कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सहिद स्मारक लिग आजदेखि

“ए” डिभिजन लिगको पुनरागमन
सुबास हुमागाईं

काठमाडौँ — त्रिभुवन आर्मी क्लब र न्युरोड टिम (एनआरटी) शनिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा उत्रँदा सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको ५ वर्षपछि पुनरागमन हुँदै छ ।

सहिद स्मारक लिग आजदेखि

क्लबहरूलाई तयारी गर्ने ठाउँको कमी, स्तरीय खेलाडी उपलब्ध नहुनु, राष्ट्रिय टोली र क्लबको खेलतालिका जुध्नुलगायत अनेक आरोहअवरोह तोड्दै एन्फा अन्तत: तोकिएकै मिति असोज १३ देखि लिग सुरु गर्न लाग्दैछ ।

१४ टोलीसम्मिलित लिगको उद्घटन खेल र आइतबार हुने संकटा र सरस्वतीको खेलपछि लिग केही समयका लागि रोकिनेछ । डिफेन्डिङ च्याम्पियनको हैसियतमा नेपाली राष्ट्रिय फुटबल टोली बंगबन्धु कपमा सहभागिता जनाउन सोमबार बंगलादेश जाने भएपछि राष्ट्रिय टोलीका खेलाडीसम्मिलित क्लबका खेल नहुने भएको हो । यस्तो अवस्थामा एन्फाले बंगबन्धु कपमा नेपालको खेल सकिएपछि मात्र बाँकी लिग तालिका निर्धारण गर्नेछ ।

लिगको पूर्वसन्ध्यामा सहभागी सबै क्लबका प्रशिक्षकले लिगबारे आ(आफ्नो धारणा व्यक्त गरेका छन् । अधिकांश क्लबले तयारीका लागि उचित मैदान नहुनुको दुखेसो पोखे । लगभग सबै क्लबले असारमा समपन्न ललित स्मृति यू–१८ फुटबलका खेलाडी समेटेर टोली निर्माण गरेका छन् ।

विदेशी खेलाडीको हकमा यसपल्ट चार विदेशी खेलाडी अनुबन्धन गर्दा कम्तीमा एक दक्षिण एसियाली हुनुपर्ने प्रावधान छ । फ्रेन्ड्सले बंगलादेशका गोलरक्षक अनुबन्धन गर्दै त्यसको फाइदा पनि उठाएको छ । अन्य केही क्लब विदेशी खेलाडी भित्र्याउने प्रक्रियामा छन् भने केहीले तीन विदेशी खेलाडीको कोटा पूरा गरिसकेका छन् ।

लिगको सम्पूर्ण तयारी पूरा भइसकेको एन्फाले जनाएको छ । प्रतियोगिताका सम्पूर्ण खेल एन्फाबाट डिजिटल राइट्स पाएको माइकोजुको वेबसाइटले प्रत्यक्ष प्रसारण गर्नेछ । टेलिभिजन राइट्स भने एपी वानले ३ वर्षका लागि खरिद गरेको छ । संस्थाले पहिलो वर्ष ३० लाख, दोस्रोमा ३५ लाख र तेस्रो वर्ष ४० लाख प्रदान गर्नेछ । यसअघि एन्फाले सम्पूर्ण मार्केटिङ अधिकार बेचेको संस्था रामसार मिडियाले पल्सरसँग टाइटल स्पोन्सरको लागि सम्झौता गरिसकेको छ ।

विजेताले ५० लाख रुपैयाँ पाउने लिगको कुल पुरस्कार राशि २ करोडभन्दा माथि छ । यसपालि हरेक खेलका विजेता टोलीले म्याचमनीका रूपमा ५० हजार र म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउने व्यवस्था गरिएको छ ।

