१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

एभीएल भलिबल: चितवन टाइग्रेस च्याम्पियन

सुबास हुमागार्इं

काठमाडौँ — नेपाली महिला भलिबलमा एकल वर्चस्व जमाएको नेपाल एपीएफ क्लबलाई एकपक्षीय फाइनलमा पराजित गर्दै चितवन टाइग्रेसले आधीआवादी महिला भलिबल लिग (एभीएल) को उपाधि जितेको छ ।

एभीएल भलिबल: चितवन टाइग्रेस च्याम्पियन

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बुधबार फितलो प्रदर्शन गरेपछि एपीएफ वर्षको पाँचौं उपाधि जित्न असफल रह्यो । उपाधिसँगै चितवनले ६ लाख र एपीएफले ३ लाख रुपैयाँ पुरस्कार पाए । यो महिला भलिबलमा सर्वाधिक राशिको पुरस्कार हो ।


नेपाल भलिबल संघ र आधीआवादी फाउन्डेसनको संयुक्त आयोजनामा भएको प्रतियोगिताको फाइनलमा तीन अमेरिकी खेलाडीसहित उत्रिएको चितवनले खेलको सुरुआतदेखि नै एपीएफलाई दबाबमा राखेको थियो । पश्चिमाञ्चलबाट खेल्ने स्टार खेलाडीद्वय मन्जु गुरुङ (कप्तान) र अरुणा शाहीको पनि साथ पाएको चितवनले सुरुदेखि बनाएको अग्रता कुनै समय गुमाएन । जसले गर्दा सोझो सेटमै फाइनलको फैसला भयो । प्रतिस्पर्धात्मक पहिलो सेटमा चितवन २५–२० ले अघि रह्यो ।


दोस्रो सेटमा एपीएफले कडा चुनौती प्रस्तुत गर्दै चितवनलाई सहजै अग्रता लिन दिएन । एकसमय १२–८ ले अघि रहेको एपीएफ चितवनले टाइमआउट लिएपछि १३–१२ ले पछाडि परेको थियो । चितवनले उक्त लय कायम राख्दै दोस्रो सेट २५–१७ ले आफ्नो पक्षमा पार्‍यो । तेस्रो सेटमा सुरुदेखि नै लगातार गल्ती दोहोर्‍याएपछि हतोत्साही देखिएको एपीएफले २५–११ को अन्तरमा गुमायो ।

सर्वोत्कृष्ट खेलाडी अरुणा शाही स्कुटरसहित ।


एपीएफले यसअघि चारै प्रतियोगिताको उपाधि जितेको थियो । एपीएफले काठमाडौंमा आयोजित शेरबहादुर स्मृति कप र एनभीए क्लब लिग तथा पोखरामा आयोजित तीज कपको फाइनलमा न्यु डायमन्डलाई पराजित गरेको थियो । न्यु डायमन्ड सहभागी हुन नपाएको सभामुख कपमा भने पुलिस फाइनलमा पराजित भएको थियो । यस प्रतियोगिताको सेमिफाइनलमा पनि एपीएफले डायमन्डलाई सेमिफाइनलमा हराएको थियो ।


प्रतियोगिताको उत्कृष्ट खेलाडीमा चितवनकी अरुणा शाही घोषित भइन् । उनले स्कुटरसहित ५० हजार रुपैयाँ प्राप्त गरिन् । सेटरको भूमिकामा रहेकी अरुणाले प्रभावशाली प्रदर्शन गर्दै विदेशी खेलाडीलाई राम्रो साथ दिइन् । यसअघि पनि न्यु डायमन्डको टोलीबाट खेलेकी अरुणाले यस प्रतियोगिताबाट आफ्नो प्रदर्शन अझै सुध्रिएको प्रमाणित गरेकी छन् । विगतमा पश्चिमान्चलको टोलीमा स्पाइकरको भूमिका निभाएकी अरुणा काँधको चोट र न्यु डायमन्डमा आवश्यकता पर्दा सेटरको भूमिकामा देखिएकी थिइन् ।

