नेपालको नजर पहिलो शृंखलामा

आदर्श ढकाल

दुबई, यूएई — नेपालले सोमबार आईसीसी एकेडेमी ओभलमा संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको तीन एकदिवसीय शृंखलाअन्तर्गत अन्तिम तथा निर्णायक खेल खेल्दैछ । ऐतिहासिक पहिलो एकदिवशीय शृंखलामा विजय हासिल गर्न यो खेल नेपालका लागि महत्त्वपूर्ण छ । 

नेपालको नजर पहिलो शृंखलामा

गत वर्षको मार्चमा जिम्बावेमा भएको विश्वकप छनोटबाट एकदिवसीय मान्यता पाएपछि नेपाल दोस्रोपटक शृंखला खेलिरहेको हो । यसअघि नेदरल्यान्ड्ससँग उसकै मैदानमा भएको दुई खेलेको शृंखला १–१ को बराबरीमा सकिएको थियो ।


नियमित कप्तान रोहन मुस्तफालगायत महत्त्वपूर्ण तीन खेलाडीबिना शुक्रबार भएको पहिलो खेलमा यूएईले ३ विकेटको संघर्षपूर्ण जित निकालेको थियो । शनिबार भने नेपालले १ सय ४५ रनको विशाल जित हासिल गरी मनोबल उच्च बनाएको छ ।


शनिबारको प्रभावशाली जितका बावजुद पनि कप्तान पारस खड्का आत्मविश्वासी बन्न चाहेनन् । ‘हामीले हिजो (शनिबार) उत्कृष्ट प्रदर्शन गर्न सक्यौं । तर जब हामी भोलि (सोमबार) यहाँ आउनेछौं, त्यो पनि एक नयाँ दिन हो । यूएई पनि थप शक्तिका साथ पुनरागमन गर्न चाहन्छ,’ कप्तान पारसले आइतबार ओभलमा छोटो नेट सेसनका क्रममा भने ।


शृंखलामा ऐतिहासिक सफलता दिलाउनेमा कप्तान खड्का आशावादी भने छन् । ‘एक टिमका रूपमा हामी त्यो गतिलाई कायम राख्न चाहन्छौं जुन हामीले पछिल्लो खेलमा गरेका थियौं । आत्मविश्वास छ तर हामी निश्चिन्त हुन सक्दैनौं । यो क्रिकेट हो र हामीले फेरि सुरुआत गर्नुपर्छ । हामी सबैले आफूलाई विश्वास गरेका छौं र आशा छ भोलि (सोमबार) को नतिजा हाम्रो पक्षमा आउनेछ,’ उनले थपे ।


पहिलो खेल घाँसे विकेटमा खेलिएको थियो जहाँ बिहानको समयमा टस हार्नुले फाइदा भएन । यूएईले आफ्नो मैदानको स्थितिको फाइदा उठाउँदै नेपाललाई कम योगफल (११३) मा रोक्न उत्कृष्ट बलिङ प्रदर्शन गर्‍यो । पराजित भए पनि नेपालका बलरहरूले यूएईलाई उच्च दबाब दिएका थिए । यूएईको कुनै बेला ७३/७ को अवस्था थियो । तर नेपालको भने त्यो सम्मानजनक पराजय थियो ।


एकदिवसीय अन्तर्राष्ट्रियमा कम उमेरमै अर्धशतक प्रहार गर्ने कीर्तिमानसहित रोहितकुमार पौडेलले ५५ रनको योगदान दिए पनि दोस्रो खेलमा नेपालले राम्रो योगफल बनाएको थियो । नेपालको ब्याटिङ क्रम पनि निर्धारित देखिएको छ । दोस्रो खेलमा १६ वर्षीय रोहितको परिपक्व ब्याटिङ प्रदर्शनका अलावा अर्को सकारात्मक पक्ष भनेको ओपनिङ जोडी ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीको अर्धशतकीय साझेदारी रह्यो ।


नेपाल ओपनिङ ब्याटिङमा मुख्य चिन्ताका साथ प्रतियोगिताका लागि यूएई प्रस्थान गरेको थियो । ज्ञानेन्द्र र विनोदको नयाँ जोडी पहिलो खेलमा असफल रह्यो । तर उनीहरूले दोस्रो खेलमा पहिलो विकेटका लागि ६१ रनको साझेदारी गर्दै जितको आधार तयार गरे । नेपाली टोलीका ब्याटिङ परामर्शदाता उमेश पटवाल अहिले नै निक्र्यौल गर्ने मनसायमा छैनन् ।


उनले भने, ‘यो भन्नु निकै छिटो हुनेछ कि हाम्रो ओपनिङको समस्या सुल्झिएको छ । उनीहरूले मात्र ६१ रन जोडेका हुन् । यो निकै ठूलो साझेदारी होइन । हामी वास्तवमै ठूलो साझेदारी गर्न चाहन्छौं ।’


वर्तमान समयमा नेपाली क्रिकेट संघ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को निलम्बनमा छ र यही कारण नेपालले शृंखला आयोजना गर्न पाउँदैन । कप्तान पारस मान्छन् कि विदेशी भूमिमा धेरैभन्दा धेरै शृंखलाको अवसर ल्याउने प्रयास गर्नुपर्छ ।


‘एक देश र एक खेलाडीका रूपमा हामी पहिलो एकदिवसीय शृंखला जितका लागि प्रयास गर्नेछौं, त्यो पनि विदेशी भूमिमा,’ पारसले भने, ‘हामीलाई थाहा छैन कि हामीले पहिलो घरेलु एकदिवसीय शृंखला कहिले खेल्न पाउँछौं, त्यसैले हामी पाएका अवसरको अधिकतम उपयोग गर्न चाहन्छौं र जित्न चाहन्छौं ।’


सोमबारको खेलमा नेपालले कुनै परिवर्तन नगर्ने सम्भावना छ । यद्यपि पहिलो पटक मौका पाएका पवन सर्राफ पहिलो र दोस्रो खेलमा क्रमश: ४ र ८ रन बनाएका कारण उनको स्थानमा अर्का नयाँ खेलाडी भीम सार्कीले डेब्यु गर्ने अवसर पाउन सक्छन् । जसलाई नेपालको मध्यक्रमको भविष्यका रूपमा मानिएको छ ।


यूएई आएदेखि नै फिटनेसको समस्या भोगिरहेका अनुभवी बायाँ हाते स्पिनर वसन्त रेग्मी लगातार दोस्रो खेलमा सेटमा नपर्न सक्छन् । पहिलो खेलमा एक ओभरमात्र बलिङ गरेका उनी कमजोर देखिएका थिए । जहाँ उनले एउटा क्याच ड्रप गरेका थिए ।

प्रकाशित : माघ १४, २०७५ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?