कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

मनाङ सेमिफाइनलमा

वेदराज पौडेल

इटहरी — लिग विजेता मनाङ मस्र्याङ्दी क्लब आयोजक राष्ट्रिय जागृति (राजा) क्लबलाई २–१ ले हराउँदै मदन भण्डारी अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

मनाङ सेमिफाइनलमा

सुनसरीको इटहरी रंगशालामा आइतबार पहिलो हाफमा मनाङ मस्र्याङ्दीको खेल निकै फितलो देखियो । आयोजकले घरेलु मैदानको फाइदा उठाउँदै खेलको ३० मिनेटसम्म मनाङलाई निकै दबाबमा राख्यो । दर्शकको समर्थन पाएको राजा क्लबको दबाबमा रहेको मनाङका सुजल श्रेष्ठले खेलको ३७ औं मिनेटमा अग्रता दिलाए ।


बल्ल त्यसपछि मनाङका खेलाडी लयमा देखिए । मध्यान्तरपछिको अठारौं मिनेटमा राजा क्लबका उमेश राईले गोल गरी खेल १–१ को बराबरीमा ल्याए । मनाङका गोलरक्षक विशाल श्रेष्ठको अलमललाई सदुपयोग गर्दै राईको हेड प्रहारलाई विराज महर्जनले गोल लाइनमा क्लियर गर्ने प्रयास गरेका थिए । केहीबेर गोल भएको हो कि होइन भन्ने दोधार थियो । तर रेफ्री सुविस पाण्डेले गोल भएको संकेत गर्दै सिटी बजाएपछि दर्शकदीर्घामा खुसीले हुटिङ भएको थियो ।


केही दबाबमा परेको आयोजक १–१ को बराबरीमा खेललाई पुर्‍याएपछि निकै उत्साहित देखियो । तर खेलमा मनाङको सुझबुझपूर्ण लयले उनीहरूको उत्साहलाई लामो समय टिक्न दिएन । मनाङका खेलाडी कमल श्रेष्ठले अफिजको पासलाई सदुपयोग गर्दै दोस्रो हाफको ३० औं मिनेटमा गोल गरे । श्रेष्ठको गोल नै मनाङको जितका लागि निर्णायक बन्यो ।


खेलको म्यान अफ द म्याच मनाङका कमल श्रेष्ठ भए । उनले १० हजार नगद र ट्रफी हात पारे । आयोजक राजा क्लबले पनि सुन्दर अवसर पाएको थियो । २० औं मिनेटमा राजा क्लबका दीपेन तामाङले पाएको सुन्दर अवसर सदुपयोग गर्न सकेनन् । उनको प्रहार पोलभन्दा दायाँबाट बाहिरियो । अर्का खेलाडी तीर्थ बस्नेतको प्रहारलाई मनाङका गोलरक्षक विशालले उत्कृष्ट बचाउ गरे । रमेश राजवंशीले गोलरक्षक किशोर गिरी अगाडि बढेको अवस्थामा भएको प्रहारलाई उत्कृष्ट तरिकाले बचाउ गरे । उनको थोरै गल्तीले पनि मनाङले थप एक गोलको मौका पाउँथ्यो ।


मनाङले पनि राम्रा अवसर पाएको थियो । अफिजले धेरै प्रहार गरे पनि सटीक हुन नसक्दा गोल गर्नबाट उनी चुके । तर उनले निकालिदिएको पासमा कमल श्रेष्ठले उत्कृष्ट गोल गरे । छ जना राष्ट्रिय खेलाडी लिएर मैदानमा उत्रिएको मनाङका प्रशिक्षक फुजा टोपेले सुरुमा मनाङले लय गुमाएको स्वीकारे । उनले खेलाडीको तालमेलमा केही गडबडी देखिए पनि पछि त्यसलाई सुधार्दै सुन्दर नतिजा निकालेको बताए ।


राजा क्लबका टिम व्यवस्थापक कोविदजंग कार्कीले सुरुआतमा निकै राम्रो प्रदर्शन गरे पनि पछि आफ्ना खेलाडीले लय गुमाउन पुगेकाले अपेक्षा गरेअनुसारको नतिजा निकाल्न नसकेको बताए । टिमका महत्त्वपूर्ण दुई खेलाडीलाई मैदानमा उतार्न नसकेका कारण भनेजस्तो नतिजा नआएको उनले प्रस्ट्याए ।

प्रकाशित : माघ १४, २०७५ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?