कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अन्तत: लिग हुने

सुबास हुमागाईं

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) ले ५ वर्षको अन्तरालपछि सहिद स्मारक ‘ए’ डिभिजन लिग असोज १३ गतेबाट नै सुरु गर्ने निर्णय गरेको छ ।

अन्तत: लिग हुने

आइतबार सातदोबाटोस्थित संघ परिसरमा आयोजित कार्यक्रममा लिग आयोजक समितिले १४ टोली सहभागी लिगमा रेलिगेसनको प्रावधानबिना नै सञ्चालन गर्ने अन्तिम निर्णय सार्वजनिक गरेको हो । पछिल्लोपटक २०७० सालमा मनाङ–मर्याङ्दी क्लबले ‘ए’ डिभिजन लिग जितेपछि एन्फाले प्रतियोगिता आयोजना गर्न सकेको थिएन । यसपटक ‘फुटबल बचाउन’ रेलिगेसनबिना नै लिग सञ्चालन गर्नुपर्ने अवस्था आएको लिग समितिका संयोजक विज्ञानराज शर्माले बताए ।

पुससम्म चल्ने लिगमा ९१ खेल हुनेछन् र लिगका सम्पूर्ण खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदान र हलचोकस्थित एपीएफ रंगशालामा सञ्चालन हुनेछ । लिग फुटबल (ए, बी र सी डिभिजन) का लागि विश्व फुटबलको सर्वोच्च संस्था फिफाले ६ लाख ८८ हजार अमेरिकी डलर सहयोग गरेको पनि एन्फाले जानकारी दियो । यसबाहेक एन्फाले लिगको बजार व्यवस्थापन अधिकार १ करोड रुपैयाँमा रामसर मिडिया प्रालिलाई बेचेको छ । टेलिभिजन प्रसारण अधिकारबारे भने संघ अझै पनि छलफलमा रहेको कार्यक्रममा जानकारी दिइयो ।

यसपटक पुरस्कार राशिमा समायोजन गर्दै ५ करोड ८० लाख अनुमानित लागतमा राउन्ड रोबिन प्रणालीमा लिग हुने भएको हो । एन्फाले सहभागी सबै टोलीलाई तयारी खर्चबापत २० लाख रुपैयाँ प्रदान गर्नेछ । लिगको विजेताले ५० लाख, उपविजेताले ३५ लाख र तेस्रो स्थान हासिल गर्नेले २५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

चौथोदेखि छैटौं स्थान हासिल गर्नेले क्रमश: १५, ७ र ५ लाख रुपैयाँ पाउनेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, डिफेन्स, मिडफिल्ड र फरवार्डले मोटरसाइकल प्राप्त गर्नेछन् भने प्रत्येक खेलका म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् । यसअघि ‘ए’ डिभिजन लिगको विजेताले ७५ लाख तथा राष्ट्रिय लिग विजेताले १ करोड रुपैयाँ प्राप्त गरेका थिए । वर्तमान कार्यसमितिले विजेतालाई मात्र भन्दा पनि समग्र सहभागी टोलीलाई समेटेर लिगको पुरस्कारमा समायोजन गरेको बताएको छ ।

विदेशी खेलाडीको हकमा एन्फाले यसपटक नयाँ प्रावधान ल्याएको छ । हरेक क्लबले अधिकतम ४ विदेशी खेलाडी अनुबन्धन गर्न पाउनेमा त्यसमध्ये १ दक्षिण एसियाली हुनुपर्ने प्रावधान रहेको छ । ३ वा सोभन्दा कम खेलाडीको हकमा भने दक्षिण एसियाली हुनुपर्ने छैन । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले दक्षिण एसियाली फुटबल विकासका लागि संघले यो कदम चालेको र अन्य दक्षिण एसियाली राष्ट्रले पनि यस कदमलाई स्वागत गरेको बताए ।

यसपटक तीन नयाँ क्लबले ‘ए’ डिभिजन खेल्दैछन् । समयमै ‘ए’ डिभिजन हुन नसक्दा दुई पटक बढुवा भएका क्लब एकैपटक ‘ए’ डिभिजन लिग खेल्दैछन् । २०७० कै ‘बी’ डिभिजनमा बढुवा भएको ब्रिगेड ब्वाइज क्लबसँगै गत वर्ष भएको ‘बी’ डिभिजन लिगमा शीर्ष दुई स्थान हासिल गरेका च्यासल युथ क्लब र न्युरोड टिम (एनआरटी) लिगमा प्रतिस्पर्धा गर्दैछन् । यसपटक रेलिगेसन नहुने भएपछि अर्को वर्ष बढुवा हुने टोलीसहित ‘ए’ डिभिजनमा क्लबको घुइँचो लाग्ने पक्का छ । एन्फाले छिट्टै उचित कदम नचालेमा लिगको पिरामिडमा असर पर्ने देखिन्छ ।

पछिल्लो पटक ‘ए’ डिभिजन नखेलेर रेलिगेसनमा परेको एनआरटी लगत्तै आयोजना हुन लागेको लिगमा खेल्नुले पनि लिगको अवधारणा फितलो रहेको प्रस्ट हुन्छ । विगतमा तल्लो डिभिजन हुँदै माथिल्लोसम्म आइपुग्ने लिग कार्यक्रम यसपटक भने माथिल्लोमै अडिएको छ । एन्फाले छिट्टै तल्लो श्रेणीको लिगबारे पनि कार्यक्रम घोषणा गर्ने बताउँदै आएको छ ।

यसपटक विगतमा टाउको दुखाइ बन्दै आएको खेल मिलेमतोको समस्या निर्मूल पार्न एन्फाले विशेष कदम चाल्ने भएको छ । यसका लागि एन्फाले नेपाल प्रहरीका पूर्वडीआईजी सुदीप आचार्यलाई इन्टेग्रिटी अफिसरका रूपमा नियुक्त गरिसकेको छ । आचार्यले दिल्लीमा आयोजित विशेष कोर्समा सहभागी भएर आएपछि लिग अवधिका लागि विशेष समिति निर्माण गर्ने एन्फाले जनाएको छ । यसबाहेक खेल हुने हरेक मैदानमा विशेष क्यामेरा जडान गर्ने एन्फाको तयारी छ ।

पूरा पैसा पाएमात्र बंगबन्धु खेल्ने
बंगलादेश फुटबल महसंघ (बीएफएफ) को आयोजनामा असोज १५ गतेदेखि बंगबन्धु कप २०१८ आयोजना हुँदैछ । नेपालले सन् २०१६ मा यस प्रतियोगिताको उपाधि जितेपछि पाउनुपर्ने पुरस्कार रकम ५० हजार अमेरिकी डलर पूरा नपाएपछि नेपालको सहभागिता अन्योलमा थियो । बीएफएफले पुरस्कार राशिको आधा रकम तिरिसकेको छ भने २५ हजार डलर अझै तिरेको छैन ।

प्रतियोगिताको खेल तालिका सार्वजनिक भइसक्दा पनि एन्फाले असोज १२ सम्म रकम पठाउन बीएफएफलाई अल्टिमेटम दिएको छ । एन्फा महासचिव इन्द्रमान तुलाधरले बाँकी रहेको २५ हजार डलर असोज १२ गतेसम्म तिरे मात्र नेपाली टोली बंगलादेश जाने प्रस्ट पारे ।

प्रकाशित : आश्विन १, २०७५ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?