एपीएफविरुद्ध स्पाइक प्रहार गर्दै चितवन टाइग्रेसकी विदेशी खेलाडी  । तस्बिरहरू : इलिट जोशी


विदेशी खेलाडीको अग्लो उचाइ र शक्तिशाली प्रहारलाई एपीएफको डिफेन्सले रोक्न सकेन । बलियो विपक्षीविरुद्ध अपेक्षित प्रदर्शन गर्न नसक्दा टोलीले हारको सामना गर्नुपरेको हो । विजेता टोलीका विदेशी प्रशिक्षक कोरी सोलोमनले विदेशी खेलाडी हाबी हुँदा जित सहज भएको स्वीकारे । ‘हामीसँग भएका विदेशी खेलाडीको उचाइ नेपाली खेलाडीभन्दा अग्ला थिए । त्यसको फाइदा उठाउँदै हामीले लगातार अंक बटुल्न सक्यौं,’ उनले भने । निकै अपेक्षा गरिएका एपीएफका ब्लकर हीरा केसी, स्पाइकर सरस्वती चौधरी, सेटर तथा कप्तान विनिता बुढाथोकी र रेश्मा भण्डारीले अपेक्षित प्रदर्शन गर्न सकेनन् ।


अमेरिकामा विश्वविद्यालय स्तरको प्रशिक्षक रहेका सोलोमनले नेपाली भलिबलको स्तर पनि राम्रो रहेको बताए । ‘नेपालको भलिबल स्तर राम्रो छ । यस्तो प्रतियोगिताले खेल सुधार्न महत्त्पूर्ण भूमिका खेल्छ । आफूभन्दा माथिल्लो स्तरका विदेशी खेलाडीसँग खेल्दा आफ्नो खेल पनि बढ्छ,’ उनले थपे, ‘प्रतियोगिता निकै राम्रो थियो । नियमित आयोजनाले खेलाडीको विकासमा नै सघाउ पुग्छ । यस किसिमका प्रतियोगिता भइरहे म फेरि यहाँ आउन तयार छु ।’


एपीएफका प्रशिक्षक ज्ञानेन्द्र विष्टले खेलाडीले आफ्नो नियमित खेल प्रदर्शन गर्न नसक्दा हार्नुपरेको बताए । ‘अग्ला विदेशी खेलाडी देखेपछि खेलाडीको मनोबल गिर्‍यो । उनीहरूले नियमित खेल पनि प्रदर्शन गर्न सकेनन् । हाम्रो रिसिभमा पनि समस्या देखियो,’ उनले भने । प्रशिक्षक विष्टले अघिल्लो दिन सेमिफाइनल जितेपछि आफ्नो टोली चितवनका विदेशी खेलाडीविरुद्ध खेल्न तयार रहेको अभिव्यक्ति दिएका थिए ।


अमेरिकी खेलाडीमध्ये ओपन स्पाइकर जोस्लिन बिर्कसले नेपालमा खेल्दाको अनुभव विशेष रहेको सुनाइन् । ‘हामी तीनैजनाको उचाइ नेपाली खेलाडीभन्दा बढी छ । यसका बाबजुद यहाँका खेलाडीको डिफेन्स गर्ने शैली मनपर्‍यो । हामीहरूको खेल नेपाली खेलाडीसँग मिलाएर लग्न सहज भयो,’ उनले भनिन् । प्रशिक्षक सोलोमनका अनुसार तीनै खेलाडी विश्वविद्यालय स्तरबाट व्यावसायिक भलिबलतर्फ करिअर बनाउन युरोपका स्वीडेन, फ्रान्सलगायतका देशमा पुग्ने गरेका छन् ।


बुधबारै तेस्रो स्थानको खेलमा न्यु डायमन्ड क्लबले नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्‍यो । न्यु डायमन्डले २५–१८, २५–२१, २५–१९ को जित दर्ता गर्दै १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्‍यो ।

प्रकाशित : आश्विन १८, २०७५ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?