मर्माहत छन् शाक्य
काठमाडौँ — ‘अहिले आएर बेकार फुटबल खेलेछु जस्तो लागिरहेको छ । बरु बुवाको व्यापार सम्हालेको भए, अहिले गाडी चढेर हिँड्थें होला । देशका लागि गरेको यत्रो योगदान बेकार भए जस्तो लागेको छ,’ राजुकाजी शाक्यले भने । उनलाई अवकाश जीवनमा आएर पछुतो लागेको हो ।
एक मनले उनलाई फुटबलमा लागेकामा पछुतो छ । पूरा जीवन खर्चेको यस खेलप्रति उनको लगाव अझै पनि बाल्यकालमा छँदा स्कुल छाडेर खेल्ने केटो जत्तिकै छ । त्यही पनि उनी फुटबल छाडेर कहीं जान सक्दैनन् । किनभने उनको रगतमै फुटबल बग्छ ।
भावुक हुँदै शाक्य आफूलाई सम्हाल्ने प्रयास गर्दै फुटबलमै समर्पित हुने दृढता राख्दै भन्छन्, ‘मेरो मन मरेको भए पनि अझै हिम्मत छ । मैले एन्फामा नभए पनि व्यक्तिगत रूपमा देशलाई योगदान दिन एकेडेमी खोल्ने योजना बनाएको छु । नेपाली फुटबल बाहिर जाने केही सोच नभएकाले यहीँ केही गर्नुपर्छ भन्नेछ ।’
राष्ट्रिय फुटबल टोलीमा १७ वर्ष सक्रिय खेलाडी । खेलजीवनपछि २१ वर्ष अनवरत प्रशिक्षकको भूमिका । नेपाली फुटबलले अन्तर्राष्ट्रियस्तरमा प्राप्त गरेका हरेक सफलतामा महत्त्वपूर्ण भूमिका । शाक्यलाई नेपाली फुटबलका सबैभन्दा सफल व्यक्तित्व हुन् भन्दा सायदै कसैले प्रश्न उठाउला ।
खेलाडी छँदा मैदानभित्र होस् या खेलजीवन सकेपछि प्रशिक्षकका रूपमा मैदानबाहिर, शाक्य नेपाली फुटबलले अन्तर्राष्ट्रियस्तरमा हासिल गरेका सबै सफलताका सारथि रहँदै आएका छन् । समग्र नेपाली खेलकुदकै लागि उदाहरण बनेका शाक्यले आफ्नो पूरै जीवन फुटबलमा व्यतीत गरे । तर उनै शाक्य वर्तमान स्थितिमा असामञ्जसमा छन् । उनी आफूलाई अन्याय परेको भनेर मर्माहत छन् ।
पछिल्लो समय अन्तर्राष्ट्रियस्तरमा निकै सफलता हात पारेको नेपाली फुटबल टोलीका प्रशिक्षक रहेका शाक्य अहिले च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा भेटिन्छन् । सन् २०१८ मा हुने एसियाड तथा दक्षिण एसियाली फुटबल च्याम्पियनसिप (साफ) का लागि गत पुसमा उनलाई एक वर्षको करार दिइएको थियो । राष्ट्रिय टोली हाल दुई मुख्य प्रतियोगिताको तयारीमा व्यस्त रहँदा शाक्य भने पछिल्लो चार महिनादेखि टोलीसँग छैनन् । उनी नेपाली फुटबलसँग बेखबर जस्तै छन् ।
गत वैशाखमा अखिल नेपाल फुटबल संघ (एन्फा) मा नयाँ नेतृत्वको आगमनसँगै शाक्यले राष्ट्रिय टोलीको जिम्मेवारी बहन गर्न पाएनन् । एन्फाले उनलाई कुनै खबर नगरी बालगोपाल महर्जनलाई उनको स्थानमा जिम्मेवारी सुम्पियो । लेखा शाखाले तलब उपलब्ध नगराएपछि उनले आफू प्रशिक्षकबाट थाहै नपाई हटाइएको जानकारी पाए । उनलाई एन्फाले अझैसम्म पनि औपचारिक रूपमा केही खबर गरेको छैन ।
