२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

काठमाडौं म्याराथन असोजमा

काठमाडौँ — विजेतालाई प्रदान गरिने नगद पुरस्कारमा वृद्धि गर्दै काठमाडौं म्याराथनको १२ औं संस्करण यही असोज २० गते हुने भएको छ ।

काठमाडौं म्याराथन असोजमा

आयोजक संस्था प्रो स्पोर्ट्स प्रालि र इभेन्ट सोलुसन्स प्रालिले सोमबार पत्रकार सम्मेलन गर्दै यसपटक काठमाडौं म्याराथनमा कुल ७ विधामा प्रतिस्पर्धा हुने जनाएका छन् ।

कुल ७ लाख २२ हजार रुपैयाँ पुरस्कार राशि रहने प्रतियोगितामा फुल म्याराथन विधामा प्रतियोगिताको कीर्तिमान तोडेमा विजेताले थप एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । म्याराथनको १० औं संस्करणमा भूमिराज राईले २ घण्टा २१ मिनेट २४ सेकेन्डमा रेस पूरा गर्दै कीर्तिमान आफ्नो नाममा गरेका छन् ।

यसपटक म्याराथनमा शीर्ष ३ स्थान हासिल गर्ने दुवै विधाका खेलाडीले क्रमश: १ लाख, ५० हजार र २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । हाफ म्याराथनमा दुवै विधाका विजेताले ५० हजार, उपविजेताले २५ हजार तथा तेस्रो स्थान प्राप्त गर्ने खेलाडीले १० हजार रुपैयाँ पाउनेछन् ।

खुला दौड ५ किलोमिटर, विद्यालयस्तरीय ५ किलोमिटर दौड र ३ किलोमिटर ह्विलचियर दौडमा शीर्ष ३ खेलाडीलाई १० हजार, ५ हजार र २ हजार रुपैयाँ प्रदान गरिनेछ । ४५ वर्षमाथिका खेलाडी सहभागी हुने ५ किलोमिटर मास्टर्स विधामा पनि सोही पुरस्कार रकम राखिएको छ ।

प्रतियोगितामा पहिलोपटक कर्पोरेट रिले म्याराथन पनि समावेश गरिएको छ । यस विधामा हरेक कर्पोरेट हाउसका ४ प्रतियोगीले पालैपालो म्याराथनको कुल दूरीको एक चौथाइ पार गर्नेछन् । यस विधाको विजेता टोलीले २५ हजार तथा उपविजेता र तेस्रो स्थान हासिल गर्नेले क्रमश: २५ र १० हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताका आयोजकसमेत रहेका नीलेन्द्रराज श्रेष्ठले नेपाली म्याराथनको प्रवद्र्धनका लागि यस्तो कार्यक्रम निरन्तर रूपमा आयोजना गरिरहेको बताए । ‘हामीले हरेकपटक प्रतियोगिता आयोजना गर्न एक वर्ष अगाडि नै मिति तय गरेर प्रतियोगीलाई तयार हुन समय दिन्छौं । यसले आयोजनामा पनि सहयोग पुर्‍याउँछ र स्तरीय प्रतियोगिता गर्न मदत पुग्छ । हाम्रो लक्ष्य म्याराथनको समयलाई २ घण्टा १९ मिनेटभन्दा तल ल्याउनु हो र यसका लागि अन्य कार्यक्रम पनि अगाडि ल्याउनेछौं,’ श्रेष्ठले भने ।

स्पोर्ट्स एक्स्पो हुने
काठमाडौं म्याराथनको अवसरमा तीनदिने स्पोर्ट्स एक्स्पो (खेलकुद प्रदर्शनी) पनि आयोजना हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने महोत्सव असोज १८ देखि २० गतेसम्म चल्नेछ । ७२ ओटा स्टल रहने एक्स्पोमा खेलकुद सामग्रीसँगै खेलसम्बन्धी संस्थाहरूको स्टल रहनेछन् । आयोजकले एक्स्पो दौरान झन्डै २५ हजारले अवलोकन गर्ने अपेक्षा राखेका छन् । एक्स्पोमा खेलकुद विषयक अन्य कार्यशाला तथा मनोरञ्जनात्मक कार्यक्रम पनि हुनेछ ।

आयोजक समितिका विजयसागर श्रेष्ठले खेलकुद र व्यापारिक क्षेत्रलाई एकत्रित गर्ने हेतुले महोत्सव आयोजना गर्न लागेको बताए । ‘खेलकुदलाई अगाडि बढाउन व्यवसायीकरण जरुरी छ । हामीले यस महोत्सवको माध्यमबाट खेलकुद, व्यापारिक संस्था र उपभोक्तालाई एकै ठाउँमा जम्मा गर्ने जमर्को गरेका छौं,’ उनले भने ।

प्रकाशित : भाद्र ५, २०७५ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?