किन दौडिएनन् यामसाजन ?

दोषी भए कारबाही हुन्छ : सेभ द मिसन

जाकार्ता — नेपाली धावक यामसाजन सुनार १८ औं एसियाली खेलकुदको २०० मिटर दौडमा सहभागी नै नभई स्वदेश फर्किएका छन् । यसलाई नेपाली एसियाड टोलीका ‘सेभ द मिसन’ केशवकुमार विष्टले खेलाडीको गैरजिम्मेवारीपूर्ण कार्य भनेका छन् ।

किन दौडिएनन् यामसाजन ?

उक्त इभेन्टको मंगलबार बिहान मुख्य रंगशाला जेरोला बुङकार्नोमा प्रतिस्पर्धा हुँदै थियो । हिट नम्बर ४ को सूचीमा यामसाजनको नाम थियो । तर लेन नम्बर ५ मा नाम रहेका उनी अनुपस्थित रहे ।


उनले नेपाली टिम अफिसियलसामु आफू खेल्न नसक्ने भनेर सोमबार साँझमात्र लिखित कारण दिएका थिए । शनिबार १०० मिटर दौडमा प्रतिस्पर्धा गरेका यामसाजनले खुट्टाको मांसपेसीमा समस्या आएर २०० मिटर दौड्न असमर्थ रहेको कारण पेस गरेका छन् । नेपाली मेडिकल टिमसँग कुनै सरसल्लाह नगरेकाले उनको समस्याप्रति सेभ द मिसन विष्टसमेत विश्वस्त छैनन् । विष्टले भने, ‘१०० मिटर दौडेपछि उसलाई मैले भेटेको छु । कुनै समस्या छ भनेर सोधेको छु । सब ठिक भनेका छन् । म नै आश्चर्यमा परेको छु । हिजो दिउँसोसम्म उनले आफ्नो समस्याबारे हाम्रा चिकित्सकसँग परामर्श गरेका छैनन् । खेल्न सक्ने–नसक्ने भनेका छैनन् । एकैचोटि बेलुका खेल्न सक्दिनँ भनेका छन् ।’


यामसाजनले म घाइते भएँ, खेल्न सक्दिनँ भनेर लिखित पत्र दिएपछि उनलाई अरू खेलाडीसँगै काठमाडौं पठाइएको विष्टले जानकारी गराए । उनले भने, ‘खेलाडीले खेल्न सक्दिनँ भनेपछि खेलाउने विषय नै भएन । इन्ज्युरी भएको हो होइन, मेडिकल रिपोर्टबाट निक्र्यौल होला । यदि खेलाडीले आफूखुसी खेल्न नचाहेको हो भने खेलाडी कारबाहीमा पर्छ ।


मेडिकल रिपोर्टले घाइते देखायो भने त्यहीअनुसार हुन्छ ।’ उनले दोषी खेलाडी, प्रशिक्षक, टिम म्यानेजर को हो छानबिन गरेपछि मात्र कारबाही अगाडि बढाउन सकिने बताए ।


शनिबार यामसाजनले १०० मिटरको हिट चरण ११.३९ सेकेन्डमा पूरा गरेका थिए । उनी आफ्नो टाइमिङ सुधार्न पनि असफल भए । उनको २०० मिटरमा भने २१.७५ सेकेन्डको टाइमिङ छ । इन्चोन एसियाडसमेत खेलेका उनले १२ औं दक्षिण एसियाली खेलकुदमा २२.३१ सेकेन्डमा दौड पूरा गरेका थिए ।


मंगलबार नखेल्ने भएपछि यामसाजनसहित एथलेटिक्सका चार खेलाडी स्वदेश फर्किएका छन् । सोमबार अबेर ८०० मिटर दौडमा राष्ट्रिय कीर्तिमान कायम गरेका सोमबहादुर कुमाल, म्याराथन धावकद्वय कृष्णबहादुर बस्नेत र गोपीचन्द्र पार्की फर्किए ।


सोमबहादुरले धनीराम चौधरीले मद्रास साफ खेलकुदको कीर्तिमान तोड्दै १ मिनेट ५०.२५ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाएका थिए । सन् १९९५ को साफमा धनीरामले १ मिनेट ५०.६० सेकेन्डको कीर्तिमान रचेका थिए । एथलेटिक्समा ६ खेलाडीले सहभागिता जनाएकोमा दुई महिला खेलाडी छन् ।


