फेवातालमा ओपन वाटर पौडी प्रतियोगिता, शिरिषलाई तेस्रोपल्ट उपाधि

दीपक परियार

लेखनाथ — ओलम्पियन शिरिष गुरुङले तेस्रोपटक पोखरामा भएको ओपन वाटर पौडी प्रतियोगिताको उपाधि जितेका छन् । फेवातालमा शुक्रबार भएको प्रतियोगिताको आठौं संस्करणमा नेपाली सेनाका तर्फबाट प्रतिष्पर्धा गरेका गुरुङले निर्धारित २.५ किलोमिटर दुरी २१ मिनेट ३२.६७ सेकेण्डमा पार गर्दै पहिलो भएका हुन् ।

यसअघि उनले प्रतियोगिताको पाँचौं र छैठौं संस्करणमा उपाधि जितेका थिए । सन् २०१५ मा १९.४० मिनेटमा दुरी पार गरेको रेकर्ड उनकै नाममा छ । प्रतियोगितामा वेदज्ञराज जोशी दोस्रो भए । उनले २१.३८.११ मिनेटमा दुरी पार गरे । दीपंकर अवाले २१.४२.९२ मिनेटमा निर्धारित दुरी पार गरेर तेस्रो भए । उनीहरुले क्रमश: २५ हजार, १५ हजार र १० हजार रुपैयाँ प्राप्त गरे ।

महिलातर्फ काठमाडौंकी उपास्ती महर्जन पहिलो भइन् । उनले २२ मिनेट ३३.३५ सेकेण्डमा दुरी पार गरिन् । समिराशोभा थापाले २३ मिनेट ५५.९५ सेकेण्डमा दुरी पार गरेर दोस्रो स्थान हासिल गरिन् । तेस्रो भएकी श्रेबी महर्जनले २४ मिनेट ०५.७७ सेकेण्डमा दुरी पार गरिन् । विजेताले क्रमश: १० हजार, ८ हजार र ५ हजार रुपैयाँ प्राप्त गरे ।

पोखराका खेलाडीमध्येबाट धनमान गुरुङ पहलो भए । उनले २६ मिनेट ४८.७४ सेकेण्डमा दुरी पुरा गरे । अर्जुन नेपालीले ३० मिनेट १८.१० सेकेण्डमा दुरी पार गरेर दोस्रो र ठाकुर चौधरीले ३३ मिनेट ५६.४९ सेकेण्डमा दुरी पार गरेर तेस्रो भए । उनीहरुले क्रमश: ८ हजार, ५ हजार र ३ हजार रुपैयाँ पाए ।

प्रतियोगीले फेवातालको बाराहीघाट पौडी सुरु गरी तालपारी पुगेर पुन: बाराहीघाट फर्किएका थिए । प्रतियोगितामा ५ विदेशी सहित ४० खेलाडी सहभागी भए । महिलातर्फ १० जनाले प्रतिस्पर्धा गरे । नेपाल पौडी संघको सहयोगमा कास्की जिल्ला पौडी संघ र जिल्ला खेलकुद विकास समितिले प्रतियोगिता गरेको हो । विजयी खेलाडीलाई प्रदेश सांसद राजीव पहारीले पुरस्कार वितरण गरे ।













प्रकाशित : आश्विन २६, २०७५ १४:२१
प्रतिक्रिया
पठाउनुहोस्

ए डिभिजन लिगका आज दुई खेलः शनिबारदेखि स्थगन

कान्तिपुर संवाददाता

काठमाडौँ — शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार दुई वटा खेल हुँदैछन् । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स बुधबार पल्सर सहिद स्मारक ए डिभिजन लिगमा प्रतिस्पर्धा गर्दै मछिन्द्र (सेतो) र च्यासल क्लबका खेलाडीहरू । खेल गोलरहित बराबरीमा टुंगिएको थियो । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार पहिलो खेलमा हिमालयन शेर्पा क्लब र विभागीय टोली एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै दोस्रो खेलमा ब्रिगेड ब्वाइज र सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबबीच खेल हुनेछ । यही असोज १३ गतेदेखि औपचारिकरुपमा शुरु भएर बङ्गबन्धु गोल्डकप अवधिका लागि रोकिएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल बुधबारदेखि पुनः शुरु भएको थियो ।

लिग फुटबलअन्तर्ग शुक्रबार पहिलो चरणका खेल सकिँदैछ । पहिलो चरणको खेल सकिएसँगै लिग एक महिनाका लागि स्थगित हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । दोस्रो चरणका खेलहरु अब छठपछि सञ्चालन गर्ने एन्फाले तयारी गरेको छ । “पहिलो चरणका खेलहरु आज सकिएलगत्तै २७ गतेदेखि लिग स्थगित हुन्छ, दशैं, तिहार, छठ लगायत महत्वपूर्ण चाडबाड सकिएपछि मङ्सिर पहिलोसातादेखि लिगका दोस्रो चरणका खेलहरू शुरु हुन्छ”– लिग निर्देशक सञ्जिव मिश्रले भने ।

लिगका खेलहरू तेह्र चरणसम्म खेलाइनेछ । राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कुल ९१ खेल हुनेछन् । लिगको विजेताले रु ५० लाख, उपविजेताले ३५ लाख, तेस्रोले २५ लाख पाउनेछन् ।

लिगको चौथो टोलीले रु १५ लाख, पाँचौ टोलीले रु सात लाख र छैटौंले रु पाँच लाख पाउनेछन् । फेयर प्ले टिमले एक लाख पाउने छन् । प्रत्येक खेल जिते बापत एन्फाले क्लबलाई ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई १० हजार दिने छन् । लिग विजेता टोलीले एएफसी एसियन कप फुटबलमा सहभागिता जनाउन पाउने लिग निर्देशक मिश्रले जानकारी दिनुभयो ।

‘ए’ डिभिजन लिग चार वर्षपछि हुन् लागेको हो । पछिल्लो पटक विस २०७१ सालमा ‘ए’ डिभिजन लिग भएको थियो । लिगमा ए डिभिजनका १४ क्लब थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, एपिएफ, त्रिभुवन आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सङ्कटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाएका छन् ।

प्रकाशित : आश्विन २६, २०७५ १३:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्