साफ यू–१५ गर्ल्स च्याम्पियनसिप : नेपालको विजयी सुरुआत

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली यू–१५ गल्र्स फुटबल टोलीले भुटानमा जारी साफ यू–१५ गल्र्स च्याम्पियनसिपको पहिलो खेलमा शनिबार पाकिस्तानलाई ४–० ले पराजित गरेको छ ।

पाकिस्तानविरुद्ध गोल गरेपछि खुसी साट्दै नेपाली खेलाडी । तस्बिर : भुटान फुटबल

चाङलमिथाङ रंगशालामा पाकिस्तानी टोलीमाथि पूरै समय हाबी रहेको नेपाली टोलीले दुवै हाफमा २–२ गोल गरेको थियो ।

नेपालले आठौं मिनेटमा अनुष्का शेर्पाको गोलबाट अग्रता लिएको हो । सुष्मा तामाङको सुरुआती हेडर पोस्टमा लागेर फर्केपछि अनुष्काले त्यसमै हेडर गोल गरिन् । त्यसको ६ मिनेटपछि नै नेपालले दोस्रो गोल थप्यो । अनुष्काको पासमा सविता रानामगरले दायाँ विंग्सबाट क्रस गरेको बल सिधै पोस्टभित्र छिरेको थियो ।

दोस्रो हाफमा नेपालले दुई गोल थप्यो । सविताले ५६ औं मिनेटमा खाली पोस्टमा गोल गर्दै अग्रता बढाइन् । रजनी ठोकरले बायाँ विंग्सबाट दिएको क्रस पाकिस्तानकी गोलरक्षक आयशा नसिमले ठम्याउन नसक्दा सविताले सहज गर्ने मौका पाइन् । तीन मिनेटपछि रजनीले नेपालका लागि चौथो गोल गरेर अग्रता दिलाइन् । उनले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको फितलो प्रहारलाई गोलरक्षक नसिमले रोक्न सकिनन् ।

शनिबारै अर्को खेलमा आयोजक भुटानले श्रीलंकालाई ६–० को फराकिलो अन्तरले हरायो । भुटानको जितमा फरवार्ड सोनाम ल्हामोले ह्याट्रिक गरिन् । नेपालले समूह ‘बी’ को अन्तिम खेलमा सोमबार बंगलादेशको सामना गर्नेछ । बंगलादेशले पहिलो खेलमा पाकिस्तानलाई १४–० ले पराजित गरेको थियो । श्रीलंकालाई १२–० ले पराजित गरेको भारत र भुटान पनि समूह ‘ए’ को अन्तिम खेलमा सोमबार नै भिड्ने छन् । जित हासिल गरेका चारै टोली सेमिफाइनल पुगिसकेका छन् ।

प्रकाशित : श्रावण २७, २०७५ ०७:३४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अरहान्त र भावना च्याम्पियन

कान्तिपुर संवाददाता

काठमाडौँ — अरहान्तकेशर सिंह र भावना सुनुवार तेस्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वासको च्याम्पियन भएका छन् । पुरुषमा अरहान्त र महिलामा भावनाले उपाधि जितेको यो लगातार तेस्रोपल्ट हो ।

शनिबार सातदोबाटोस्थित स्क्वास एकेडेमीमा सम्पन्न फाइनलमा अरहान्तले अमृत थापामगरलाई ११–७, ७–११, ११–८, ११–६ को सेटमा हराए । भावनाले कृष्णा थापालाई ११–५, ११–७ र ११–१ को सोझो सेटमा हराइन् ।

मास्टर्स ५० वर्षमाथि सुदीपबहादुर सिंहले दिलीपनरसिंह अधिकारीलाई ११–६, ११–८, ११–५ को सेटमा हराउँदै उपाधि जिते । यू–१५ ब्वाइज सिंगल्समा विकास मगरले स्वर्ण जित्दा फाइनलमा सलिम थापामगरलाई ११–४, ११–५ को सोझो सेटमा हराए । सोही उमेरको गल्र्समा सपना ब्लोन च्याम्पियन भइन् । उनले फाइनलमा मुस्कान राउतलाई ११–४, ११–३ ले हराइन् । यू–१९ ब्वाइजतर्फ फाइनलमा अमिर ब्लोनले विजय मगरलाई ११–९, ११–३, ११–३ को सेटमा हराएर उपाधि हात पारे ।

पुरुष सिंगल्सको प्लेटतर्फ अमिर ब्लोन विजयी भए । उनले फाइनलमा स्टिभ फ्रान्सिसलाई १२–१०, ११–९, ६–११, ११–८ को सेटमा पन्छाए ।विजेता खेलाडीले नगद पुरस्कार पाएका थिए । किशोर महर्जनले आमा धनलक्ष्मीको स्मृतिमा तीन वर्षदेखि प्रतियोगितालाई प्रायोजन गर्दै आएका छन् । महर्जन आयोजक नेपाल स्क्वास र्‍याकेट्स संघका अध्यक्ष हुन् । विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतले पुरस्कृत गरे ।

प्रकाशित : श्रावण २७, २०७५ ०७:३३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×