खेलाडी सूची तयार भएन
अखिल नेपाल फुटबल संघले लिग सुरु हुने अघिल्लो दिनसम्म पनि खेलाडी सूची तयार नभएको जनाएको छ । खेलाडी दर्ताका लागि सुरुमा भदौ ३० अन्तिम मिति तोकिए पनि एन्फाले क्लबहरूको आग्रहमा एक साता समय थप गरेको थियो । अन्तिम मितिसम्म क्लबहरूले न्युनतम १८ खेलाडी दर्ता गर्नुपर्ने थियो । क्लबले तोकिएकै मितिमा खेलाडी दर्ता गरे पनि एन्फाले भने खेलाडी दर्ता प्रक्रिया ‘प्रमाणित’ गर्न बाँकी रहेको भन्दै खेलाडी सूची सार्वजनिक गर्न सकेको छैन ।

राष्ट्रिय टोलीका खेलाडी कुन क्लबमा ?
गोलरक्षक– विकेश कुथु (आर्मी), विशाल श्रेष्ठ (मनाङ), एलन न्यौपाने (थ्रीस्टार)
डिफेन्डर– विराज महर्जन (मनाङ), अनन्त तामाङ (थ्रीस्टार), आदित्य चौधरी (एपीएफ), सुमन अर्याल (आर्मी), दिनेश राजवंशी (पुलिस) , देवेन्द्र तामाङ (च्यासल)
मिडफिल्डर– विशाल राई (मनाङ), हेमन गुरुङ (मनाङ), हेमन्त थापामगर (च्यासल), अन्जन विष्ट (मनाङ), सुनील बल (थ्रीस्टार), सुजल श्रेष्ठ (मनाङ), नीराजन खड्का (थ्रीस्टार), तेज तामाङ (पुलिस)
फरवार्ड– विमल घर्तीमगर (च्यासल), भरत खवास (आर्मी), नवयुग श्रेष्ठ (आर्मी) ।


ललितपुरको क्लब फ्रेन्ड्सलाई शुक्रबार नेपाल इन्भेस्टमेन्ट बैंकले १० लाख रुपैयाँ प्रायोजन गरेको छ । सम्झौतापत्र हस्ताक्षर तथा आदानप्रदान पछि क्लबका कप्तान धिरज श्रेष्ठलाई बैंकको नामसहितको जर्सी पनि हस्तान्तरण गरिएको थियो । कार्यक्रममा पन्चकन्या ग्रुपले पनि फ्रेन्ड्सलाई ५ लाख रुपैयाँ प्रदान गर्दै सह–प्रायोजन गरेको छ । तस्बिर : अंगद ढकाल

ब्रिगेड व्वाइज क्लब
लिगको लक्ष्य – शीर्ष आठ
लिगको तयारी– दुई महिना
प्रशिक्षक – उज्जन श्रेष्ठ
टोलीमा युवा खेलाडीको नै वर्चस्व रहेको छ । असारमा सम्पन्न ललित स्मृति यू–१८ फुटबल प्रतियोगिताको टोलीमा केही विदेशी र स्थानीय सिनियर खेलाडी थपेका छौं । क्लबले युवा खेलाडी उत्पादनलाई बढावा दिने लक्ष्य राखेको छ ।

च्यासल युथ क्लब
लिगको लक्ष्य – लिग उपाधि
तयारी – एक महिना
प्रशिक्षक – राजुकाजी शाक्य

भारतको आसाममा आयोजित प्रतियोगितामा प्रतिस्पर्धा गरेकाले टोलीको अन्तिम तयारी राम्रो रह्यो । राष्ट्रिय टोलीका ३ खेलाडीसम्मिलित छन् । फिटनेसको स्तर भने सुधार्नुपर्ने अवस्था छ । क्लब शीर्ष डिभिजनमा आउँदा निकै उत्साही देखिन्छ । हामीले लिगको लक्ष्य राखेर टोली निर्माण गरेका छौं । हामीसँगै अन्य क्लब पनि सोहीअनुसार तयार छन् ।

