२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

आर्मीलाई बराबरीको धक्का

आर्मी ०–० फ्रेन्ड्स
मछिन्द्र ०–० ब्रिगेड ब्वाइज

काठमाडौँ — उपाधि दाबेदार मानिएको त्रिभुवन आर्मी क्लबलाई बिहीबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा कमजोर टिमको रूपमा लिइएको फ्रेन्ड्स क्लबले गोलरहित बराबरीमा रोकेको छ ।

आर्मीलाई बराबरीको धक्का

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको ब्रिगेड ब्वाइज र मछिन्द्रको खेल पनि गोलरहित टुंगियो ।


फ्रेन्ड्सले आर्मीको लगातार जित यात्रालाई चार खेलमा पूर्णविराम लगाइदियो र यसले विभागीय टिमको उपाधि होडमा शीर्षस्थानको मनाङलाई दबाब दिने प्रयासमा ठूलो धक्का पुर्‍यायो । लिगमा मनाङ (१८ अंक) र आर्मी (१४) अपराजित छ तर छैटौं चरणमै विभागीय टिम ४ अंकले पछाडि परिसकेको छ ।


फ्रेन्ड्सविरुद्ध जितबाट वन्चित भएपछि चौथो स्थानको आर्मीले थ्रीस्टार (१५) र संकटा (१५) लाई पनि उछिन्ने अवसर गुमायो । आर्मीले पहिलो खेलमा एनआरटीसँग पनि अंक बाँडेको थियो । उसले त्यसयता लगातार ४ खेल जितेर लय समाते पनि फ्रेन्ड्सविरुद्ध ३ अंक जोड्न सकेन ।


चौध टिमबीच प्रतिस्पर्धा भइरहेको लिगमा रेलिगेसनको व्यवस्था छैन । छैटौं चरणसम्म फ्रेन्ड्स एक जित र दुई बराबरीसँगै दसौं स्थानमा छ । तीन बराबरी खेलेको मछिन्द्र (३ अंक) र एक जित, एक बराबरी गरेको ब्रिगेड ब्वाइज (४ अंक) अन्तिम दुई स्थानमा छन् ।


कमजोर टिमविरुद्ध अंक बाँड्नु परे पनि मनाङका प्रशिक्षक नवीन न्यौपानेले उपाधि जित्ने आशा कायमै राखेका छन् । ‘हामीले उपाधि होडमा रहेका थ्रीस्टार र मनाङविरुद्ध अझै खेल्न बाँकी छ,’ उनले भने, ‘उनीहरूलाई पराजित गर्नसके हामी अझै लक्ष्यमा पुग्न सक्छौं ।’


स्ट्राइकरद्वय कप्तान भरत खवास र नवयुग श्रेष्ठको अनुपस्थिति आर्मीका लागि महँगो साबित भयो । भरत दुई पहेँलो कार्डको कार्ड निलम्बनमा परेका हुन् । नवयुग चोटबाट मुक्त भएर तीन सातापछि खेलमा फर्किने क्रममा ७५ औं मिनेटमा मैदानमा प्रवेश गरेका थिए । तर, उनले आफ्नो प्रभाव देखाउन सकेनन् । आर्मीले प्राप्त थुप्रै अवसर गोलमा परिणत गर्न सकेन । त्यसैले अंक बाँड्न बाध्य भयो ।


‘स्ट्राइकरको अनुपस्थितिले ठूलो प्रभाव पार्‍यो,’ प्रशिक्षक न्यौपानेले भने, ‘पूर्ण रूपमा फिट नभए पनि नवयुगलाई गोलको आसमा मैदानमा पठाइएको थियो । हामीले पहिलो हाफमा गोलका अवसर उपयोग गर्न सकेनौं र दोस्रो हाफमा अपेक्षाकृत प्रदर्शन गर्न सकेनौं ।’


उनको टिमको चार प्रहारमा पोस्ट बाधक बनेको थियो । र, फ्रेन्ड्सका दोस्रो रोजाइका गोलकिपर देव लिम्बुले पनि थुप्रै बचाउ गरेका थिए । उनले बंगलादेशी गोलकिपर मोहम्मद नुरुल करिम घाइते भएपछि पोस्ट सम्हाल्ने मौका पाएका थिए ।


आजका खेल

पुलिसविरुद्ध हिमालयन शेर्पा

संकटाविरुद्ध एनआरटी

हल्चोक मैदान

प्रकाशित : मंसिर २१, २०७५ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?