कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

सार्रीको उत्साही आगमन

प्रिमियर लिग
एएफपी

लन्डन — चेल्सीका नवनियुक्त प्रशिक्षक माउरिजियो सार्रीले प्रिमियर लिगमा सुखद सुरुआत गर्ने क्रममा शनिबार पहिलो खेलमा हडर्सफिल्ड टाउनलाई ३–० ले पराजित गरेको छ ।

सार्रीको उत्साही आगमन

सुरुआती समयमा घरेलु टोली हडर्सफिल्डले चेल्सीमाथि दबाब कायम गरे पनि अग्रता बनाउन सकेन । चेल्सीका लागि ३४ औं मिनेटमा एनगोलो कान्टेले सुरुआती गोल गरे । विलियनको क्रसमा उनको पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार सटिक नभए पनि गोलरक्षक बेन हेमरलाई झुक्याउन पर्याप्त रहयो ।

चेल्सीले मध्यान्तरको ठीकअघि अग्रता दोब्बर बनायो । डिफेन्डर मार्कस अलोन्सोलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा लिगमा डेब्यु गरिरहेका जोर्गिन्होले सहजै गोल गरे । खेलको १० मिनेट समय बाँकी रहँदा पेड्रोले तेस्रो गोल गरे । उनले वैकल्पिक खेलाडी इडेन हाजार्डको पासमा गोल गरेका थिए । चेल्सीका लागि गोलरक्षक केपा आर्रिजबालागाले पनि डेब्यु गरे ।

सिजन सुरुआतअघि ट्रान्सफर विन्डोमा खेलाडी खरिद नगरेको टोटेनहमले प्रिमियर लिगको पहिलो खेलमा शनिबार न्युकासल युनाइटेडलाई २–१ ले हराएर राम्रो सुरुआत गरेको छ । ट्रान्सफर विन्डो सुरु भएयता खेलाडी अनुबन्धन नगर्ने टोटेनहम पहिलो क्लब हो । कुनै खेलाडी नल्याउँदा निरास समर्थकलाई शनिबारको जितले खुसी तुल्याएको छ ।


न्युकासलविरुद्ध बल अगाडि बढाउँदै टोटेनहमका ह्यारी केन (दायाँ) । तस्बिर : रोयटर्स


यान भर्टोङघनले खेलको आठौं मिनेटमा हेडरमार्फत गोल गर्दै पाहुना टोली टोटेनहमलाई अग्रता दिलाए । क्रिस्टियन एरिक्सनको कर्नर डेभिन्सन सान्चेजलाई फ्लिक हुँदै गएपछि भर्टोङघनले पोस्टलक्षित प्रहार गरे । त्यसलाई न्युकासलका गोलरक्षक मार्टिन डुब्राभ्काले रोक्ने प्रयास गरे पनि गोललाइन टेक्नोलोजीले बलले गोललाइन पार गरेको देखाएको थियो ।

त्यसको तीन मिनेटमै टोटेनहमको डिफेन्सले सहज क्रसलाई क्लियर गर्न नसक्दा न्युकासलका होसेलुले बराबरी गोल फर्काए । म्याट रिचीले दायाँ विंग्सबाट गरेको क्रसलाई ११ औं मिनेटमा होसेलुले पोस्टको दिशा दिए । त्यसको सात मिनेट नबित्दै डेले अलीले हेडरमार्फत नै गोल गरेपछि टोटेनहमले फेरि अग्रता लियो । सर्ज औरियरको क्रसमा अलीलाई पेनाल्टी क्षेत्रभित्र खुला छाडेपछि उनी सहजै गोल गर्न सफल भए ।

दोस्रो हाफमा दुवै टोलीका गोलरक्षकले उत्कृष्ट प्रदर्शन गर्दा थप गोल हुन सकेन । डुब्राभ्काले अली र मौसा सिसोकोले गरेका शक्तिशाली प्रहार विफल तुल्याए । टोटेनहमका कप्तान ह्युगो लोरिसले पनि अयोजे पेरेजको प्रहार बचाउँदै खेलमा अग्रता कायम राखे । कठिन जितका बाबजुद फरवार्ड ह्यारी केनको अगस्ट महिनाको गोलरहित यात्रा शनिबार पनि जारी रहयो । विश्वकपपछि विश्राममा रहेर सोमबारमात्र प्रशिक्षणमा फर्केका केनले पहिलो रोजाइमा रहेर खेलको पूरै समय खेलेका थिए । उनले प्रिमियर लिगअन्तर्गत अगस्ट महिनामा खेलेका १४ खेलमा गोल गर्न सकेका छैनन् ।

अन्य खेलमा बर्नमाउथले नवप्रवेशी क्लब कार्डिफ सिटीलाई २–० ले हरायो । बर्नमाउथका लागि रायन फ्रेजर र क्यालम विल्सनले १–१ गोल गरे । यसै सिजन प्रिमियर लिगमा बढुवा भएको अर्को क्लब फुलहम पनि क्रिस्टल प्यालेससँग २–० ले पराजित भयो । जेफ्री स्लप र विल्फ्रिड जाहाको गोलमा प्यालेसले ३ अंक हासिल गरेको हो । रोबर्टो परेराको दुई गोलसँगै वाटफर्डले ब्राइटनलाई २–० ले नै हरायो ।

त्यसअघि शुक्रबार राति सिजनको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई २–१ ले पराजित गर्‍यो । प्रशिक्षक जोसे मोउरिन्होले कप्तानी जिम्मेवारी सुम्पिएका पाउल पोग्बाले सुरुआती अग्रता दिलाए । उनले तेस्रो मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अगाडि बढाए । ल्युक सअले ८३ औं मिनेटमा गोल थप्दै युनाइटेडको अग्रता दोब्बर पारे । खेलको अन्तिम मिनेटमा जेमी भार्डेले लेस्टरबाट गरेको गोल सान्त्वना बन्यो ।

प्रकाशित : श्रावण २७, २०७५ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?