर्मीको दबाबको सामना गर्नुपरेको उनले बताए ।


आर्मीका प्रशिक्षक नवीन न्यौपानेले पनि खेलाडीले आराम गर्ने मौका नपाएकाले खेलमा भनेजस्तो नतिजा निस्कन नसकेको बताए । ‘पहिलो हाफ राम्रो भएन । दोस्रो हाफमा राम्रो खेलेका हौं । तर केही कमजोरीका कारण खेल बराबरीमा खेल्नुपर्‍यो । ट्राइब्रेकरमै भए पनि आफ्नो पक्षमा नजिता आएकाले खुसी छौं,’ उनले भने ।

प्रकाशित : माघ १५, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?