१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

१८ औं एसियाली खेलकुद: कीर्तिमानविहीन पौडीको यात्रा

ध्रुव तुलाधर

जकार्ता, इन्डोनेसिया — १८ औं एसियाली खेलकुदबाट नेपाली पौडी टोलीले शुक्रबार बिट मारेको छ । जकार्तास्थित जेबीके स्टेडियमको एक्वाटिक सेन्टरमा शुक्रबार तीन नेपाली पौडीवाजले प्रतिस्पर्धा गरेका थिए । गौरिका सिंह, टिसा शाक्य र शुभम श्रेष्ठ तीनै खेलाडी राष्ट्रिय कीर्तिमान बनाउनबाट चुके ।

१८ औं एसियाली खेलकुद: कीर्तिमानविहीन पौडीको यात्रा

नेपालले यस एसियाडमा चार खेलाडीले १० इभेन्टमा भाग लिए । एउटैमा नेपाली खेलाडीले राष्ट्रिय कीर्तिमान तोड्न सकेनन् । टिसाले व्यक्तिगत प्रदर्शनमा सुधार्नु नै पौडीको सफलता बन्यो ।
शुक्रबार गौरिका र टिसा दुवैले महिला ५० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेका थिए ।

रियो ओलम्पियनमा सबैभन्दा कान्छी खेलाडी बनेर विश्व चर्चित गौरिकाले उक्त दूरी २८.५० सेकेन्डमा पूरा गरिन् । टिसाले २९.३१ सेकेन्ड लगाइन् । हिट ३ मा प्रतिस्पर्धा गरेका दुवै पुछारमा थिए । ३१ खेलाडीले प्रतिस्पर्धा गरेको उक्त इभेन्टमा गौरिका २१ र टिसा २३ औं स्थानमा रहेका थिए । यस इभेन्टमा राष्ट्रिय कीर्तिमान गौरिकाकै नाममा थियो । उनको नाममा २८.०९ सेकेन्डको कीर्तिमान छ ।

शुभमले ५० मिटर ब्रेस्टस्ट्रोकको दूरी ३२.४५ सेकेन्डमा पूरा गरे । यसमा उनकै नाममा ३२.१९ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ । ३६ खेलाडीले प्रतिस्पर्धा गरेको यस इभेन्टमा शुभम ३२ औं स्थानमा थिए । उनको पछाडि पाकिस्तान र माल्दिभ्सका खेलाडी थिए । पौडीका अर्का कीर्तिमानी पौडीवाज भनेर चिनिएका शिरीष गुरुङ ५० र १०० मिटर फ्रिस्टाइल दुवैमा कीर्तिमान रच्न असफल भए ।

भलिबल
नेपालले शुक्रबार दोस्रो खेलमा दक्षिण कोरियासँग त्यति सशक्त प्रदर्शन गर्न सकेन । शीर्ष वरीयताको टोली कोरियासँग नेपाली टोली २५–१६, २५–१३, २५–१७ ले पराजित भयो । पहिलो खेलमा पराजयका बावजुद प्रभावशाली प्रदर्शन गरेको थियो । राष्ट्रिय खेलको मान्यता पाएको भलिबल ३२ वर्षपछि एसियाडमा फर्केको हो । भलिबलका प्रशिक्षक जगदीश भट्टले दक्षिण कोरियाजस्तो सशक्त टोलीसँग ठिकैको प्रदर्शन गरेको बताए ।

उनले भने, ‘पहिलो खेलमा जुन गतिमा खेलेका थियौं त्यो कोरियासँग कायम गर्न सकेनौं । सुरुमै ठूलो टोली भनेपछि हाम्रा खेलाडी हतोत्साही भए । ब्लकमा हामी धेरै चुक्यौं । त्यसलाई अन्य खेलमा सुधार्न प्रयास गर्नेछौं ।’

नेपालको समूह ‘डी’ मा कोरिया र ताइपेई रहेको थियो । नेपालले अब वरीयताका लागि क्वालिफाइङ चरणमा अन्य समूहका पराजित राष्ट्रहरूसँग खेल्नेछ ।

ब्याडमिन्टन
दक्षिण कोरिया र जापानी खेलाडीको सामना गरेको ब्याडमिन्टनमा नेपालले शुक्रबार एउटै खेलमा सफलता हात पार्न सकेन । नेपालले तीन इभेन्टमा प्रतिस्पर्धा गरेको थियो । पुरुष एकलमा नेपालका शीर्ष खेलाडी रत्नजित तामाङ दक्षिण कोरियाका सन वानोसँग २१–८, २१–११ ले पराजित भए । दोस्रो वरीयताका विकास श्रेष्ठ पनि जापानका मामोता केन्टोसँग सोझो सेटमा पराजित भए । उनले २१–९, २१–१० ले खेल गुमाए ।

महिला डबल्समा अस्मिता शाही र रसिला महर्जनको जोडी पनि सोझो सेटमै पराजित भयो । उनीहरूको जोडी दक्षिण कोरियाका किम हेयरिन र हियोङ किङको जोडीसँग २१–८, २१–१ को सेटमा पराजित भएको थियो ।

