कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

जोकोभिच र डेल पोट्रो फाइनलमा

यूएस ओपन
एएफपी

न्युयोर्क — डिफेन्डिङ च्याम्पियन तथा विश्व नम्बर एक राफेल नडालले घुँडाको चोटका कारण सेमिफाइनल खेल बीचमै छाडेपछि अर्जेन्टिनाका हुँवा मार्टिन डेल पोट्रो शुक्रबार यूएस ओपन टेनिसको फाइनल पुगेका छन् । उनले उपाधि भिडन्तमा सर्बियाली नोभाक जोकोभिचको सामना गर्नेछन् ।

जोकोभिच र डेल पोट्रो फाइनलमा

सन् २००९ मा यस प्रतियोगिताको उपाधि जितेका तेस्रो वरीयताका डेल पोट्रो नाडालले खेल छाड्ने निर्णय लिँदा ७–६ (७/३), ६–२ ले अगाडि थिए । उनले अब दोस्रो उपाधिका लागि दुई पटक उपाधि जितिसकेका जोकोभिचको सामना गर्नेछन् । आठौं पटक फाइनल पुग्ने क्रममा जोकोभिचले जापानका केई निशिकोरीलाई ६–३, ६–४, ६–२ ले पराजित गरे ।

जोकोभिचले डेल पोट्रोविरुद्ध पछिल्लो १० वर्षमा १४ जित र ४ हार बेहोरेका छन् । सन् २००७ र २०१२ को यूएस ओपनमा जोकोभिच सोझो सेटमा विजयी रहेका थिए । ‘हामी पहिलोपल्ट ग्रान्डस्लाम फाइनलमा प्रतिस्पर्धा गर्दै छौं । म उनलाई एक खेलाडी र व्यक्तित्वको रूपमा धेरै सम्मान गर्छु । उनी निकै राम्रा मान्छे हुन्,’ चोटका कारण सन् २०१७ को प्रतियोगिता गुमाएका जोकोभिचले भने, ‘उनलाई विगतमा चोटले धेरै सताएको छ । तर मुख्य खेलमा उनले निकै राम्रो प्रदर्शन गर्छन् ।’

चोटका कारण खेल छाड्नुपरेका नडालले आफू दुखित भए पनि चोट ठूलो नभएको बताए । ‘मलाई यसरी चोट लगेर खेल छाड्नुपर्दा एकदम दु:ख लाग्छ,’ घुँडाको चोटले करिअरभर समस्या भोगेका नाडालले भने । उनले जनवरीमा भएको अस्ट्रेलियन ओपनको क्वाटरफाइनलमा पनि मारिन सिलिचविरुद्ध पाँचौं सेटमा चोटका कारण खेल छाडेका थिए । ‘जब कोर्टमा एक खेलाडी खेल्छन् र अर्को खेलाडी छेउमा स्वास्थ्य परीक्षण गरिरहेको हुन्छ भने त्यो टेनिस खेल हुन सक्दैन,’ नडालले थपे ।

यूएस ओपनको चौथो तथा समग्रमा १८ औं ग्रान्डस्लाम उपाधि पछयाइरहेका नडालले सेमिफाइनलसम्म आइपुग्दा १६ घण्टा कोर्टमा बिताए । क्वाटरफाइनलमा डोमिनिक थिएमलाई पराजित गर्न उनलाई ५ घण्टा लागेको थियो । शुक्रबार पनि उनले दायाँ घुँडामा दुई पटक ब्यान्डेज लगाए । दोस्रो सेटको समाप्तिपछि भने उनले निरन्तरता दिन नसक्ने भन्दै खेल छाडे । ‘यसरी खेल जित्न पक्कै खुसी लाग्दैन । मलाई नडालसँग खेल्न मनपर्छ । उनी खेलमा योद्धा जसरी उत्रन्छन् र उनलाई पीडामा देख्न कठिन हुन्छ,’ दोस्रोपल्ट ग्रान्डस्लाम फाइनल खेल्न लागेका २९ वर्षीय डेल पोट्रोले भने ।

‘फेरि एकपटक फाइनल पुग्नु मेरा लागि धेरै ठूलो सफलता हो,’ नडालविरुद्ध छैटौं जित दर्ता गर्दै डेल पोट्रोले भने, ‘मैले अर्को फाइनल खेल्छु भन्ने अपेक्षा गरेको थिइनँ । सन् २००९ मा नडाल र फेडेररलाई पराजित गर्दै उपाधि जित्दा म सानै थिएँ । अहिले बुढो भएको छु ।’

विम्बल्डन उपाधि जितेका जोकोभिचले ११ औं पटक यूएस ओपन सेमिफाइनल खेल्ने क्रममा निशिकोरीविरुद्ध १७ खेलमा १५ औं जित दर्ता गरे । ३१ वर्षीय जोकोभिचले १४ औं उपाधि पछ्याउने क्रममा सहज जित पाए । उनले यस उपाधि जितेमा सर्वा्धिक ग्रान्डस्लाम उपाधि जित्ने सूचीमा अमेरिकी पिट साम्प्राससँग बराबरी गर्नेछन् ।

प्रकाशित : भाद्र २४, २०७५ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?