ठगुन्नाको ह्याट्रिकले प्रदेश ५ स्तब्ध

वेदराज पौडेल

इनरुवा — प्रदेश नम्बर ७ का बलर विक्रम ठगुन्नाले तीन बलमा तीनै विकेट लिएपछि टिमका लागि उनको ह्याट्रिक स्मरणीय बन्यो । उनले प्रदेश ५ विरुद्धको मंगलबारको खेलमा थप एक गरी चार विकेट लिए । म्यान अफ द म्याच घोषित विक्रमले ८ दशमलव ३ ओभर बलिङ गरेका उनले दुई मेडन राख्दै ३८ रन खर्चेर चार विकेट लिन सफल भए । 

सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताको समूह ‘सी’ को दोस्रो खेलमा प्रदेश नम्वर ७ विजयी भयो । विक्रमको सानदार बलिङपछि इनरुवा खेल मैदानमा प्रदेश नम्वर ७ ले ५ नम्बर प्रदेशलाई १ सय १८ रनले पराजित गर्‍यो ।

अघिल्लो खेल जितेको प्रदेश नम्बर ५ आजको खेल जितेको खण्डमा सहजै सेमिफाइनलमा प्रवेश गर्ने थियो । समूहमा प्रदेश ७ ले समेत पहिलो खेल जितेकाले भोलि हुने भारत सुपौल र प्रदेश ७ बिचको खेलले अघिल्लो चरण प्रवेश गर्ने समूह विजेता तय गर्नेछ ।
प्रदेश नम्बर ७ ले दिएको २ सय ४५ रनको लक्ष्य पछ्याएको प्रदेश नम्बर ५ केवल २८.३ ओभरमा १ सय २६ रनमा समेटियो । प्रदेश ५ का कृष्ण कार्कीले ३६ रन जोड्नुबाहेक अन्य खासै जम्न सकेनन् ।

सन्दिप रजालीले १४, सुबेन्दु पाण्डे रविक्रम भुसालले समान ११ रन बनाए । विक्रमबाहेक नारायण जोशी र शेर मल्लले समान २–२ तथा खडक बोहरा र नरेन्द्र साउदले १–१ विकेट हात पारे ।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको प्रदेश नम्बर ७ बाट लोकेश बमको ६८ र रोशन अधिकारीको ५९ रन बनाए । त्यस्तै विपिन रावलले २४, नारायणले २२, केदार बोहरा र दीपेन्द्र थापाले २१–२१ रन बनाए । प्रदेश नम्बर ५ का मानबहादुर थापाले ३ तथा रूपेश कुर्मी र विक्रमले २–२ विकेट लिए ।

प्रकाशित : माघ २, २०७५ ०९:२१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

चराहरुको स्वर्ग

वेदराज पौडेल

काठमाडौँ — चराहरूको चिरबिर कसलाई मन नपर्ला ? त्यो पनि एक हैन, अनेक प्रजातिका । चराहरूको स्वर्गसरह छ कोसीटप्पु वन्यजन्तु आरक्ष । यति बेला आरक्षमा चरा हेर्नेहरूको भीड छ ।

कोसीटप्पु सीमसार क्षेत्र भएकाले यहाँ आउने चराहरूले सहजै खान र बस्न पाउँछन् । चराहरूको सहज बासस्थान भएकैले कोसीटप्पुलाई चराएको स्वर्ग भनिएको हो ।

यस पटक कोसी पन्छी समाजले कोसीटप्पुमा चराको गणना सुरु गरेको छ । विश्वभरि नै डिसेम्बरदेखि जनवरीसम्ममा चराको गणना गरिन्छ । नेपालमा ८ सय ८७ प्रजातिका चरा पाइन्छन् । कोसीटप्पुमा मात्रै ५ सय २७ जातिका चरा छन् । कोसी नदीमा प्रत्येक वर्ष रूस, चीनलगायत देशबाट चराहरू हिउँदमा आउने गर्छन् । जाडोमा आउने चरालाई विन्टर बर्ड भनिन्छ । ती देश र बासस्थानमा जाडो महिनामा तालहरू जम्ने र खानेकुरा नपाइने भएकाले यी चरा हजारौं माइल यात्रा गरेर नेपालसम्म आउने गरेका हुन् । त्यसरी लामो दूरी तय गरेर आउने चराहरू हाँस प्रजातिका हुन् । कतिपय चरा हिमाल पारिबाट हिमाल नाघेरसमेत आउँछन् । बारहेडेड गुज यस्तै चरा हो । यसलाई नेपालीमा खोया हाँस पनि भनिन्छ । यो चरा सगरमाथाभन्दा माथिबाट उडेर आउँछ । यो चरा १३ हजार मिटर माथिबाट उडेर आउने अनुमान छ ।

कोसीटप्पुको आसपासका सुनसरीको बर्जुताल, मोरङको बेतना सीमसार क्षेत्रमा पनि आगन्तुक चराहरूले पछिल्लो समयआफ्नो बासस्थान बनाएका छन् । नेपालमा पाइने गरुड प्रजातिका चराहरू नै सबैभन्दा ठूला चरा हुन् । फिस्टो प्रजातिका चराहरू सबैभन्दा साना हुन् । कोसीटप्पुमा मात्र नभएर नेपालका विभिन्न स्थानका सीमसारमा पानीमा बस्ने चराहरूको गणना हिउँद महिनामा गरिँदै आएको छ । निजी क्षेत्रको पहलमा हुँदै आएको गणनाले चराको बासस्थान, बच्चा कोरल्न सक्ने/नसक्ने अवस्था, चराहरूको संख्यामा हुने घटबढ र त्यसको कारण पहिल्याउने गर्छ ।