८०० मिटरमा उत्कृष्ट प्रदर्शन गरेकी सरस्वती भट्टराईको १५०० मिटर दौडमात्र बाँकी छ । उक्त इभेन्ट बुधबार हुनेछ । म्याराथनमा पनि दुवै धावकले दूरी पार गर्न सकेनन् । कृष्णबहादुरले ४० र गोपीचन्द्रले ३० किमिमा दौड त्यागेका थिए । खेलाडीले मांसपेसीमा समस्या आएर बीचमै दौड त्यागेको बताएका थिए ।


जारी एसियाडमा एथलेटिक्स टोलीसँग जोडिएर तीन घटना घटेको छ । यामसाजनको मात्र होइन विश्वरूपा बुढाले १० हजार मिटर दौड ट्रयाकमा पुगेर दौड्न पाइनन् । ४०० मिटरमा सोमबहादुरको दौड्ने इच्छा पूरा हुन सकेन । ८०० मिटरमा मात्र नाम दर्ता गराएका सोमबहादुरले दर्ता पाए ४०० मिटरमा पनि दौड्ने प्रयास गरेका थिए, तर सफल हुन सकेनन् ।


काठमाडौंबाट ५ र १० हजार मिटर दौड्ने भनेर आएकी विश्वरूपाको १० हजारमा भने नाम इन्ट्री नभएको देखियो । खेलाडी दर्ताको सम्पूर्ण जिम्मेवारी लिएको नेपाल ओलम्पिक कमिटी (एनओसी) विश्वरूपाको नाम दर्ता गरिए पनि आयोजकको कमजोरीले दौड सूचीमा उनको नाम छुटेको दाबी गर्‍यो । खेल सुरु हुनु अघिल्लो दिन पहिल्यै दर्ता भए पनि खेलाडीले खेल्ने इभेन्ट फरक परे फेरबदल गर्ने, राख्ने वा थप्ने कार्य टिम म्यानेजर मिटिङमा हुने गर्दछ । त्यो मिटिङमा एथलेटिक्सका पदाधिकारी चुकेको आरोप एनओसीको छ ।


यता सेभ द मिसन विष्ट एनओसीप्रति खनिए । विश्वरूपाको नाम दर्ताबारे उनले भने, ‘खेलाडीको इन्ट्री र डाटा मेन्टेन गर्ने काम एनओसीको हो । मलाई दिएको जवाफमा उहाँको नाम इन्ट्री भएको छ । तर गल्ती छ भने एनओसीकै छ । टिम म्यानेजरको कुनै गल्ती छैन ।’ एथलेटिक्समा बेथिति हुनुबारे विष्टले खेलाडीको ओलम्पिक छनोट हुने लोभले गर्दा भएको बताए । उनले, ‘खेलाडीलाई घाइते भएर ओलम्पिक छनोट भइँदैन कि भन्ने डर छ । त्यस लोभले गर्दा पनि हो जस्तो लाग्छ ।’


विश्वरूपाको प्रदर्शन सुधार
नेपाली धाविका विश्वरूपा बुढाले महिला ५ हजार मिटरमा दौडमा आफ्नो व्यक्तिगत प्रदर्शन सुधार गरेकी छन् । उनले १७ मिनेट २४.७८ सेकेन्डमा निर्धारित दूरी पार गर्दै प्रदर्शन सुधार गरिन् । यसअघि उनको उत्कृष्ट टाइमिङ १८ मिनेट ००.०१ को थियो । इभेन्टमा सहभागी १५ खेलाडीमध्ये विश्वरूपा १३ औं स्थानमा रहिन् । यस दूरीमा नेपालको राष्ट्रिय कीर्तिमान कान्छीमाया कोजूको नाममा १६ मिनेट ४९.९८ सेकेन्डको रहेको छ । उनले सन् २०१० ग्वाङझाउ एसियाडमा उक्त कीर्तिमान रचेकी थिइन् । मंगलबार बहराइनकी कल्कीदान बेफ्कादुले १५ मिनेट ८.०८ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण पदक जितिन् ।


