१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

फितलो आर्मी, अभागी एनआरटी

सुबास हुमागाईं

काठमाडौँ — असन्तुष्ट प्रशिक्षक, खस्केको खेल स्तर, रेफ्रीको विवादास्पद निर्णय अनि आयोजना व्यवस्थापनमा समस्या । पाँच वर्षपछि फर्केको सहिद स्मारक ‘ए’ डिभिजन लिगको शनिबार पहिलो खेलपछि त्रिभुवन आर्मी र एनआरटी दुवै क्लबका प्रशिक्षक खुसी देखिएनन् ।

फितलो आर्मी, अभागी एनआरटी

तर दुवै प्रशिक्षक खुसी नहुनुको कारण नतिजा भने थिएन । आर्मीका प्रशिक्षक नवीन न्यौपाने टोलीको कमजोर प्रदर्शनले निरास देखिन्थे भने एनआरटीका महेश्वर मुल्मी रेफ्रीले गलत निर्णय दिँदै टोलीको जित खोसेको आरोप लगाउँदै मुर्मुरिए ।

खेलको दोस्रो हाफको इन्ज्युरी समयको अन्तिम मिनेटमा पेनाल्टी क्षेत्रभित्र पाएको इन्डाइरेक्ट फ्रिकिकमा गोल गर्दै आर्मीले हार टारेको थियो । थप गरिएको ५ मिनेट सकिएपछि गोलरक्षक अजित प्रजापतिले निर्धारित ६ सेकेन्डभन्दा बढी बल समातेको भन्दै रेफ्री सुदीश पाण्डेले आर्मीलाई फ्रिकिक दिएका थिए । उक्त फ्रिकिकमा आर्मीका सन्तोष तामाङले एरिक विष्टको सहायता लिँदै गोल गरे ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीले दुईपल्ट अग्रता लिए पनि जोगाउन सकेन । आर्मीविरुद्ध साँघुरो डिफेन्स र काउन्टर अटयाकको रणनीतिमा उत्रिएको एनआरटीले आफ्नो योजना सफल रूपमा अवलम्बन गर्न सक्यो । राजेश परियारलाई एकल फरवार्डको रूपमा खेलाएको एनआरटीले दुवै गोलमा उनको साथ पायो ।

१२ औं मिनेटमा कर्नरबाट रिबाउन्ड आएको बल राजेशले प्रहार गर्दा रोजित पुडासैनीले पोस्टको दिशा दिएर एनआरटीलाई सुरुआती अग्रता दिलाए । एनआरटीको दोस्रो गोल राजेश आफैंले गरेका थिए । मिडफिल्डमा निशान लिम्बुले गरेको फ्लिकमा उनले आर्मीका सेन्टर डिफेन्डरद्वय जितेन्द्र कार्की र विमल पाण्डेलाई बिट गर्दै वान भर्सेस वानको स्थितिमा गोल गरेका हुन् ।

त्यसअघि आर्मीले पहिलो हाफमा पेनाल्टीको मदतमा गोल गरेको थियो । कर्नरमा आएको बल क्लियर गर्ने प्रयासमा एनआरटीका डिफेन्डर सरोज तामाङको हातमा बल लागेपछि रेफ्रीले पेनाल्टीको अवसर दिए । रेफ्रीको यो निर्णयमा पनि बेन्चमा रहेका एनआरटी अफिसियलहरूले तीव्र असन्तुष्टि जनाए । आर्मीले खेलमा पकड बनाउने प्रयास गरे पनि अन्तिम पास सफल रूपमा निकाल्न नसक्दा एनआरटीलाई दबाबमा राख्न सकेन । दुवै गोल सेट पिसमा आउनुले पनि आर्मीको प्रदर्शन फितलो रहेको प्रस्ट थियो । आर्मीले सिर्जना गरेका केही मौकामा गोलरक्षक अजित प्रजापति बाधक बनिरहे ।

लिग उपाधिको दाबेदार मानिएको आर्मी र मध्यतालिकाको लक्ष्य राखेको एनआरटीबीचको खेल शीर्ष डिभिजनको जस्तो थिएन । गत वर्ष मोफसलका ७ उपाधि जित्दै नम्बर एक क्लबको रूपमा आफूलाई उभ्याएको आर्मीले ‘बी’ डिभिजनबाट बढुवा भएको एनआरटीविरुद्ध इन्ज्युरी समयको अन्तिम मिनेटको गोल सहायता लिनुपर्‍यो । राष्ट्रिय टोलीको खेलाडीको वर्चस्व रहेको आर्मीको आक्रमणधार चल्न सकेन । मिडफिल्डमा पनि बल होल्ड गर्न असफल आर्मीको डिफेन्सलाई एनआरटीको काउन्टर बचाउन हम्मे–हम्मे परेको थियो ।

गोल गरेपछि खुसी साट्दै एनआरटीका राजेश परियार (९) र निशान लिम्बु ।तस्बिर : हेमन्त श्रेष्ठ


