सचिनको रेकर्ड तोड्दै रोहितको कीर्तिमान, सबैभन्दा कम उमेरमा अर्धशतक

नेपालद्वारा यूएई १४५ रनको भारी अन्तरले पराजित
सोमपाल एकदिवसीयमा ५ विकेट लिने नेपालका पहिलो बलर
आदर्श ढकाल

दुबई — नेपालका रोहितकुमार पौडेल अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कम उमेरका खेलाडी भएका छन् । दुबईमा शनिबार यूएईसँग भएको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा रोहितले १६ वर्ष १ सय ४६ दिनमा अर्धशतक बनाउँदै सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने भारतका सचिन तेन्दुलकर र पाकिस्तानका शहिद अफ्रिदीको कीर्तिमानलाई तोडेका हुन् ।

सचिनको रेकर्ड तोड्दै रोहितको कीर्तिमान, सबैभन्दा कम उमेरमा अर्धशतक

तेन्दुलकर सन् १९८९ मा पाकिस्तानविरुद्ध टेस्टमा आफ्नो पहिलो अर्धशतक (५९ रन) बनाउँदा १६ वर्ष २ सय १३ दिनका थिए ।

एकदिवसीय अन्तर्राष्ट्रियमा भने यो कीर्तिमान अफ्रिदीको नाममा थियो । सन् १९९६ मा अफ्रिदीले श्रीलंकाविरुद्ध केन्याको नैरोबीमा ३७ बलमा शतक बनाउँदा १६ वर्ष २ सय १७ दिनका थिए ।

ब्याट्सम्यान रोहितले अन्तर्राष्ट्रिय कीर्तिमान राखे भने सोमपाल कामी एकदिवसीयमा ५ विकेट लिने नेपालका पहिलो बलर बने । रोहितको अर्धशतक र सोमपालको ५ विकेटमा दुबई भ्रमणमा रहेको नेपालले यूएईलाई १ सय ४५ रनको भारी अन्तरले पराजित गरी शृंखला १–१ को बराबरीमा ल्यायो । रोहितको ५५ रनमा नेपालले दुबईस्थित आईसीसी एकेडेमी ओभलमा टस जितेर निर्धारित ५० ओभरमा ९ विकेट गुमाई २ सय ४३ रन बनाएको थियो ।

सोमपालको धारिलो बलिङमा नेपालले यूएईलाई १९.३ ओभरमा ९७ रनमा अलआउट गर्‍यो । सोमपालले सुरुआतका चारै विकेट लिँदा यूएई सातौं ओभरमा २९–४ को स्थितिमा पुग्यो । यूएईको अन्तिम विकेट लिँदै उनले ५ विकेट आफ्नो नाममा लेखाए । सन्दीप लामिछानेले पनि ४ विकेट लिएका थिए ।

‘मैले यो कीर्तिमानबारे भर्खर थाहा पाएँ, सुन्दा आनन्द लाग्यो । मलाई यो सपनाजस्तो लागिरहेको छ । कीर्तिमान बनाउँछु भनेर कहिल्यै सोचेको थिइनँ,’ आफ्नो दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलिरहेका रोहितले भने, ‘मलाई ४० रनको करिबसम्म आफूले बनाएको स्कोर याद छ । त्यसपछि बिर्सिएछु, करण दाइ (केसी) ले भनेपछि मात्र अर्धशतक पूरा गरेको थाहा पाएँ र ब्याट उठाएँ ।’

गतवर्ष नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन–२ बाट रोहित नेपाली टोलीमा आएका हुन् । शुक्रबार पहिलो खेलमा उनी टोलीमा परेका थिएनन् । नेपालले उक्त खेलमा १ सय १३ रनमात्र बनाएर ३ विकेटको हार बेहोरेको थियो । तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ ।

प्रकाशित : माघ १३, २०७५ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?