फाइनलमा पोखरा पल्टन

काठमाडौँ — घरेलु टोली पोखरा पल्टन अन्तिम दिनको नाटकीय समीकरणपछि नमस्ते पोखरा प्रिमियर लिग क्रिकेटको फाइनल पुगेको छ  । राउन्ड रोबिनको समाप्तिमा पोखरासँगै चितवन राइनोज, हुलास काठमाडौं रोयल्स र एक्सपर्ट धनगढी ब्लुजको समान ६ अंक थियो  ।

फाइनलमा पोखरा पल्टन

पोखरा राम्रो रनरेटमा फाइनल पुगेको हो । यी चार टोलीमा सबैभन्दा कमजोर रनरेट रहेको धनगढी दोस्रो चरणमा पुग्न असफल रह्यो ।

अंकतालिकामा चितवन दोस्रो र काठमाडौं तेस्रो स्थानमा रहे । आइतबार इलिमिनेटरमा चितवन र काठमाडौं प्रतिस्पर्धा गर्नेछन् । यी दुईबीचको विजेताले मंगलबार पोखरासँग फाइनल खेल्नेछ ।

शनिबार पोखरा र चितवनलाई जित अत्यावश्यक थियो । अन्यथा दुवै टोली राउन्ड रोबिन लिगबाटै बाहिरिन सक्थे । पोखराले काठमाडौंलाई ४ विकेटले पराजित गर्दै कम्तीमा शीर्ष तीन स्थानमा रहने पक्का गरेको थियो । पोखराको यस जितले अन्तिम खेलअगाडि बुटवल ब्लास्टर्स पहिलो चरणबाटै बाहिरिने औपचारिक रूपमा निश्चित भएको थियो । तर दिनको अर्को खेलमा टस जितेको विराटनगरले ५ विकेट गुमाई १ सय ४५ रन बनायो । पोखरा रंगशालाको क्रिकेट मैदानमा १५ ओभरभित्र लक्ष्य पूरा गरेको भए चितवन सिधै फाइनल पुग्ने थियो । चितवनले ४ विकेटको विजय हात पार्नेक्रममा १९.३ ओभर खेलेको थियो ।

काठमाडौंले जितेको भए टोली चौथो जित हात पार्दैै फाइनल पुग्ने थियो । तर टस हारेर ब्याटिङमा आएको काठमाडौं १९.१ ओभरमा १ सय ३ रनमै अलआउट भयो । पोखराले १५.५ ओभरमा लक्ष्य पूरा गर्‍यो । यूएईका तीव्र गतिका बलर मोहम्मद नाभेदले ब्याटिङमा आफ्नो उपयोगिता देखाउँदै ५ छक्का प्रहार गरेर १५ बलमा ३६ रन बनाए ।
 विराटनगरका सन्दीप लामिछानेको बलमा बोल्ड भएका चितवनका कप्तान पारस खड्का ।
पोखराबाट कुशल भुर्तेल १४, आशिफ शेख १६, रविइन्दर सिंह २२, विनोद भण्डारी र कप्तान शरद भेषावकर शून्यमा आउट भए । रोहित पौडेलले ७ बलमा अविजित १५ रन बनाए । ‘हामीले आफ्नो खेल जितेर काम पूरा गरिसकेका थियौं । समीकरण र नेट रनरेट भन्ने कसैले अनुमान गर्न सक्दैन । बीचमा दुई खेल हार्दा पनि हामीले आफ्नो खेलमा केन्द्रित हुन्थ्यौं, अरुतिर ध्यान दिन्नथ्यौं,’ शरदले दुवै म्याच सकिएपछि भने, ‘फाइनलबारे धेरै सोचेका छैनौं । जुन टिम पुगे पनि उनीहरू राम्रा टोली हुन् त्यसैले फरक पर्दैन ।’

