१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

नेपालको तेस्रो जित

काठमाडौँ — नेपालले एसिया कप छनोटका तयारीका क्रममा श्रीलंकामा सबै तीन अभ्यास खेलमा जित हात पारेको छ । कप्तान पारस खडका र दीपेन्द्रसिंह ऐरीको अर्धशतकपछि नेपालले आइतबार अन्तिम अभ्यास खेलमा कोल्ट्स क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्‍यो । 

नेपालको तेस्रो जित

पारसले ५८ र दीपेन्द्रले नटआउट ५२ रन बनाएपछि कोल्ट्स क्रिकेट मैदानमा नेपालले २ सय १७ रनको लक्ष्य ४२.४ ओभरमा २ सय १८ रन बनाउँदै पूरा गर्‍यो । ५७ बलको इनिङ्समा पारसले ६ चौका र १ छक्का तथा दीपेन्द्रले ५३ बल खेली ५ चौका र २ छक्का प्रहार गरे । सुवास खकुरेल २३ बलमा २२ रन बनाई आउट भएपछि पारसले अर्का ओपनर ज्ञानेन्द्र मल्लसँग पहिलो विकेटका लागि ८८ रन जोडे ।


ज्ञानेन्द्र ६५ बल खेली ४ चौका प्रहार गरी ४५ रनमा एलबीडब्लू आउट भए । २ रनको अन्तरमा नेपालले ज्ञानेन्द्र, पारस र विनोद भण्डारी (१) लाई गुमाएको थियो । सागर पुन पनि ५ रनमै आउट भएपछि नेपाल १५०–५ को स्थितिमा पुग्यो । दीपेन्द्र र आरिफ शेखले छैटौं विकेटका लागि ६८ रनको नटआउट साझेदारी गरी नेपाललाई जित दिलाए । कोल्ट्सका एयाना श्रीबद्र्धनेले २ विकेट लिए ।


यसअघि टस जितेको कोल्ट्स निर्धारित ५० ओभर खेल्नु एक बलअघि २ सय १६ रनमा अलआउट भएको थियो । मध्यक्रमका ब्याट्सम्यानको योगदानपछि कोल्ट्सको इनिङ्स उकासिएको थियो । छैटौं नम्बरमा ब्याटिङ गरेका हसन हेवानायकेले ५९ रन बनाए । ६७ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे । श्रीबद्र्धनेले ३६ र मदुरा लकमालले ३१ रन जोडे ।

नेपालबाट सोमपाल कामीले ३ विकेट लिए । उनले ९.५ ओभरमा १ मेडन राख्दै ३४ रन खर्चे । करण केसी र सागरले २–२ तथा ललितनारायण राजवंशीले १ विकेट लिए । बुधबार पहिलो अभ्यास खेलमा आर्मी क्रिकेट टिमलाई सजिलै ६७ रनले पराजित गरेको नेपालले दोस्रो अभ्यास खेलमा शुक्रबार ब्लुमफिल्ड क्रिकेट क्लबलाई डकवर्थ लुइस पद्धतिमा १ सय ७६ रनले पन्छाएको थियो ।


नेपाल क्रिकेट टोली सोमबार कोलम्बोबाट मलेसिया लाग्नेछ । नेपालले बुधबार ओमानसँग खेलेर एसिया कप छनोटको यात्रा प्रारम्भ गर्नेछ ।


प्रकाशित : भाद्र १०, २०७५ २१:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?