बास्केटबल
थ्री बाई थ्री बास्केटबलको पुरुषतर्फ नेपालले अन्तिम खेलमा जित पाएको छ । नेपालले जोर्डनलाई २१–१० स्कोरले जित हात पार्दै एसियाडलाई टुंग्याएको छ । नेपालबाट मविन्द्र भण्डारीको कप्तानीमा आशिष बस्नेत, अजय कुशहवा, निश्चल महर्जनले खेलेका थिए । नेपालले ७–० को अग्रता हुँदै खेल जितेको थियो ।

समूह ‘सी’ मा रहेको नेपालले यसअघि जापान, कतार र सिरियासँगको खेल गुमाएको थियो । यस समूहमा रहेको माल्दिभ्स भने अनुपस्थित थियो ।

फेन्सिङ
मेन्स टिम फोएलको राउन्ड अफ १६ मा नेपाली टोली फिलिपिन्ससँग ४५–३ अंकले पराजित भएको थियो । नेपाली टोलीबाट राजनराज खड्का, महेशप्रसाद भट्ट, सन्दीप लामा र शेरसिंह ऐरले खेलेका थिए । एसियाडमा दोस्रोपल्ट भाग लिएको नेपालले यसपालि पनि सहभागितामै यात्रा टुंग्याएको छ ।

आर्चरी
रिकर्भ मिक्स टिम इभेन्टमा नेपाली टोली किर्गिस्तानसँग पराजित भएको छ । अन्तिम १४ को उक्त खेलमा शुक्रबार ज्ञानु अवाले र तिलक पुनमगरको जोडीले प्रतिस्पर्धा गरेको थियो । उनीहरू ५–४ को अन्तरमा पराजित भए ।

स्पोटर्स क्लाइम्बिङ
मेन्स कम्बाइन्ड क्वालिफिकेसनको बोल्डरिङतर्फ नेपाली खेलाडीको सहभागितामै सीमित भयो । प्रनिलमान श्रेष्ठ र पेम्बा शेर्पा पुछारमा रहे । २३ खेलाडीमा उनीहरूभन्दा पछाडि मंगोलियाका खेलाडी थिए ।

बक्सिङ
नेपालले बक्सिङको पहिलो दिन जित हात पार्न सकेन । महिला फेदरवेटको ५७ केजीमुनि संगीता सुनार थाई बक्सर निलावान टिचासुुइपसँग अंकका आधारमा पराजित भइन् । पूरै तीन राउन्ड भिडेकी उनले ५–० अंकमा खेल गुमाइन् । सुरुआती राउन्डमा दुईपल्ट उनको पञ्चले थाई बक्सर रन्थनिँदै रिङमा पुगेकी थिइन् । तर पछिल्लो दुई राउन्डमा उनले त्यसरी नै आक्रामक भिडन्त गर्न सकिनन् ।

शनिबार नेपालका तीन बक्सरले प्रतिस्पर्धा गर्नेछन् । ४९ केजीमुनि तेजबहादुर देउजाले लाओस, ६४ केजीमुनि भूपेन्द्र थापाले जोर्डन र महिला ६० केजीमुनि पुनम रावलले चिनियाँ बक्सरसँग प्रतिस्पर्धा गर्नेछन् ।

गल्फमा प्रदर्शन सुधार
नेपाली गल्फरले जकार्तास्थित पोन्डोक इन्दाह गल्फ कोर्समा जारी गल्फको दोस्रो दिन पहिलो दिनको तुलनामा प्रदर्शन सुधार गरेका छन् । पहिलो दिन ९ ओभर ८१ स्कोर जोडेका शुक्रबहादुर राईले दोस्रो दिन ४ ओभर ७६ स्कोर जोड्दै ५५ औं स्थानमा रहे । टंकबहादुर कार्कीले ५ ओभर ७७ खेल्दै अघिल्लो दिनको तुलनामा ५ स्ट्रोकले सुधारे । उनी ६२ औं स्थानमा छन् ।

अजित विकले ३ स्ट्रोक कम खेल्दै ८ ओभर ८० जोडे पनि तीन स्थान तल ७४ औंमा पुगे । अघिल्लो दिन १६ ओभर ८८ खेलेका पृथ्वी मल्ल ८ ओभर ८० साथ ७८ औं स्थानमा रहेका छन् । ८६ गल्फरको सहभागिता रहेको गल्फमा जापानका केइटा नाकाजिमा शीर्षस्थानमा यथावत् छन् । उनले दोस्रो दिन पनि ४ अन्डर ६८ को स्कोर दोहोर्‍याउँदै एक स्ट्रोकको अग्रता कायम राखेका छन् ।

टिम इभेन्टमा नेपाल १७ औं स्थानमा रहेको छ । अघिल्लो दिन २ सय ४६ जोडेको नेपाल दोस्रो दिन २ सय ३३ अंक जोड्न सफल रह्यो । शीर्षस्थानको जापान २ सय ८ र २ सय ६ सहित कुल ४ सय १४ अंक जोडेर दोस्रो स्थानमा छ । टिम इभेन्टमा प्रत्येक टोलीको उत्कृष्ट ३ स्कोर जोड्ने प्रावधान रहेको छ ।

प्रकाशित : भाद्र ९, २०७५ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?