काठमाडौंका अमरसिंह राउटेलाले ३ विकेट लिए । उनले २.५ ओभरमा ३९ रन खर्चे । सुसन भारी, नन्दन यादव र पवन सर्राफले १–१ विकेट लिए । काठमाडौंका दुवै विदेशी खेलाडी जयकृष्णन कोल्शावाला र गौरव तोमार शून्यमा आउट भएपछि टोली सुरुदेखि नै दबाबमा परेको थियो । अमित श्रेष्ठ २१, पवन १२, कप्तान ज्ञानेन्द्र मल्ल ३१ रनमा आउट भए । ज्ञानेन्द्रले २८ बल खेली ३ चौका र १ छक्का प्रहार गरे । नरेश बुढाऐर ६, आदिल खान ७, राउटेला १ तथा सुसन र नन्दन शून्यमा आउट भए । वसन्त रेग्मी १२ बलमा १ चौका र २ छक्का प्रहार गरी १९ रनमा नटआउट रहे ।

दोस्रो खेलमा चितवनले विराटनगरलाई पराजित गर्न हम्मे परेको थियो । विराटनगरले टस जितेर ब्याटिङ गर्दै १४५–५ को राम्रो स्कोर बनायो । पाकिस्तानी खेलाडी मोहम्मद जायेदले सुनील धमलासँग पहिलो विकेटमा १३ ओभरभित्र ८७ रन जोडेर विराटनगरलाई राम्रो सुरुआत दिलाए । जायेदले लगातार तेस्रो अर्धशतक बनाउनेक्रममा ५१ रन जोडे । उनले ४७ बल खेली ६ चौका र २ छक्का प्रहार गरे । सुनीलले ४५ बलमा ४७ रन बनाउँदा ७ चौका प्रहार गरे । प्रदीप ऐरी ११, एन्ड्रयु सुविक्सन ४, राजु रिजाल ६ रनमा आउट भए । पुष्प थापा ४ बलमा ११ र राजेश पुलामी मगर ३ बलमा ८ रन जोड्दै अविजित रहे ।
 ४ विकेट लिएका सन्दीप ।
चितवनका स्मित पटेल र कप्तान पारस खड्काले २–२ विकेट लिए । स्मितले ४ ओभरमा २७ र पारसले ४ ओभरमा २९ रन खर्चे । करण केसीले १ विकेट लिए ।
सन्नी पटेलले २४ बलमा ५१ रन बनाएपछि मात्र चितवनको जित सम्भव भयो । उनले १९ औं ओभरमा सन्दीप लामिछानेलाई २ छक्का र १ चौका प्रहार गरेपछि चितवन जित नजिक पुगेको थियो । चितवनले सो ओभरमा १८ रन जोडेको थियो ।

अन्तिम ओभरमा विजयनिम्ति ७ रन चाहिँदा सन्नीले किशोर महतोलाई लगातार २ चौका प्रहार गरे । उनीसँगै अविजित रहेका सोनु तामाङ १० बलमा ११ रन बनाए । चितवनले विजय हात पार्न विराटनगरका कप्तान सन्दीपलाई पन्छाउन ठूलै मिहिनेत गर्नुपर्‍यो ।

सन्दीपले इनिङ्सको पहिलो बलमै हरिशंकर शाहलाई आउट गरे । पहिलो ओभरको अन्तिम बलमा पारसले सन्दीपलाई लेग साइडमा छक्का प्रहार गरे । तर सन्दीपले अर्को ओभरमा पारसलाई ७ रनमा आउट गरी चितवनलाई ठूलो झट्का दिए । अनिलकुमार शाह १३ रनमा सुनीलको बलमा आउट भए ।

स्मित र आरिफले चितवनलाई केही आस देखाए । स्मितलाई २१ रनमा शाहब आलमले बोल्ड गरे । प्रतियोगितामा रनको खाता खोलेका आरिफले ३९ बलमा २ चौका प्रहार गर्दै ३५ रन बनाए । सन्दीपले आरिफ र भुवन कार्की (शून्य) लाई आउट गर्दै विराटनगरलाई जित नजिक पुर्‍याउँदा सन्नीले उत्कृष्ट इनिङ्स खेल्दै चितवनको संकट टारेका थिए ।सन्दीपले ४ ओभरमा १ मेडन राख्दै २५ रन खर्चेर ४ विकेट लिए । तर उनको युवा टोली १ खेलमात्र जितेर अंकतालिकाको पुछारमा रहयो ।

प्रकाशित : कार्तिक १८, २०७५ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?