'नेपाल सेमिफाइनल प्रवेश गर्नु ठूलो उपलब्धि'

ढाका — साफ च्याम्पियनसिप नेपालले खेल्ने सबैभन्दा ठूलो फुटबल प्रतियोगिता हो र महत्त्वको हिसाबले यसलाई विश्वकप मान्ने हो भने नेपाली राष्ट्रिय टिमले शनिबार बंगबन्धु रंगशालामा नयाँ इतिहास रच्यो ।

'नेपाल सेमिफाइनल प्रवेश गर्नु ठूलो उपलब्धि'

पाकिस्तानविरुद्ध पहिलो खेल गुमाएर कमजोर सुरुआत गरेको नेपालले प्रतियोगिताबाट बाहिरिने डरबाट गुज्रँदै सेमिफाइनल प्रवेश गरेको छ । यसलाई प्रतियोगिताको उत्कृष्ट पुनरागमनका रूपमा सम्झिने छ । नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनल पुगेको यो चौथोपल्ट मात्र हो ।

बालगोपाल महर्जन नेपाललाई साफ च्याम्पियनसिपको सेमिफाइनल पुर्‍याउने पहिलो नेपाली प्रशिक्षक पनि भएका छन् । शनिबारै समूह ‘ए’ को पहिलो खेलमा पाकिस्तानले भुटानलाई हराएपछि नेपालका लागि बंगलादेशलाई जित्नु अनिवार्य बनेको थियो, अन्तिम चारमा प्रवेशका लागि । तीनै टिमको समान ६ अंक रह्यो । यस्तोमा पुछारमा रहने टोलीसँग खेलेको नतिजाको गणना हुँदैन थियो र समान अंक बोकेका तीन टोलीबीच खेलेको नतिजालाई आधार मान्दा नेपाल शीर्ष स्थानमा रह्यो, पूर्ण हकदार हुँदै । अन्तिम खेलमा नेपालसामु जितबाहेक अरू विकल्प थिएन ।पाकिस्तान भने समूह उपविजेता रह्यो । पहिलो दुई खेल जितेको घरेलु टोली बंगलादेशलाई नेपालसँगको एउटै हार प्रतियोगिताबाट बाहिरिन काफी बन्यो ।

धन्यवाद आलम
बंगलादेशका गोलरक्षक उनै मोहम्मद सहिदुल आलम । उनीविरुद्ध उस्तै गोल । त्यसै भनेको होइन, इतिहास आफैं दोहोरिन्छ भनेर । सन् २०११ मा नयाँ दिल्लीमा गोलका नायक थिए, सागर थापा । उनले लगभग मध्यपंक्तिबाट गरेको प्रहार अविश्वसनीय रूपमा गोलमा परिणत भएको थियो । लगभग ७ वर्षपछि विमल घर्तीमगरले बंगबन्धु रंगशालामा यस्तै गोल गरे, ३३ औं मिनेटमा । सायद यसपल्ट दूरी केही कम थियो, ३५ यार्ड । आफू जहाँ हुनुपर्ने हो, त्यहाँबाट केही अगाडि आएका आलमले बल पकडमा राख्न सकेनन् ।

बल उनको हातबाट छुट्दै पोस्टको दिशा लिएको थियो । सुरुमा यो गोललाई नेपाली खेलाडी नै विश्वस्त हुन सकेनन् । सागरले गोल गरेयता त्यति बेला भनेका थिए, ‘यो उपलब्धि नेपाली फुटबल समर्थकका लागि समर्पित गर्न चाहन्छु ।’ यसपल्ट विमलले पनि भने, ‘यो उपलब्धि नेपाली फुटबल समर्थकका लागि हो ।’ तर यी दुवै गोलका लागि धन्यवाद त बंगलादेशी गोलरक्षक आलमलाई पनि दिनैपर्छ । लामो प्रहारमा बल नियन्त्रण राख्न नसक्नु आलमको सबैभन्दा ठूलो कमजोरी मानिन्छ ।

