ज्ञानेन्द्रको कलात्मक शट अनि त्यो अर्धशतक

विनोद पाण्डे

काठमाडौँ — ‘ज्ञानेन्द्र मल्ल जब लयमा हुन्छन्, तब उनको कलात्मक स्ट्रोकबाट सबैभन्दा धेरै आनन्द उठाउने अरु कोही नभएर नन स्ट्राइकमा रहने उनकै जोडी हुन्छ ।’ १२ वर्ष बितिसकेको छ नेपालका पूर्व ओपनर परेश लोहनीले ज्ञानेन्द्रको ‘डेब्यु’ खेललाई लिएर यसो भनेको पनि ।

ज्ञानेन्द्रको कलात्मक शट अनि त्यो अर्धशतक

जतिखेर ज्ञानेन्द्र एसीसी ट्रफी क्रिकेट, २००६ बाट राष्ट्रिय टोलीमा प्रवेश गर्नेक्रममा थिए । मलेसियामा उनले कुवेत र भुटानविरुद्ध लगातार दुई खेलमा अर्धशतक बनाए । ज्ञानेन्द्र ओपनिङ ब्याट्सम्यानका रूपमा नेपाली टोलीमा आएका थिए । उनको ओपनिङ जोडी अरु कोही नभएर परेश नै थिए । नेपालले गत साता नेदरल्यान्ड्समा पहिलो वान–डे अन्तर्राष्ट्रिय खेल्दै ऐतिहासिक उपलब्धि हात पार्‍यो ।

एमस्ट्राडमको एमस्टलभिनस्थित भीआरए मैदान ज्ञानेन्द्रको कलात्मक शटहरूको साक्षी बन्यो । ब्याकफुट गएर कभरमा उनले प्रहार गरेका सुन्दर चौकाहरूसँग टेलिभिजन प्रत्यक्ष प्रसारणका कारण धेरै नेपाली साक्षी हुनपाए ।

नेपालको पहिलो वान–डे खेलमा नेपाली खेलाडीले बनाएको पहिलो अर्धशतक त्यो समयमा आएको थियो, जतिखेर उपकप्तान ज्ञानेन्द्रको फर्मप्रति चौतर्फी आलोचना भइरहेको थियो । नेपालको युरोप यात्रामै ज्ञानेन्द्रलाई समावेश गरेकोमा प्रश्न उठाउने पनि थिए केही । कोही भने यसअघि जस्तै फर्म कायम रहे ज्ञानेन्द्रको नेपालबाट अन्तिम भ्रमणसम्म हुनसक्ने अड्कल काट्दै उनको क्षमतामाथि प्रश्न गरिरहेका हुन्थे ।

इतिहास लेखिएको एकदिन ज्ञानेन्द्रको नाम लेखियो, तर कीर्तिमानी अर्धशतकीय इनिङ्सबाट उनी सन्तुष्ट छैनन् । त्यहाँसम्म पुगेर पनि नेपाललाई जिताउन नसकेकोमा उनको दुखेसो छ । १ सय ९० रनको लक्ष्य पछयाउने क्रममा उनले अनिलकुमार शाहसँग पहिलो विकेटमा ५८ रन जोडेका थिए । नेपालले खेलेका ३७ लिस्ट ‘ए’ खेलमा पहिलो विकेटमै त्यो सबैभन्दा ठूलो साझेदारी थियो । त्यही पनि मध्यपंक्ति सम्हालिन नसक्दा नेपालले ५५ रनको हार भोग्यो । आफ्नो पहिलो वान–डे अन्तर्राष्ट्रिय खेल जित्ने नेपाल सातौं राष्ट्र बन्न सकेन ।

राम्रो इनिङ्सभन्दा पनि आफूले ठीकै स्कोर गरेको उनी मान्छन् । उनको यो निराशा यही भनाइमा पोखिन्छ, ‘अझै सन्तुष्ट किन छैन भने नेदरल्यान्ड्ससँगको त्यो पहिलो वान–डे खेल हामीले सजिलै जित्न सक्थ्यौं । मैले अझ राम्रो गर्न सक्थें, टिमलाई नै जिताएर आउन सक्थें होला । कम्तीमा नेपाललाई सुरक्षित स्कोरमा लैजान सक्थें होला । त्यो गर्न नसकेकाले अलिकति निराश छु । बरु, दोस्रो खेलमा नेपालले जित्दा, १ रनले नै किन नहोस् धेरै रमाइलो लाग्यो ।’ पिच फास्ट बलिङमैत्री थियो ।

