२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

एसीसी यू–१९ एसिया कप: नेपालको भारतसँग परीक्षा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालले एसीसी यू–१९ एसिया कप क्रिकेटको पहिलो दिन शनिबार भारत यू–१९ को सामना गर्दै छ । भारत र नेपालसहित समूह ‘ए’ मा अफगानिस्तान र यूएई यू–१९ छन् । बंगलादेशमा हुने प्रतियोगिताको समूह ‘बी’ मा पाकिस्तान, श्रीलंका, आयोजक बंगलादेश र हङकङका यू–१९ टोली छन् ।

एसीसी यू–१९ एसिया कप: नेपालको भारतसँग परीक्षा

समूह ‘ए’ का खेलहरू ढाका र समूह ‘बी’ का खेलहरू चट्गाउँमा हुनेछन् । नेपालले भारतसँग ढाकाको बीकेएसपी ३ मैदानमा खेल्नेछ । नेपालले अफगानिस्तानसँग सोमबार र यूएईसँग मंगलबार बिकेएसपी ४ मैदानमा खेल्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

भारत प्रतियोगिताको प्रवल दाबेदार र अफगानिस्तान अघिल्लो वर्ष मलेसियामा सम्पन्न पछिल्लो यू–१९ एसिया कपको साबिक विजेता हो । पहिलो पटक यू–१९ एसिया कपको सेमिफाइनल पुगेको नेपालको चुनौतीलाई अफगानिस्तानले सजिलै पन्छाएको थियो । त्यसअघि नेपालले समूह चरणमा भारत यू–१९ माथि १९ रनको अविस्मरणीय जित हात पारेको थियो । कुनै पनि स्तरमा भारतमाथि नेपालको त्यो पहिलो विजय थियो ।

नेपाली यू–१९ का प्रशिक्षक विनोद दासले नेपालको पहिलो लक्ष्य सेमिफाइनल भएको जनाएका छन् । उनको यो आशा भारतमा अघिल्लो महिना भएको चार टिमसम्मिलित यू–१९ क्रिकेटमा अफगानिस्तानमाथि नेपालको २५ रनको जितपछि आएको हो । नेपालले अफगानिस्तानलाई समूह चरणको अन्तिम खेलमा विजय हात पारे पनि तेस्रो स्थानको प्ले–अफमा अफगानिस्तानले नेपाललाई ७१ रनले पराजित गरेको थियो ।

त्यसैले भारतसँगको खेल नेपाललाई अफगानिस्तानसँगको खेलअगाडि आफूलाई निखार्ने अवसर बन्न सक्छ । गत वर्ष भारतमाथि विजय हात पारे पनि शनिबार नेपाली टोलीले त्यही नतिजा दोहोर्‍याउने सम्भावना निकै न्युन छ । नेपालको वर्तमान यू–१९ टोली निकै नयाँ रहेको छ । भारतमा तीन साताअघि खेलेको टोलीबाट नेपालले चार खेलाडी परिवर्तन गरेको छ ।

राष्ट्रिय टोलीबाट खेल्दै आएका ब्याट्सम्यान रोहित पौडेलसहित माथिल्लोक्रमका ब्याट्सम्यान रवीन्द्रजंग शाही, देव्रेहाते स्पिनर सूर्य तामाङ र मध्यम गतिका बलर नन्दन यादवलाई नेपाली यू–१९ टोलीमा समावेश गरिएको छ । उनीहरूलाई किशोर महतो, लोकेश बम, शम्साद आलम र विपिन रावललाई परिवर्तन गर्दै समावेश गरिएको हो ।

चार टिमसम्मिलित यू–१९ क्रिकेट प्रतियोगितामा भारतको यू–१९ टोलीले नेपाल यू–१९ लाई ८ विकेटले सजिलै पराजित गरेको थियो । लखनउको इकाना अन्तर्राष्ट्रिय रंगशालामा सन्दीप जोराले ६६ रन बनाए पनि नेपाल यू–१९ केवल ४५.५ ओभरमा १ सय ५६ रनमा अलआउट भएको थियो । भारत यू–१९ ‘ए’ ले २४.१ ओभरमै लक्ष्य पूरा गरेको थियो । ओपनर तृतराज दासले ८६ बल खेली ७ चौका प्रहार गरी ४६ रन बनाएका थिए ।

भारतको प्रतियोगिताले नेपाली खेलाडीलाई एक्सपोजर गराएको हुनाले यसपल्ट ब्याटिङमा सुधार हुने अपेक्षा प्रशिक्षक दासले राखेका छन् ।

प्रकाशित : आश्विन १३, २०७५ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?