ठूलो उपलब्धि
‘नेपाली फुटबलका लागि यो ठूलो उपलब्धि हो,’ नेपाली टोलीका मुख्य प्रशिक्षक महर्जनले भने, ‘पहिलो खेल गुमाएर पनि हामी जसरी प्रतियोगितामा फर्कन सफल रह्यौं, त्यसले देखाउँछ हाम्रो टिमको विशेषता । यसले हाम्रो बलियो मानसिकता पनि प्रस्ट पार्छ । यो जित र सेमिफाइनल यात्राका लागि म निकै खुसी छु ।’ पछिल्ला दुई संस्करणको असफलतायता नेपाल अन्तिम चार पुगेको हो । यसअघि नेपाल सन् १९९९, २०११ र २०१३ मा सेमिफाइनल पुगेको थियो । यता विमलको यो आठौं व्यक्तिगत गोल हो । साफ च्याम्पियनसिपमा उनको गोलसंख्या ४ पुगेको छ । नेपालका लागि दोस्रो गोल नवयुग श्रेष्ठले ९० औं मिनेटमा गरे । विशाल राईको थ्रु बलमा नवयुगले सुन्दर गोल गरे । उनी नै खेलका ‘मोस्ट भ्यालुएबल प्लेयर’ पनि भए । नेपालले बंगलादेशलाई हराएको यो लगातार तेस्रोपल्ट हो, तीनै खेल साफ च्याम्पियनसिपका रहे । संयोगले तीनै खेलमा नेपालले कुनै गोल पनि खर्चेन ।

नवयुगको भने यो छैटौं व्यक्तिगत गोल हो । उनले पोस्ट म्याच कन्फ्रेन्समा भने, ‘लामो समयपछि नेपालका लागि गोल गर्न सकेकोमा म खुसी छु । पहिलो खेलमा सुरुदेखि खेल्न पाएर पनि मैले त्यसपछिका दुई खेलमा बेञ्चमा बस्नुपर्‍यो । तर आज जति मौका पाए, त्यसमा राम्रो गर्न सकें । आजको खेलपछि मैले सिद्ध गरेको छु, म बेन्चको खेलाडी होइन ।’ पोस्ट म्याच कन्फ्रेन्समा सहायक प्रशिक्षक किरण श्रेष्ठले नेपालले आफ्नो योजनाअनुसार खेलेको र त्यसैले जित सम्भव भएको दाबी गरे ।

बंगलादेशका लागि दुर्भाग्य
लगातार सुरुआती दुई खेल जितेर पनि छनोट हुन असफल रहनु बंगलादेशका लागि दुर्भाग्य रह्यो । नेपालको ठीकविपरीत बंगलादेश अन्तिम दिनको खेलअगाडिसम्म सेमिफाइनल पुग्ने निश्चित संघारमा थियो । प्रशिक्षक जेमी डेले बंगलादेशका लागि त्यस्तो स्थितिबाट पनि सेमिफाइनल पुग्न नसक्नु दुर्भाग्य नै माने । उनले भने, ‘यो जितको श्रेय नेपाललाई दिनैपर्छ । सायद हाम्रा खेलाडी बढी नै दबाबमा आए । सुरुका दुई खेलमा जस्तो प्रदर्शन भयो, त्यस्तै खेल हामीले दोहोर्‍याउन सकेनौं ।’

यसअघि भएको समूहको अर्को खेलमा पाकिस्तानले भुटानलाई ३–० ले हराएको थियो । भुटानको यो लगातार तेस्रो हार हो र शून्य अंकमा अन्तिम स्थानमा रह्यो । त्यस खेलअगाडि भुटानको सेमिफाइनल पुग्ने झिनो सम्भावना भए पनि प्रशिक्षक ट्ेरभर मोर्गनले लगभग आफ्नो दोस्रो रोजाइका खेलाडी मैदानमा उतारे । नेपालविरुद्धको खेलबाट पाँच परिवर्तन गर्दै उनले बेन्चका खेलाडीलाई मौका दिए । पाकिस्तानको जितमा भने मोहम्मद रियाज, हसन नावेद र अहमद फाहिमले गोल गरे । नेपाली टोली : किरण लिम्बू, सुमन अर्याल, आदित्य चौधरी, अनन्त तामाङ, दिनेश राजवंशी, सुजल श्रेष्ठ, सुनील बल, नीराजन खडा (अन्जन विष्ट ६२), रोहित चन्द, भरत खवास (नवयुग श्रेष्ठ ६७), विमल घर्तीमगर (विशाल राई ८१) ।

प्रकाशित : भाद्र २४, २०७५ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?