कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सानो स्कोरमा झट्का

नेपाल–यूएई एकदिवसीय शृंखला
आदर्श ढकाल

दुबई, यूएई — घरेलु टोली यूएईले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाललाई ३ विकेटले पराजित गरेको छ । सानो स्कोरको खेलमा पनि नेपालले झण्डै खेल पल्टाएको थियो ।

सानो स्कोरमा झट्का

यहाँस्थित आईसीसी एकेडेमी ओभलमा यूएईले टस जितेपछि आएको नेपालले फितलो ब्याटिङ गर्‍यो ।


दुबईमा विदाको दिन परेकाले झन्डै १ हजार समर्थक नेपाली टोलीलाई हौस्याउन आइपुगेका थिए । तर घाँसे विकेटमा सुरुआतमा लिएको सफलतालाई यूएईले अन्तिमसम्म कायमै राख्यो र नेपाललाई ३३.५ ओभरमा १ सय १३ रनमै अलआउट गर्‍यो ।


करण केसी र सोमपाल कामीले राम्रो बलिङ गर्दै यूएईलाई २० औं ओभरमा ७३–७ को स्थितिमा पुर्‍याएका थिए । तर इमरान हैदर र अमिर हायतले आठौं विकेटमा ७९ बलमा अविजित ४३ रन जोडेपछि यूएईले ३२.१ ओभरमा लक्ष्य १ सय १६ रन बनाउँदै पूरा गर्‍यो ।


प्रशिक्षक जगत टमाटाले ब्याट्सम्यानको आलोचना गरे । ‘मलाई हामीले राम्रो ब्याटिङ गरे जस्तो कहीं लागेन । बलरहरूले निकै उत्कृष्ट गरेका हुन् तर ब्याटिङले हामीलाई निराश बनायो । हाम्रो ब्याटिङमा धेरै ठूलो सुधारको खाँचो छ,’ टमाटाले भने ।


करणले ओपनर अस्फाक अहमदलाई ५ र सोमपालले अर्का ओपनर चिराग सुरीलाई ४ रनमा आउट गर्दा यूएई ४.४ ओभरमा १२–२ को अवस्थामा थियो । घुलाम सब्बर र साइमन अनवर (११) ले २३ रन जोडे । करणले अनुभवी अनवरलाई आउट गरे । सब्बरले यूएईको स्कोरलाई ५० रन कटाएपछि कप्तान पारस खड्का र सन्दीप लामिछानेले सानदार बलिङ गर्न लागे ।


पारसले मोहम्मद उस्मानलाई ६ र सन्दीपले फहाद नबाजलाई २ रनमा आउट गरे । यूएईबाट सर्वाधिक ३० रन बनाएका सब्बरलाई सन्दीपले र पारसले मोहम्मद बुटालाई ३ रनमा आउट गरेपछि नेपाल जितभन्दा ३ विकेटमात्र नजिक देखिएको थियो । हैदर र हायतले संयमित खेलेपछि नेपालको तीन खेल शृंखलामा अग्रता लिने सपना चकनाचुर भयो ।


सन्दीपलाई विजयी छक्का प्रहार गरेका हायत २४ र हैदर १८ रनमा अविजित रहे । हायतले ४२ बलको इनिङ्समा १ चौका पनि प्रहार गरे । नेपालबाट सन्दीपसहित पारस, करण केसीले २–२ र सोमपालले १ विकेट लिए । करणले ९ ओभरमा ३१ र सन्दीपले ९.१ ओभरमा ३४ रन खर्चे । दुवैले १–१ ओभर मेडन फालेका थिए । पारसले ७ ओभरमा २३ रन खर्चे ।


नेपालबाट सोमपाल कामीले ३०, आरिफ शेखले २५, कप्तान पारसले २० र सन्दीप लामिछानेले १६ रन बनाए । ओपनर ज्ञानेन्द्र मल्ललाई पहिलो ओभरमै शून्यमा गुमाएपछि नेपाली इनिङ्स सम्हालिन गाह्रो भएको थियो । उनलाई यूएईका कप्तान मोहम्मद नाभिदले विकेटकिपरबाट आउट गरे । ओपनर खोजीमा रहेको नेपालको विनोद भण्डारीलाई ज्ञानेन्द्रको जोडी बनाउने प्रयोग सफल हुन सकेन ।


सोमपाल आश्चर्यजनक रूपमा चौथो नम्बरमा पारसलाई साथ दिन क्रिजमा आए । पारसले आफैं विकेट गुमाउनु नेपालको दुर्भाग्य बन्यो । १२ औं ओभरमा नेपालले यसअघि नै ८ रन बटुलिसकेको थियो । पारसले लगातार दुई चौका प्रहार गर्ने प्रयास गर्दा कादिर अहमदको शट पिच बलमा फाइन लेगमा सामान्य क्याच दिन पुगे । पारस र सोमपालले २८ रनको साझेदारी गरे, जुन नेपालको खेलमा ठूलो साझेदारी देखियो ।


लगत्तै सोमपालसँगको असमझदारीमा दीपेन्द्रसिंह ऐरी शून्यमा रनआउट हुँदा नेपाल १३ ओभरमा ४७–४ को स्थितिमा पुग्यो । सोमपालले आरिफसँग २४ रन जोडे । स्वीप गर्न खोज्दा सोमपाललाई इमरान हैदरले एलबीडब्लू आउट गरे । ४७ बल खेलेका सोमपालले ३ चौका प्रहार गरे । पवन सर्राफ ४, करण केसी ३, वसन्त रेग्मी शून्यमा आउट भएपछि नेपाल एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो सानो स्कोरमा खुम्चिएको थियो ।


आरिफले ४३ बल खेल्दै ३ चौका प्रहार गरे । नाभिद र अमिर हायतले ३–३ विकेट लिए । नियमित कप्तान रोहन मुस्ताफा निलम्बनमा रहेको अवस्थामा यूएईको नेतृत्व गरिरहेका नाभिदले ९ ओभरमा २ मेडन राख्दै ३१ रन खर्चे । म्यान अफ द म्याच हायतले ७.५ ओभरमा २ मेडन राख्दै १९ रन खर्चे । हैदरले २ विकेट लिए । तीन खेल शृंखलाको दोस्रो खेल शनिबार हुनेछ ।

प्रकाशित : माघ १२, २०७५ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?