१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

साफ च्याम्पियनसिप: प्रिय प्रतिद्वन्द्वी भुटानमाथि जित

ढाका — नेपालले भुटानको सामना गर्दा यति धेरै तनाव कहिले पनि महसुस गरेको थिएन । नेपाललाई डर थियो, कतै साफ च्याम्पियनसिप फुटबल २०१८ मा नेपालले भुटानविरुद्ध कुनै अकल्पनीय नतिजा आत्मसात गर्ने त होइन ?

साफ च्याम्पियनसिप: प्रिय प्रतिद्वन्द्वी भुटानमाथि जित

तर जति बेला यी दुई टिमबीचको खेल सकियो, नतिजा नेपालको पक्षमा रह्यो, त्यो पनि ४ गोल अन्तरको । र, यससँगै प्रमाणित भएको छ, नेपालका लागि भुटान किन प्रिय प्रतिद्वन्द्वी हो भनेर । नेपालले अहिलेसम्म कहिल्यै भुटानविरुद्ध हारमात्र होइन, बराबरी पनि बेहोर्नुपरेको छैन ।

नेपालले बिहीबार प्राप्त जितसँगै भुटानमाथि लगातार १३ औं जित पनि दर्ता गरेको छ ।
यो जित किन पनि सुखद रह्यो भने यसले अब नेपालको सेमिफाइनल पुग्ने समीकरण फेरि जीवन्त भएको छ । फेरि यो खेललाई धेरै अरू कारणले पनि सम्झिने छ ।

यसमा प्रमुख कारण रहनेछ, कप्तान विराज महर्जनको नेपालका लागि सर्वाधिक ६९ आैं पल्ट खेलेको कीर्तिमान । यससँगै उनले पूर्वकप्तान राजुकाजी शाक्यको नाममा रहेको ६८ क्यापको उपलब्धि पनि उछिनेका छन् ।

समूह ‘ए’ कै अर्को खेलमा बंगलादेशले पाकिस्तानलाई १–० ले हरायो । यस नतिजाले सेमिफाइनल पुग्ने दुई टिमको निर्णय खुला भएको छ । बंगलादेश ६ अंकसहित शीर्षस्थानमा छ । उसको पनि अन्तिम चार पुग्ने सम्भावना निश्चित भएको छैन ।

नेपाल र पाकिस्तान ३–३ अंकमा छन् । अब अन्तिम लिग चरणको खेलमा पाकिस्तानले भुटान र बंगलादेशले नेपालको सामना गर्नेछन् । भुटान भने २ हारसँगै बाहिरिने संघारमा पुगेको छ ।

गोलपछि खुसी साट्दै नेपाली खेलाडी  ।

भुटान भनेपछि मानसिक बलियो
साँच्चै भुटान भनेपछि नेपाल किन विजयी रहन्छ ? यसमा नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनको प्रतिक्रिया छ, ‘भुटान भनेपछि सायद हामी मानसिक रूपमा बलियो हुन्छौं । भुटानी फुटबलले पछिल्लो समय प्रगति गरेको सुनेको छु । तर अझै पनि भुटानको फुटबल हाम्रो स्तरमा आइपुगेको छैन ।’

खेलबारे भने उनको प्रतिक्रिया थियो, यो खेल जित्नैपर्ने थियो, त्यसैले जितका लागि खेलियो । उनले आफ्ना तीन प्रमुख खेलाडी विराज, भरत खवास र नवयुग श्रेष्ठलाई बेन्चमा राखेर खेलाउने जोखिम उठाएका थिए ।

‘टिमका लागि नाम ठूलो होइन, हाम्रा लागि सबै समान खेलाडी हुन्,’ उनले भने, ‘आज जित्नैपर्ने हुनाले त्यसैअनुसार रणनीति बनायौं । टिमले त्यसैअनुसार खेल्यो पनि । पाकिस्तानविरुद्धका भूल आजको खेलमा खेलाडीले दोहोर्‍याएनन् ।’ महर्जनले टिमको नेतृत्व गर्ने अवसर पनि गोलरक्षक किरण चेम्जोङलाई दिए । उनले नेपाली टिमको नेतृत्व गरेको यो पहिलोपल्ट हो । उनले यसअघि एसियाली खेलकुदमा पनि यू–२३ टिमको कप्तानी गरेका थिए ।