फ्रेन्ड्स क्लब
लिगको लक्ष्य – शीर्ष हाफ
तयारी – डेढ महिना
प्रशिक्षक – रमेश महर्जन

मैदानको कमीका कारण तयारी राम्रो हुन सकेन । औसत तयारीसाथ लिग खेल्ने जमर्को छ । बंगलादेशका गोलरक्षकसहित ४ विदेशी खेलाडीले राम्रो खेल्ने अपेक्षा छ । यू–१८ टोलीका अधिकांस खेलाडी क्लबले राखेको छ । रक्षात्मक रूपमा टोली बलियो रहेको बुझाइ छ ।

हिमालयन शेर्पा क्लब
लिगको लक्ष्य – शीर्ष ६
तयारी – २० दिन
प्रशिक्षक – सुवास लिम्बु
उचित मैदानको अभावले गर्दा निकै

सानो ठाउँमा शारीरिक पक्षलाई ध्यान दिँदै प्रशिक्षण गराइरहेका छौं । तयारी कमजोर भए पनि अन्य टोलीको अवस्था पनि त्यसै भएकाले फरक नपर्ला । लिगको अनुभव बोकेका खेलाडी पनि टोलीमा छन् । अन्तिम समयमा कर्ण लिम्बुलाई क्लबमा आबद्ध गर्नाले हौसला बढेको छ ।

जावलाखेल युथ क्लब
लिगको लक्ष्य – शीर्ष हाफ
तयारी – डेढ महिना
सहायक प्रशिक्षक – नरेश थापा

आफ्नो मैदान भएकाले तयारी राम्रो भएको छ । केही अनुभवी र यू–१८ टोलीका खेलाडीलाई समेटेर लिगका लागि टोली तयार पारेका छौं । आक्रमण तुलनात्मक कमजोर देखिन्छ । मिडफिल्ड र डिफेन्स बलियो रहेकाले राम्रो नतिजा आउने आसा छ ।
(क्लबका प्रशिक्षक राजकुमार केसी कार्यक्रममा उपस्थित थिएनन् । )

मछिन्द्र क्लब
लिगको लक्ष्य – मध्य टेबल
तयारी – डेढ महिना
प्रशिक्षक – धनेश्वर प्रजापति
युवा र अनुभवी खेलाडीको मिश्रण गरेर टोली तयार पारेका छौं । प्रशिक्षकका रूपमा मेरो पनि लिगमा पहिलो अनुभव हुनेछ । हामीमाथि केही दबाब नभएकाले अन्य क्लबलाई समस्या दिन सक्दो प्रयास गर्नेछौं ।

मनाङ मर्स्याङ्दी क्लब
लिगको लक्ष्य – लिग उपाधि
तयारी – दुई साता
प्रशिक्षक – तोपे फुजा (नाइजेरिया)

साविक विजेता भए पनि कुनै किसिमको दबाब छैन । पछिल्लो समय टोलीमा निकै सुधार आएको महसुस गरेको छु । उपाधि जित्ने नै लक्ष्य लिएर अगाडि बढ्न टोली तयार छ । ओलावाले आफिजको आगमनले पनि आक्रमण थप बलियो भएको छ ।


नेपाल एपीएफ क्लब
लिगको लक्ष्य – शीर्ष ३
तयारी – डेढ महिना
प्रशिक्षक – राजेन्द्र तामाङ

पछिल्लोपटक थ्रीस्टारलाई राष्ट्रिय च्याम्पियन बनाउँदा निकै दबाब थियो र बलियो टोली भएकाले सफल भएँ । अहिले एपीएफ बिल्कूल फरक टोली छ । मैले नेपाली फुटबलमा प्रचलित रणनीतिभन्दा फरक पद्धति अपनाउने प्रयासमा छु । खेलाडीलाई केही गाह्रो होला तर यसले राम्रो नतिजा ल्याउने अपेक्षा छ ।