यता ‘ए’ डिभिजन लिगको पछिल्लो संस्करणमा सहभागिता नजनाउने निर्णय गर्दै तल्लो श्रेणी झरेलगत्तै आयोजना भएको लिगमा उपस्थित एनआरटीमा फिटनेस समस्या देखियो । दोस्रो हाफमा खेलाडीहरूले सामान्य फाउलमा पनि लडेर अनावश्यक समय खर्चे । एनआरटीले गरेको तीनै परिवर्तनमा खेलाडी घाइते हुँदै मैदान छाडेका थिए भने अन्तिम समयतिर कुद्न पनि कठिन भएकाले बेन्चमा समय बाँकी रहेकोबारे संकेत दिइरहेका थिए । एनआरटीले मैदानमा उतारेका अधिकांस खेलाडीको ‘ए’ डिभिजन लिगमा नै डेब्यू थियो ।

अन्तिम समयमा रेफ्रीको निर्णयका कारण आक्रोसित एनआरटी बेन्चका अफिसियल खेल सकिएलगत्तै मैदान पसे । बेन्चसँगै रहेको दर्शकदीर्घामा रहेका समर्थक पनि सँगै मैदानतर्फ लागे । सुरक्षा व्यवस्था कमजोर हुँदा मैदानभित्र भिडभाड नै भयो । खेल सकिएलगत्तै म्यान अफ द म्याच घोषित एनआरटीका गोलरक्षक अजितलाई फिफाको दक्षिण एसिया क्षेत्रका विकास निर्देशक प्रिन्स रुफसले म्यान अफ द म्याच अवार्ड दिँदै थिए ।

अवार्ड दिइरहँदा केही अफिसियल र समर्थकले पुरस्कार दिइरहेको अवस्थामा अजितलाई तानेर लगेका थिए । एन्फा पदाधिकारीको आग्रहपछि क्लब अध्यक्षले उनलाई फिर्ता ल्याएर पुरस्कार ग्रहण गर्न दिएका थिए । व्यवस्थापनमा निकै समस्या देखिएको उद्घाटन समारोहमा चर्चित सेलिब्रेटीहरूले प्रस्तुति दिएका थिए । उचित व्यवस्थापन हुन नसक्दा खेल तोकिएको समयभन्दा आधा घण्टा ढिलो सुरु भएको थियो ।

पहिलो खेलमा बराबरीमा चित्त बुझाउँदा दु:ख लागे पनि आर्मीले राम्रो प्रदर्शन गर्न नसकेको प्रशिक्षक न्यौपानेले स्वीकारे । ‘मैले अपेक्षा गरेअनुसार एक चौथाइ पनि खेल्न सकेनन् । आक्रमणमा फितलो देखिएको टोली मिडफिल्डमा पनि बल राख्न सफल भएन । खेलाडीले बल अगाडि बढाउन हतार गर्दा योजना सफल हुन सकेन,’ उनले भने । गत वर्ष मोफसलमा उच्च प्रदर्शन गरेका विंगर दिनेश हेन्जनको अनुपस्थितिले पनि केही असर परेको उनको भनाइ थियो । ‘उनी निकै राम्रा खेलाडी हुन् । गत वर्ष मोफसलमा हामीले सफलता प्राप्त गर्दा उनले निर्णायक प्रदर्शन गरेका थिए । उनी भएको भए केही फरक हुनसक्थ्यो,’ उनले थपे । दिनेश नेपाल यू–१८ राष्ट्रिय टोलीको कप्तानी गर्दै भारतको आग्रामा आयोजित प्रतियोगितामा व्यस्त रहेकाले उपलब्ध थिएनन् ।

एनआरटीका प्रशिक्षक महेश्वर मुल्मीले आर्मीजस्तो बलियो टोलीविरुद्ध योजनाअनुरुप खेल्दाखेल्दै रेफ्रीको निर्णयका कारण हार्नुपरेको बताए । ‘आर्मी निकै बलियो टोली हो । हामीले रक्षात्मक रणनीति अपनाउँदै काउन्टर अट्याक गर्ने योजना बुनेका थियौं । त्यसैअनुसार आर्मीलाई २ गोल गयौं पनि । तर रेफ्रीको गलत निर्णयले हामीबाट जित खोसियो,’ उनले भने ।

मुल्मीले रेफ्री पाण्डेले आर्मीको साथ दिएको भन्दै पक्षपात गरेको आरोप लगाए । ‘यो शतप्रतिशत अन्याय भयो । आर्मीसँग मिलेर हाम्रोविरुद्ध निर्णय दिने कार्य भएको छ । विगत पनि उनले यस्तै विवादास्पद निर्णय गर्दै आएका छन् । उनले विवाद उत्पन्न गर्ने निर्णय दिने गर्छन्,’ मुल्मीले थपे । क्लबले अब एन्फासमक्ष लिखित उजुरी दर्ता गर्ने र एन्फाबाट उचित जवाफको अपेक्षा गरेको उनले बताए ।

प्रकाशित : आश्विन १४, २०७५ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?