भलिबलको ऐतिहासिक जित
नेपाली भलिबल टोलीले एसियाली खेलकुदमा पहिलो जित हात पारेको छ । पुरुष भलिबलमा सहभागिता जनाइरहेको नेपालले मंगलबार मंगोलियालाई ३–१ को सेटमा हराएको छ । नेपालले प्रतिस्पर्धात्मक खेलमा २६–२८, २५–१६, ३०–२८, २५–१९ को जित दर्ता गर्‍यो । समूह चरणको दुवै खेल हारेको नेपालले र्‍याकिङका लागि भएको प्रतिस्पर्धामा अब बिहीबार श्रीलंकासँग खेल्नेछ । यसअघि नेपाली भलिबल टोलीले बैंकक एसियाड १९७८, नयाँदिल्ली एसियाड १९८२ र सोल एसियाड १९८६ मा भाग लिएको थियो । त्यतिबेला एउटै सेट जित्न सकेको थिएन ।


३२ वर्षपछि एसियाडमा आएको नेपालको लक्ष्य नै र्‍याकिङ सुधार्ने रहेको छ । नेपाली टोलीका प्रशिक्षक जगदीश भट्टले एसियाडमा यो ऐतिहासिक जित रहेको बताए । उनले भने, ‘हामी लामो समयपछि एसियाडमा फर्केका छौं । हाम्रो लक्ष्य खेल जितेर र्‍याकिङ सुधार्ने थियो । त्यसका लागि प्रयास गर्दैछौं । देशको राष्ट्रिय खेलको मान्यता पाएका छौं । यसले गर्दा पनि यो जित महत्त्वपूर्ण जित हो ।’


कुराँस
६६ केजीमुनि उपेन्द्र थापाले पाकिस्तानका सैयद समिउल्लाहलाई पहिलो चरणमा हराए पनि अर्को खेलमा उज्वेकिस्तानका रुस्लान बुरिभसँग १०–० अंकले पराजित भए । राउन्ड अफ ३२ मा विश्व च्याम्पियनसिपको अनुभव बटुलिसकेका सैयदलाई १–० ले हराएका उपेन्द्रले बुरिभसँग सहजै खेल गुमाए ।


महिला ५२ केजीमुनि भगवती माझी भने चाइनिज ताइपेइकी चेनवेन टिसोउसँग एक मिनेट पनि टिक्न सकिनन् । एसियन इन्डोर तथा एसियन च्याम्पियनसिपकी पदकधारी ताइपेईकी खेलाडीले भगवतीलाई लगातार दुईपल्ट लडाएपछि एकपक्षीय १० अंक बटुल्दै जित हात पारिन् । कुराँसकै भाषामा खलोलमा उनले अंक लिइन् । कुराँसमा नेपालका दुवै खेलाडीको खेल सकिएको छ । कुराँस एसियाली खेलकुदको पहिलोपल्ट समावेश गरिएको खेल हो ।
स्क्वास
मेन्स टिम इभेन्टमा नेपाली टोलीले मंगलबार जापानसँग ३–० को हार बेहोरेको छ । पहिलो खेलमा अरहान्त केशर सिंह जापानका तोमोटाका इन्डोसँग ११–६, ११–३, ११–७ ले पराजित भए । अर्को खेलमा अमृत थापामगरले जापानका रायनोसुके तासुकुसँग ११–०, ११–५, ११–५ ले सेट गुमाए । ज्ञानु चौधरी पनि रोयसी कोबायासीसँग ११–३, ११–८, ११–४ ले पराजित भए । टिमतर्फ खेलेका तीनै खेल हारेको नेपालले अब समूह चरणमा फिलिपिन्स र हङकङसँग खेल्न बाँकी छ ।


स्केटबोर्ड
मेन्स स्ट्रिटको प्रारम्भिक चरणको खेलमा मंगलबार नेपालका खेलाडी नेरिस थापा १० औं स्थानमा रहेका छन् । हङकङमा बसोबास गर्दै आएका उनले १४.३ स्कोर बटुलेका छन् । यस इभेन्टमा १८ जनाले प्रतिस्पर्धा गरेका थिए । जापानका केयाकी इकी २८.३ स्कोर बनाएर अगाडि छन् । थाइल्यान्ड र दक्षिण कोरियाका खेलाडी दोस्रो र तेस्रो स्थानमा छन् ।


सेपाकटाक्रो
मेन्स क्वाडरान्टको प्रारम्भिक चरणको खेलमा नेपाल मंगलबार भियतनामसँग २–० ले पराजित भएको छ । नेपालले खेल २१–४, २१–३ ले खेल गुमायो । नेपालबाट गोविन्द मगर, रविन भट्टराई, रूपेश सुनार र सञ्जित धिमालले खेलेका थिए । मेन्स रेगुतर्फ पनि नेपालले समूह चरणका एउटै खेल जित्न सकेको थिएन । समूह ‘बी’ को नेपालले भारत, मलेसिया, दक्षिण कोरिया र चीनसँग पराजित भएको थियो ।