विकेटमा जाँदा कम्तीमा १०–१२ ओभर नयाँ बल खेल्नुपर्छ भनेर उनले अनिलसँग सल्लाह गरेका थिए । देव्रेहाते स्पिन चाइनाम्यान माइकल रिप्पोनबाहेक विपक्षी टोलीमा अरु त्यस्तो राम्रो बलियो बलर छैनन्, लक्ष्य ठूलो थिएन, कन्डिसनले गर्दा मात्र अलिकति अप्ठयारो भएको कुराकानी भइरहेथ्यो उनीहरूबीचमा । ‘कप्तान पारस (खड्का) र म फटाफट आउट हुँदा नै खेल बिग्रिए जस्तो लाग्छ ।

त्यो कन्डिसनमा सेट पनि भइसकेको मैले अझै जिम्मेवारी लिनुपथ्र्यो जस्तो लाग्छ,’ ज्ञानेन्द्र कम्जोरी खोतल्छन, ‘कुनै पनि साझेदारी लामो भएन, त्यसमा दुर्भाग्य शरद (भेषावकर) पनि घाइते हुन पुगे । लक्ष्य सजिलो पनि हुनसक्थ्यो, राम्रैसँग जित्न सक्थ्यौं । हामी आफैंले कमजोर खेलेर हार्न पुगेका हौं । अर्धशतक बनाएपछि खेल आफैं मजाले सकाउँछु जस्तो लागेको थियो । पारस र म सँगै ब्याटिङ गर्दा पनि लक्ष्य त्यही थियो, अर्को १२–१५ ओभर ब्याटिङ गर्ने र खेललाई ३० ओभरसम्म लिएर जाने ।’

नेपालले वान–डे अन्तर्राष्ट्रिय क्रिकेटको यात्रा थालेको खेल । अझै त्यसमा अर्धशतक बनाउँदै आफ्नो लय फर्काएको खेल । सजिलै जितिसकेको खेल बीचमा लय बिग्रिँदा हारले सबै किरकिर बनाइदियो उनलाई । त्यसैले ज्ञानेन्द्र १ रनको सनसनीपूर्ण जित पाएको खेलको मीठो सम्झना साट्छन् । हार्न लागेको खेल, फेरि जित्न लागेको, फेरि हातबाट फुत्किसकेको रोचक खेल जित्दै वान–डे अन्तर्राष्ट्रियमा कोसेढुंगा थपेकाले होला ज्ञानेन्द्र आफ्नो कीर्तिमानभन्दा नेदरल्यान्ड्ससँगको दोस्रो खेलमा केन्द्रित देखिए ।

‘नेपालले वान–डे अन्तर्राष्ट्रिय खेलेको दोस्रो खेलमै जित हात पारेकाले खुसी हुनुपर्ने कारण थियो । खेल्न त अझ धेरै बाँकी नै छ । तर पहिलो जित विशेष हुन्छ । त्यसमाथि त्यहाँ आउनुभएका दर्शक कोही जर्मनी त कोही कहाँबाट हुनुहुथ्यो । उहाँहरूको उपस्थितिले त्यो जितलाई विशेष बनायो । उहाँहरूसँग त्यो जितको खुसी साट्न पाइएको थियो,’ उनी ऐतिहासिक जित अथ्र्याउँछन् ।

नेदरल्यान्ड्सविरुद्ध अर्धशतक बनाएपछि ज्ञानेन्द्र ।

सञ्चारमाध्यम, सामाजिक सञ्जालमा आएजस्तो आफू कहिल्यै दबाब नरहेको ज्ञानेन्द्र स्पष्ट पार्छन् । नेपाली टोलीका हरेक खेलाडी एउटै जस्तो उत्तर दिन्छन्, ‘नेपालबाट खेल्नु नै चुनौती र दबाब हो ।’ ज्ञानेन्द्रसँग पनि रेडिमेड जवाफ त्यही छ । ओपनिङमा ब्याटिङमा सुरुआत गरे पनि बीचमा उनी नेपाली क्रिकेटको मध्यपंक्तिको आधार बन्दै आएका थिए । सन् २०१५ मा नेपालले आयरल्यान्डमा विश्व ट्वान्टी–२० छनोट खेल्नुअघि नेदरल्यान्ड्स भ्रमण गर्दा उनले पुन: इनिङ्स सुरुआत गर्न लागेका थिए । त्यसयता नै उनको ब्याट खासै खुलेको थिएन । पछिल्लो डेढ वर्षमा त उनी पूरै आउट अफ फर्म जस्ता थिए ।

