कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

वाईआरसीसी च्याम्पियन

कान्तिपुर संवाददाता

इलाम — विराटनगरको वाईआरसीसी टिम इलाममा आयोजित प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ  । आयोजक इलामलाई २८ रनले हराउँदै विराटनगर उपाधि दाबेदार बनेको हो  ।

वाईआरसीसी च्याम्पियन

विजेता विराटनगरले १ लाखसहित ट्रफी हात पार्‍यो । उपविजेता इलामले ५० हजार रुपैयाँमा चित्त बुझायो । सदरमुकामस्थित टुँडिखेलमा शनिबार भएको फाइनलमा टस जितेर पहिलो ब्याटिङ गरेको विराटनगरले ७ विकेट क्षतिमा १ सय ५६ रन जोड्यो । इलामले १६.२ ओभरमा सबै विकेट गुमाएर १ सय २८ रनमात्र बटुल्यो ।

विराटनगरका अजय राजवंशीले सर्वाधिक ३९ रन बनाए । यू–१६ का राष्ट्रिय खेलाडी राजन मगरले ३८ र सुरज पटेलले ३४ रन जोडे । विराटनगरलाई उपाधि जिताउन सैदुल अन्सारीले ३ विकेट लिए । दिपेश कँडेलले २ र श्रवण यादव, मेबुब आलम र अजय राजवंशीले १–१ विकेट लिए ।

१ सय ५७ रनको लक्ष्य लिएको इलामले गतिलो सुरुआत गरे पनि लक्ष्यभन्दा टाढा रह्यो । ओपनर सन्दीप ढुंगानाले २६ रन जोड्दै सम्भावना बलियो बनाए । तर अन्य ब्याट्सम्यान क्रिजमा टिक्न नसक्दा उपविजेतामा नै चित्त बुझाउनुपर्‍यो । इलामका विमल भुजेलले १५, अंकित सुवेदीले १६, मनदीप विमलीले १७ र राज थापाले १९ रन बनाए । इलामका विनोद कोइरालाले ३ विकेट लिए । हेमन राईले २, सन्दीप ढुंगाना र अभ्यास तिम्सिनाले १–१ विकेट लिए ।

प्रतियोगितामा ७३ रन बनाउँदै ७ विकेट लिएका विराटनगरका अजय राजवंशी म्यान अफ द सिरिज घोषित भए । फाइनलमा ३ विकेट लिएका विराटनगरका सैदुल अन्सारी म्यान अफ द म्याच घोषित भए । प्रतियोगिताभर ९३ रन जोडेका विराटनगरका सुरज पटेल उत्कृष्ट ब्याट्सम्यान घोषित भए । ९ विकेट लिएका इलामका बलर हेमन राई उत्कृष्ट बलर भए । स्थानीय खेलाडीलाई प्रोत्साहन गर्दै आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले जिल्ला क्रिकेट संघ इलामले सर्वाधिक पुरस्कार राशिको प्रदेश १ स्तरीय क्रिकेट आयोजना गरेको हो । प्रतियोगितामा १४ टोलीको सहभागिता थियो ।

प्रकाशित : कार्तिक १८, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?