आशा जुडोमा
जाकार्ता– १८ औं संस्करणमा जारी एसियाली खेलकुदमा नेपालको पदक आशा अब एउटै खेलमा अडेको छ । आस गरिएका तेक्वान्दो, कराँते र उसु खाली हात फर्किसकेका छन् । नेपालले २९ खेलमा १ सय ८७ खेलाडी जाकार्ता ल्याएको थियो । त्यसमध्ये जुडो र ट्रायथलनमा मात्र खेल सुरु गर्न बाँकी छ । अधिकांश खेलमा नेपालको प्रतिस्पर्धा सकिसकेको छ ।


इन्डोनेसिया एसियाडमा जुडो बुधबार सुरु हुँदै छ । नेपालका आठ खेलाडी प्रतिस्पर्धामा छन् । ओलम्पियन तथा सागकी स्वर्ण विजेता फुपूल्हामु खत्रीको पनि सहभागिता रहनेछ । पुरुषतर्फ इन्द्रबहादुर श्रेष्ठ, सञ्जित डंगोल, श्रीराम मकाजु र रविन श्रेष्ठ तथा महिलातर्फ फुपूसहित देविका खडका, मनिता श्रेष्ठ प्रधान र पुनम श्रेष्ठले भाग लिएका छन् ।
जुडोले अहिलेसम्म नेपालका लागि एसियाडमा पदक जित्न सकेको छैन । एसियाडका पदकधारी खेल तेक्वान्दो, बक्सिङ र कराँते पदकविहीन भएर फर्केको अवस्थामा जुडोलाई यसपालि इतिहास रच्ने मौका छ । जुडोले एसियाडमा सन् १९९६ को सोलबाट इन्ट्री पाएको हो । नेपालले पनि त्यही संस्करणदेखि सहभागिता जनाउँदै आएको छ । पछिल्लो समय जुडोका नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा राम्रो अनुभव बटुलेका छन् । त्यही अनुभवले इन्डोनेसियामा सफलता प्राप्त गर्ने आस गरिएको छ । जुडोले पछिल्लो समय थाइल्यान्ड अनि हंगेरीको बुढापेस्टमा प्रशिक्षण गरेर यहाँ आइपुगेको हो ।


प्रबल पदक सम्भावना बोकेकी फुपुल्हामु पनि जापानमा प्रशिक्षण गरेर आएकी छन् । उनी सन् २०२० को टोकियो ओलम्पिकका लागि आईओसीको छात्रवृत्तिमा जापानमा प्रशिक्षणरत छन् । फुपूले १२ औं सागको स्वर्ण जितेकी थिइन् । उनी सागमा जुडोबाट स्वर्ण जित्ने पहिलो खेलाडी हुन् । यस एसियाडमा सागमा पदक जित्ने अरू खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । त्यसमा रजत विजेता मनिता, कांस्य विजेताद्वय इन्द्र र पुनम रहेका छन् ।

नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य पछिल्लो समय आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा प्राप्त गरेको सफलताका कारण यस एसियाडमा पदक सम्भावना रहेको बताउँछन् । उनले भने, ‘हाम्रो पनि लक्ष्य हो, यसपालि जुडोबाट पदक दिलाऊँ । अहिले हाम्रो खेलाडीले प्राप्त गरेको सफलताका आधारमा सम्भावना देखेका छौं । तर गेम न हो । हारजित त हुनुपर्छ ।’


महिनादिन अघिमात्र इन्द्रबहादुर र मनीताले बैंंककमा सम्पन्न नर्थ थाइल्यान्ड युनिभर्सिटी जुडो च्याम्पियनसिपमा स्वर्ण जितेर आफ्नो एसियाड यात्रालाई बलियो पारेका छन् । त्यही प्रतियोगितामा पुनमले रजत र देविकाले कांस्य जितेका थिए । उक्त प्रतियोगिता खेलेसँगै उनीहरूले हंगेरीमा आयोजित बुढापेस्ट ग्रापिंमा सहभागिता जनाए । त्यसपछि उनीहरूले त्यहीँ रहेर छोटो प्रशिक्षण गरे ।

प्रकाशित : भाद्र १३, २०७५ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?