फेब्रुअरीमा नामिबियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन २ र मार्चमा विश्वकप छनोटबाट नेपाल वान–डे अन्तर्राष्ट्रिय मान्यताप्राप्त राष्ट्र बनेको हो । ज्ञानेन्द्रले सम्झनलायकको केही गरेनन् । बरु उनको फिटनेसप्रति शंका गर्न लागियो । उनी यसलाई स्वाभाविक लिन्छन् । रन नहान्दा कुनै पनि खेलाडीमाथि प्रश्न उठ्नु नौलो मान्दैनन् उनी ।

‘एउटा वरिष्ठ खेलाडी भएकाले मबाट धेरै आस गरिएको पनि हुनसक्छ । ब्याटिङ भएन भनेर धेरैले आलोचना गरिराखेका हुन्छन् । त्यसमा राम्रो गर्नुपर्ने छुट्टै खाले दबाब हुन्छ । त्यसो भयो भन्दैमा दबिने होइन, त्यो दबाबले एउटा फूर्ति दिन्छ । सकारात्मक सोचाइले हेर्दा कसैले समर्थन गरिरहेको त छ भन्ने हुन्छ,’ उनी भन्छन्, ‘हामीलाई धेरैले फलो गरिरहेको छ, हामीले गर्नुपर्छ जिताउनुपर्छ भन्ने हुन्छ । क्रिकेटमा सधैं एकैनास हुँदैन । शतक हानेको भोलिपल्ट अर्को शतक लाग्दैन । आज शून्यमा आउट भयो भने भोलि शून्यमै आउट हुन्छ भन्ने निश्चित हुँदैन । हरेक दिन नयाँ हुन्छ, त्यसमा सकारात्मक सोच लिन जरुरी हुन्छ ।’

नेपाल वान–डे अन्तर्राष्ट्रिय खेल्ने राष्ट्र त बन्यो । तर ज्ञानेन्द्र नेपाली क्रिकेटको धरातल चाहेर पनि भुल्न सक्दैनन् । त्यसैले उनले वान–डे अन्तर्राष्ट्रियको टयागबाहेक अरु केही फरक पाएनन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेको दुई वर्षभन्दा बढी भइसकेको छ । धन्न, आईसीसीले अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न दिइरहेको समयमा नेपाल मान्यताप्राप्त राष्ट्र बनेको छ । घरेलु क्रिकेटको विकरालपूर्ण स्थिति जस्ताकै तस्तै छ ।

‘मैदान त्यही, भौतिक पूर्वाधार त्यही । अझ पनि त्यही पीडाले सबैलाई पिरोलिरहेको छ । हाम्रो क्याम्प राम्रोसँग सञ्चालन हुन सकेको छैन । अझै धेरै विषय छन्,’ नेपाली क्रिकेटका धेरै समस्या खोतल्दै भन्छन् उनी, ‘वान–डे मान्यता त पायौं तर त्यो खेलेर मात्र पाइराख्ने र जोगाइराख्ने होइन । युरोप जानुअघि अभ्यास गर्दा पानी परेको समयमा निकै समस्या परेको थियो ।

इन्डोरको हालत पनि त्यस्तै छ, व्यवस्थित छैन । जिम आफ्नो छैन । मैदानको अवस्था त्यस्तै छ । यो विषयबारे हामीले आईसीसीलाई व्यक्तिगत रूपमा भन्न जान मिल्दैन । प्रशिक्षक, कप्तान वा कसैका माध्यमबाट भनाइ राख्दा ‘अहिलेलाई यही हो, क्यान बन्न लागिसकेको छ, क्यान बनिसकेपछि सबै समाधान हुन्छ’ भन्ने जवाफ पाउँछौं । समाधान कहिले हुने त्यो चाहिँ थाहा छैन । नेपालमा आधिकारिक निर्णय लिने स्थिति कसैसँग छैन ।’

घरेलु क्रिकेटको पीडा एकातिर छ । वान–डे अन्तर्राष्ट्रिय खेल्ने उनको एउटा सपना थियो । त्यो सपना नेपाली क्रिकेटको थियो, नेपाली खेलकुद अनि सिंगो देशको । त्यो सपना नेपालले नेदरल्यान्ड्ससँगको शृंखलाबाट पूरा गरेको छ । ज्ञानेन्द्रमा पनि पहिलोपल्ट वान–डे अन्तर्राष्ट्रिय खेलेको टोलीको सदस्य हुनु पाउँदाको गर्व विशेष छ । नेपालले वान–डे अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरिरहँदा उपकप्तानको हैसियतमा ज्ञानेन्द्रलाई २ नम्बर लेखिएको क्याप दिइएको थियो । उनी यसलाई आफ्नो खेलजीवनको एउटा हाइलाइट्स मान्छन् ।

प्रकाशित : श्रावण २४, २०७५ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?