नेपाल पुलिस क्लब
लिगको लक्ष्य – लिग उपाधि
तयारी – २ महिनादेखि लिग केन्द्रित
प्रशिक्षक – अनन्त थापा

अहिलेको टोली युवा जोसले भरिपूर्ण छ । विभागीय टोली पनि विगतभन्दा व्यावसायिक भएका छन् । हामीले लिगकै लागि विभिन्न योजना अगाडि सारेका छौं । लिगमा अन्य टोली पनि बलिया भएकाले खेल अनुसाररणनीति बुन्नेछौं ।

न्युरोड टिम (एनआरटी)
लिगको लक्ष्य – शीर्ष ६
तयारी – एक महिना
प्रशिक्षक – महेश्वर मुल्मी

एक महिनादेखि प्रशिक्षण सुरु भए पनि उचित मैदान नहुँदा ४–५ दिनमात्र पोस्ट भएको मैदान प्रयोग गर्न पायौं । पछिल्लो वर्ष बी डिभिजन खेलेका केही खेलाडीमात्र टोलीमा छन् । नयाँ खेलाडी थपेर मजबुत सुरुआत गर्ने लक्ष्य राखेका छौं ।


संकटा क्लब
लिगको लक्ष्य – शीर्ष ५
तयारी – १ महिना
प्रशिक्षक – सल्यान खड्गी

युवा र अनुभवी खेलाडीको मिश्रणले टोली बलियो छ । नकआउटमा राम्रो प्रदर्शन गरेकाले क्लबले मलाई लिगमा पनि जिम्मेवारी दिएको छ । पछिल्लो लिग खेलाडीका रूपमा खेल्दा भन्दा अहिले प्रशिक्षकको भूमिकामा बढी उत्साही छु ।

सरस्वती क्लब
लिगको लक्ष्य – शीर्ष ६
तयारी – डेढ महिना
प्रशिक्षक – प्रदीप नेपाल

स्थानीय खेलाडीलाई समेट्दै विदेशी खेलाडीसहित राम्रो टोली गठन गरेका छौं । आफ्नै मैदान भएकाले प्रशिक्षण राम्रो भएको छ । विगतभन्दा अहिले खेल्ने शैली मात्र नभएर प्रशिक्षणमा पनि परिवर्तन आएको छ । तयारीअनुसार खेलाडीले मैदानमा राम्रो प्रदर्शन गर्ने आस छ ।

थ्रीस्टार क्लब
लिगको लक्ष्य – उपाधि
तयारी – १० महिना
प्रशिक्षक – मेघराज केसी

थ्रीस्टारले लिगको लागि लामो समयदेखि तयारी थालेको हो । लामो समयपछि लिग हुन लागेकाले कस्तो स्तरको खेल हुने हो हेर्न बाँकी छ । विपक्षी टोलीले कस्तो खेल्छ भन्ने आँकलन नगरी लिग उपाधिबारे सोच्न सकिन्न ।

त्रिभुवन आर्मी क्लब
लिगको लक्ष्य – लिग उपाधि
तयारी – तीन महिना लिग केन्द्रित
प्रशिक्षक – नवीन न्यौपाने

गत वर्ष मोफसलमा सात उपाधि जित्दै नम्बर एक क्लब बनेका थियौं । लिग नकआउटभन्दा फरक प्रतियोगिता भएकाले अब लिगमा नम्बर एक बन्ने लक्ष्य छ । अन्य टोलीमा विदेशी खेलाडी हुँदा विभागीयलाई केही कठिन हुन्छ । खेलाडीको रूपमा जितेका ४ लिगमा अब प्रशिक्षक बनेर आर्मीलाई ऐतिहासिक लिग जिताउने धोको छ ।

आजको खेल
एनआरटीविरुद्ध आर्मी
दिउँसो ३ बजे
एन्फा कम्प्लेक्स सातदोबाटो

प्रकाशित : आश्विन १३, २०७५ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?