कोसी पन्छी समाजका अध्यक्ष अनिस तिम्सिनाले पछिल्ला वर्षहरूमा जलवायु परिवर्तन र आहाराको कमीका कारण चराहरूको हाँच (समूहको संख्या) मा कमी आउन थालेको बताए । खेतबारीमा छरिने र पानीमा हालिने विषादीका कारण चरालाई आहाराको कमी भएको छ । प्राप्त आहारापनि विषाक्त हुनाले चराको संख्या घट्न थालेको हो ।

प्रत्येक बर्ष हिमाली नेचर, कोसीटप्पु वन्यजन्तु आरक्ष, कोसी पन्छी समाजले कोसी र आसपासका क्षेत्रमा चराको गणना गर्दै आएको छ । यस्तो गणनाबाट चराको संख्या घटेको, बढेको थाहा हुन्छ ।

सन् १८९० मा बेलायतमा अत्यधिक जाडोका कारण चराहरू संकटमा परेको तथ्य सार्वजनिक भयो । आम नागरिकलाई चराहरूको चारोको व्यवस्था गरिदिन आग्रह नै गरियो । त्यसपछि सर्वसाधारणले चराका लागि आहाराको व्यवस्था गरे । अत्यधिक जाडोका बेला चरा उडेर टाढा गएर आहारा खोज्न नसक्ने हुन्छन् । आज पनि बेलायतमा अधिकांशले घरको छत र बगैंचामा चराका लागि खाने कुरा र पानी झुन्डयाउने चलन छ । अमेरिकामा पनि आममानिस चरालाई खानेकुरा बाँडेर उत्सव मनाउने गर्छन् । चरालाई आहारा खुवाउनु अमेरिकीहरूको दोस्रो सोखको रूपमा पर्छ । अमेरिकीहरू बढी क्यालोरी भएका खानेकुरा चराका लागि साँच्ने गर्छन् र बगैंचामा लगेर त्यसलाई झुन्डयाइदिन्छन् । चराले खाइसकेपछि पुन: भाँडो भरेर राखिदिन्छन् ।

हामीमा पनि चराहरूको संरक्षणबारे चेतना आउन जरुरी छ । हामीले पनि चराका लागि छतमा, छानामा, बगैंचामा खानेकुरा र पानी राखिदिन सक्यौं भने उनीहरूलाई आहाराको कमी हुन पाउँदैन ।

संसारमा चरा सकिए भने के हुन्छ ? चराविद् डा.हेमसागर बराल भन्छन्, ‘पृथ्वीमा प्रलय हुन्छ ।’ विषादीको प्रयोगका कारण चराहरू नासिँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले भने, ‘यो विषयमा बेलैमा कदम चाल्न आवश्य छ नत्र पछि निकै ढिलो हुन सक्छ ।’ खेतबारीमा विषादीको प्रयोगले कीराफटयांग्रा, मुसा, सर्प सबै सखाप हुने भएकाले चरालाई आहाराको कमी हुने गरेको छ ।

नेपालमा वनमा आश्रित, सीमसारमा आश्रित, घाँसेमैदान र कृषिजन्य भूमिमा आश्रित गरी तीन वर्गमा चरालाई
वर्गीकरण गरिएको छ । वनजंगल विनाश, सीमसार र घाँसेमैदान घट्नु र कृषिजन्य भूमिमा बढी विषादीको प्रयोग चराको आहाराका लागि संकटका कारण हुन् ।

पृथ्वीमा भएका कतिपय चराले अन्न र फलफूल मात्र खान्छन् । कतिपय मांसाहारी छन् । एउटै प्रजातिभित्र पनि कुनै मांसाहारी र कुनै शाकाहारी हुन्छन् । अर्जुनक, फिस्टा, बकुल्लाले कीराफटयांग्रा खान्छन् । हाँस प्रजातिका चराहरूले पानीमा माछा मारेर खान्छन् । गिद्ध, चिल, गरुढले सिनो खान्छन् । घुँघीफोर गरुढले घुँघी खान्छ । गौंथली, पानी गौथली, मुरली चराले उडेका कीराफटयांग्रा खान्छन् । कुथुर्केले धनेष, जुरेलीले फलफूल मात्र खान्छ । मुसी चिल, बौगाई, गोठ लाटकोसेरोले मुसा खान्छन् । काकाकुलले सर्प खान्छ ।

अर्का चराविद् टीकाराम गिरी खेतबारीमा प्रयोग भइरहेको विषादी घटाउन स्थानीय सरकारले अब पहल थाल्न आवश्यक रहेको बताउँछन् । रसायनयुक्त मलभन्दा जैविक मल र विषादीको स्थानमा जैविक विषादी प्रयोग गर्न किसानलाई सचेतनासँगैअनुदानको व्यवस्था गर्न सके चरासँगै मानिसको बिग्रँदो स्वास्थ्य बचाउन सकिने गिरीले बताए ।

प्रकाशित : पुस २९, २०७५ ०९:०२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×