१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नेपालको प्रतिद्वन्द्वी माल्दिभ्स

साफ च्याम्पियनसिप

ढाका — फुटबललाई त्यसै निर्दयी खेल भनिएको होइन । यो वास्तवमै कति निर्दयी छ, श्रीलंकालाई सोधे हुन्छ । अनि फुटबल कसैका लागि भाग्यमानी पनि हुनसक्छ । फुटबलले कसरी भाग्यको ढोका खोल्छ, यो भने माल्दिभ्सभन्दा अरू कसलाई अनुभव होला त ?

नेपालको प्रतिद्वन्द्वी माल्दिभ्स

साफ च्याम्पियनसिपको समूह ‘बी’ मा आइतबार भारतले माल्दिभ्सलाई २–० ले हरायो । यसअघि भारतले श्रीलंकालाई पनि सोही अन्तरले हराएको थियो ।

माल्दिभ्स र श्रीलंकाको खेल भने गोलरहित बराबरीमा टुंगिएको थियो । यस्तोमा यी दुई समान अंक र गोल अन्तरमा रहे । त्यसैले भारतसँगै यो समूहबाट सेमिफाइनल पुग्ने टिमको निर्णय ‘टस’ बाट भयो र यसमा भाग्यमानी रह्यो माल्दिभ्स । टसको निर्णय आएलगत्तै माल्दिभ्सका खेलाडीले मैदानमै खुसी मनाए । अर्कोतर्फ मैदानमा उपस्थित केही श्रीलंकाली खेलाडीको अनुहारमा स्पष्ट निरासा देखियो । आखिर उनीहरूले के नै गर्नसक्थे ।

बुधबार हुने पहिलो सेमिफाइनलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ भने अर्को खेलमा भारतको प्रतिद्वन्द्वी हुनेछ पाकिस्तान । साफ च्याम्पियनसिपका प्रत्येक संस्करणमा माल्दिभ्सले अन्तिम चारमा स्थान बनाएको छ र यसपल्ट पनि यो टिम निरास हुनुपरेन । ‘हामी साँच्चै भाग्यमानी छौं । भाग्यले हामीलाई सेमिफाइनलसम्म पुर्‍याएको छ,’ माल्दिभ्सका प्रशिक्षक पिटर सेगरटले भने, ‘तर म दाबी गर्न सक्छु, माल्दिभ्स सेमिफाइनलको पूरा हकदार छ ।’

नेपाल बलियो टिम
क्रोएसियामा जन्मेर जर्मन बसेका सेगरटले सेमिफाइनल प्रतिद्वन्द्वीबारे भने, ‘सबैभन्दा पहिला म नेपाली फुटबल टिमलाई बधाई दिन चाहन्छु । नेपालले जसरी सेमिफाइनल यात्रा तय गरेको छ, त्यो गज्जब छ । पहिलो खेल हारेर पनि जसरी नेपाल अन्तिम चारमा पुगेको छ, त्यसले टिममा रहेको गहिराई देखाउँछ । सेमिफाइनलमा हामीलाई सजिलो हुनेछैन, किनभने नेपालले निकै राम्रो फुटबल खेलिरहेको छ र यो बलियो टिम हो ।’

उनले नेपाल र नेपालको फुटबलबारे धेरै सुनेको पनि दाबी गरे । ‘मलाई नेपालबारे धेरै थाहा छ । यतिमात्र होइन, मैले नेपाली फुटबलबारे पनि धेरै जानकारी राखेको छु । नेपाली फुटबलको लामो इतिहास छ । त्यसैले नेपालप्रति मेरो सम्मान छ । हामीले नेपालविरुद्धको खेलमा निकै सावधानी अपनाए खेल्नेछौं ।’ उनको थप तर्क थियो, ‘नेपाल सुन्दर देश हो, यसले खेल्ने फुटबल पनि सुन्दर छ ।’

नेपालका लागि माल्दिभ्स पुरानो प्रतिद्वन्द्वी हो । सुरुआती वर्षमा नेपालले माल्दिभ्सलाई सजिलै हराउने गरे पनि पछिल्लो समय भने माल्दिभ्स नेपालमाथि हाबी छ । साफ च्याम्पियनसिपको इतिहासमा नेपालले अहिलेसम्म माल्दिभसविरुद्ध ६ पल्ट खेलेकोमा कुनै पनि खेलमा जित निकाल्न सकेको छैन । त्यसमध्ये नेपाल ४ खेलमा पराजित छ भने २ खेल बराबरीमा टुंगिएको छ । पछिल्लो दुई खेल बराबरीमा टुंगिएको हो ।

पुराना दिन सम्झँदै कन्स्टाइनटिन
भारतीय प्रशिक्षक स्टेफेन कन्स्टाइनटिनले लगातार दोस्रो जितपछि आयोजित पोस्टम्याच कन्फ्रेन्समा आफ्नो टिमको सफलताभन्दा नेपालमा केन्द्रित हुन चाहे । उनले नेपाली टिमको प्रशिक्षकका रूपमा दुई वर्ष नेपालमा बिताएका थिए । उनकै नेतृत्वमा नेपालले आठौं दक्षिण एसियाली खेलकुदमा रजत पदक जितेको थियो । ‘ती दिन म कसरी भुल्न सक्छु र ? ती दिन मेरो जीवनकै सबैभन्दा सम्झनलायक थिए, ती सबै भित्री मनमा छ,’ उनले भने ।

उनले थपे, ‘अहिले नेपाली टिमले निकै राम्रो खेलिरहेको छ । मेरो समयकै खेलाडी बालगोपाल महर्जन अहिले प्रशिक्षक छन् । म उनका लागि निकै खुसी छु । उनको नेतृत्वमा नेपालले जसरी यसपल्ट साफ च्याम्पियनसिपमा खेलेको छ, त्यो वास्तवमै प्रशंसा गर्न लायक छ । हुनसक्छ, फाइनलमा भारतले नेपालविरुद्ध खेल्नुपर्नेछ ।’

प्रकाशित : भाद्र २५, २०७५ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?