सुनील बल (९) बल अगाडि बढाउँदै ।

नयाँ नायक सुनील
नेपालले गरेको ४ गोलमध्ये दुईमा सुनील बलले सहयोगी भूमिका निभाए भने एक गोल आफैंले गरे । एन्फा एकेडेमीका उत्पादन सुनीलले भुटानविरुद्ध तेस्रो क्याप मात्र जितेनन्,
आफ्नो खेलजीवनकै सबैभन्दा सम्झनलायक खेल खेले ।

पहिलो ‘स्टार्टिङ लाइनअप’ मा अवसर पाएका सुनीलले यस्तो खेलका लागि कल्पना गरेको बताए । ‘आज मैले मौका पाए र त्यसलाई सदुपयोग गरें । आउने दिनमा यस्तो अवसर पाएँ भने अझ राम्रो गर्ने प्रयास गर्नेछुं ।’

नेपालले २१ औं मिनेटमा गोल गरेको थियो । सुनीलको कर्नरमा अनन्त तामाङले हेडबाट सजिलै गोल गरे । राष्ट्रिय टोलीका लागि अनन्तको यो दोस्रो गोल रह्यो । दोस्रो गोल ७० औं मिनेटमा सम्भव भयो, जति बेला सुनीलले पेनाल्टीमा भुटानी गोलरक्षक छिरिङ डेन्डुपले राम्रोसँग नियन्त्रण गर्न नसकेको बललाई पोस्टको दिशा दिए । डेन्डुपले विमल घर्तीमगरको पेनाल्टी रोके पनि त्यसलाई राम्रोसँग नियन्त्रणमा लिन सकेनन् । तेस्रो गोल भने ७९ औं मिनेटमा भयो र यो भरत खसासको व्यक्तिगत उत्कृष्ट गोल रह्यो ।

लगभग मध्यभागबाट बल अगाडि बढाउँदै उनले नेपालका लागि दसौं व्यक्तिगत गोल गरे । नीराजन खड्काले हेडबाट गरेको ८८ औं मिनेटमा फेरि एकपल्ट सुनीलले नै कर्नरबाट पास उपलब्ध गराए । नीराजनको पनि यो नेपालका लागि पहिलो व्यक्तिगत गोल हो ।

टिममा पाँच वर्षपछि फर्केका नीराजनले आफ्नो चयनलाई सही साबित गरे । अर्कोतर्फ ८४ औं मिनेटमा वैकल्पिक खेलाडीका रूपमा विराजले भने, ‘व्यक्तिगत उपलब्धिमा म खुसी छुं, तर मेरा लागि टिमको जित अझ महत्त्वपूर्ण छ ।’

समर्थक  ।

फिक्का फिक्का खेल
नेपालविरुद्धको हारमा सबैभन्दा निराश रहे भुटानी प्रशिक्षक ट्ेरभर मोर्गन । खेलबाट उनको एक वाक्यको प्रतिक्रिया थियो, ‘नेपाल आज ४ गोलले विजयी रह्यो, योबाहेक खेलको अर्को प्रतिक्रिया हुन सक्दैन ।’ अनि यसको कारण ? उनले भने, ‘सायद हामीले यति माथिल्लो स्तरमा खेल्न पाएका थिएनौं कि ?’

भुटानको हारको सबैभन्दा प्रमुख कारण १० खेलाडीमा सीमित रहनु पनि रह्यो । दोहोरो पहेँलो कार्डसँगै निमा वाङ्दी ६९ औं मिनेटमा मैदान छाड्न बाध्य रहे । उनले नै नीराजनलाई फाउल गरेर नेपाललाई पेनाल्टीको अवसर दिएका थिए ।

नेपाली टिम : किरण चेम्जोङ लिम्बु, अनन्त तामाङ, आदित्य चौधरी, विशाल राई (नीराजन खड्का ६३), सुनील बल, विमल घर्तीमगर, अन्जन विष्ट (भरत खवास ७६), सुजल श्रेष्ठ, दिनेश राजवंशी (विराज महर्जन ८४), रोहित चन्द र सुमन अर्याल ।

समूह “ए”
टिम खेल जित बराबरी हार गोल अंक
बंगलादेश २ २ – – ३–० ६
नेपाल २ १ – १ ५–२ ३
पाकिस्तान २ १ – १ २–२ ३
भुटान २ – – २ ०–६ ०

प्रकाशित : भाद्र २२, २०७५ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?