कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

१८ बलमै जित

कान्तिपुर संवाददाता

काठमाडौँ — अपेक्षा के थियो भने नेपालले म्यानमारको सामना गर्दा सहज जितमात्र निस्कने छैन । जितमा धेरै कीर्तिमान पनि बन्ने छन् । हुन पनि क्रिकेटको आधार नै तयार नभएको देशमाथि नितान्त एकपक्षीय जित निस्कनुपर्ने हो ।

१८ बलमै जित

तर आईसीसी वल्र्ड ट्वान्टी–२० एसिया रिजिनल क्वालिफायरमा नेपालले बुधबार यही म्यानमारलाई हराउँदा सोचेजस्तो जित रहेन । नेपाल त्यस खेलमा ८ विकेटले विजयी रह्यो । यसमा म्यानमारका खेलाडीसँग सकारात्मक रहने कुनै न कुनै आधार हुनेछ ।


मलेसियाको क्वालालम्पुरमा भएको खेलमा म्यानमारले टस जितेर पहिलो ब्याटिङको अपेक्षित निर्णय गर्‍यो । यसक्रममा १० ओभरमात्र टिकेर २९ रन बनायो । म्यानमारका लागि एक ब्याट्सम्यानले मात्र दोहोरो रन बनाए । ती रहे कप्तान लिन आङ । उनले १६ रन बनाए । त्यसबाहेक सर्वाधिक स्कोर प्रारम्भिक ब्याट्सम्यान को लिन थुको रह्यो । उनको ब्याटबाट ४ रन निस्केको थियो । अरु ६ ब्याट्सम्यानले खाता नै खोल्न सकेनन् ।


म्यानमारलाई सस्तोमा समेट्न सन्दीप लामिछाने निर्णायक रहे । उनले ३ रनमात्र खर्चे र ४ विकेट लिए । म्यानमारले २३ रन बनाउँदा तीन विकेटमात्र गुमाएको थियो । त्यसयता उसले थप ६ रनमा बाँकी सबै विकेट गुमायो । म्यानमारलाई जति दु:ख ब्याटिङ प्रदर्शनमा हुनेछ, त्यत्तिकै खुसी बलिङमा रहने छ । नेपालले ३० रन बनाउँदासम्म २ विकेट गुमाएको थियो । प्रारम्भिक ब्याट्सम्यान प्रदीप ऐरी टेट वाइको बलमा शून्यमै आउट भए ।


त्यसयता अनिल शाह ११ रन बनाएर पाइङ दानुको बलमा एलबीडब्लु आउट भए । नेपाललाई जितसम्म पुग्न ३ ओभरमात्र आवश्यक परेको थियो । खासमा यो जित पनि एकपक्षीयजस्तै हो, तर धेरैले नेपालले यसअघि यही म्यानमारमाथि प्राप्त जितसँग तुलना गर्नेछन् । सन् २००६ मा म्यानमारले १० रन बनाएयता नेपालले दुई बलमै जितसम्मको यात्रा तय गरेको थियो ।


यसअघि भएका खेलमा थाइल्यान्ड र मलेसिया विजयी रहे । जहाँ थाइल्यान्डको जित निकै सहज रह्यो, त्यहीं मलेसिया भने जितका लागि पसिना बगाउन बाध्य रह्यो । दिनको पहिलो खेलमा थाइल्यान्डले चीनलाई १० विकेटले हरायो । जितका लागि ३६ रनको लक्ष्य पाएको थाइल्यान्डले २ ओभर ४ बलमा त्यसलाई पूरा गरेको थियो । चीन २० ओभर त टिक्न सफल रह्यो, तर त्यसबीचमा ९ विकेट गुमाएर ३५ रनमात्र बनाउन सक्यो ।


चीनबाट कोही पनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । उसका लागि नवौं क्रमका ब्याट्सम्यान या वाङले सर्वाधिक ८ रन बनाए । थाई बलरमध्ये ड्यानियल ज्याकोब्सले ३ विकेट लिए । उनले नै थाई इनिङ्सको सुरुआत पनि गरे । उनी १९ रन बनाएर नटआउट रहे ।


अर्को खेलमा मलेसियाले पहिले ब्याटिङ गर्दै ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । मलेसियाले १२ रनमात्र बनाउँदा ३ विकेट गुमाएको थियो र दबाबमा देखिएको थियो । यो स्थिति बनाउन भुटानका सन्जिवन गुरुङले ३ विकेट लिए । तर मध्य र तल्लो क्रमका ब्याट्सम्यानले मलेसियाका लागि खुलेर रन बनाए । सुसन अल्गारत्नम्ले सर्वाधिक ३५ रन बनाए । यस्तै सरविन मुनियान्डीले ३१ रनको योगदान दिए र उनी नटआउट रहे । जवाफमा भुटानले २० ओभरमा ९ विकेट गुमाएर ८७ रन बनायो ।


उसका लागि प्रारम्भिक ब्याट्सम्यान जिग्मे सिंङगेले सर्वाधिक २१ रन बनाए । मलेसियाली बलरमध्ये अनवर रहमान घातक साबित भए । उनले ८ रनमा ४ विकेट लिए । तीन खेल समाप्तिमा थाइल्यान्ड रनरेटको आधारमा शीर्षस्थानमा छ भने नेपालले त्यसभन्दा पछि दोस्रोमा छ । नेपालले अर्को खेल शनिबार आयोजक मलेसियासँग खेल्ने छ ।

प्रकाशित : आश्विन १८, २०७५ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?