एन्फामा यसअघि करारमा प्रशिक्षक नियुक्त गर्ने प्रचलन थिएन । त्यसअघि राखेपअन्तर्गतका प्रशिक्षक काजमा खटाएर भत्ता दिने चलन थियो । एन्फाले करारमा प्रशिक्षक राख्ने निर्णय गरेपछि शाक्यले पुसमा सम्झौता गरे । उनले सम्झौताअनुसार तीन महिनाको तलब पनि लिइसकेका थिए । नयाँ नेतृत्व आएपछि उनले तलब पनि पाएनन् र आफ्नो स्थानमा अर्कै व्यक्ति नियुक्त भएको खबर पाए । प्रत्येक शनिबार एन्फामा हुने साप्ताहिक प्रशिक्षणमा त्यसपछि केही समय गए पनि त्यहाँको वातावरणले उनले त्यहाँ रहेर काम गर्ने सम्भावना देखेनन् । फुटबलको विकासमा अनवरत लागेका उनलाई एन्फाले अन्याय गरेको उनको बुझाइ छ ।
नेपालले अन्तर्राष्ट्रियस्तरमा तीनपटक दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णपदक तथा सन् २०१६ मा एएफसी सोलिडारिटी कप उपाधि जित्नु नै औपचारिक सफलता हुन् । सन् १९८४ को पहिलो सागमा खेलाडीका रूपमा स्वर्ण जितेका शाक्य सन् १९९३ को स्वर्ण जित्दा टोलीका कप्तान नै थिए । त्यसपछि सन् २०१६ मा सागको स्वर्ण र सोलिडारिटी उपाधिमा उनले प्रशिक्षकको भूमिका निभाए । पछिल्लो तीन वर्ष राष्ट्रिय टोलीसँगै रहेका शाक्यले साफ च्याम्पियनसिप जिताउने ठूलो धोको राखेका थिए ।
‘साफ च्याम्पियनसिपकै लागि भनेर मैले एन्फासँग १ वर्षको करार सम्झौता गरेको थिएँ । जापानी प्रशिक्षक ग्योतोकु कोजीले पनि साफ च्याम्पियनसिपकै लागि आफ्नो करार लम्ब्याएका थिए । हामीले पछिल्लो दुई वर्ष यसैको तयारीका लागि दीर्घकालीन योजना लिएर अगाडि बढेका थियौं । मेरो एकमात्र लक्ष्य साफ च्याम्पियनसिप जित्नु थियो, तर अब त्यो सम्भव भएन,’ शाक्यले भने ।
एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाका अनुसार शाक्य राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा पनि जागिरे भएको र नयाँ नेतृत्वको टोलीमा नपरेका कारण प्रशिक्षक पदमा नरहेका हुन् । ‘उहाँ राखेपको कर्मचारी हुनुहुन्छ । नेपालको कानुनअनुसार एकैजनाले दुई ठाउँको जागिर खान मिल्दैन,’ उनले थपे, ‘हामी नयाँ टिम आएका छौं र हाम्रो छुट्टै उद्देश्य छ । त्यसका लागि हामीले कोही व्यक्ति राख्नैपर्छ भन्ने जरुरी छैन । हाम्रो टोली बलियो बनाउन नतिजा देखाउने व्यक्ति हामीले राख्ने हो ।’
वास्तविकतामा भने शाक्यले दुई वर्षअगाडि नै राखेपको प्रशिक्षक पदबाट अवकाश पाइसकेका छन् । उनले २०७३ असार ४ गते सेवा छाडेका हुन् । उनकै स्थानमा हाल राष्ट्रिय टोलीमा रहेका प्रशिक्षक बालगोपाल महर्जन भने राखेपमा मासिक ज्यालादारीमा आबद्ध छन् । उनले राखेपबाट प्रतिमहिना २३ हजर ५ सय रुपैयाँ बुझ्छन् । २०७३ सालदेखि उनी राखेपसँग आबद्ध छन् । त्यसअघि पनि राखेपमा रहेका उनले २०७२ असोजमा सेवा छाडेका थिए । महर्जनसँगै एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंह विगत एक दशकयता राखेपको प्रशिक्षकका रूपमा कार्यरत छन् । २०६३ सालदेखि मासिक ज्यालादारीमा रहेका सिंह २०६८ यता भने करारमा छन् ।
शाक्यका अनुसार चुनाव हुनुअघि नै नयाँ नेतृत्व आएको खण्डमा उनलाई हटाउने हल्ला चलेको थियो । ‘चुनाव हुनुअघि नै नयाँ नेतृत्व आएको खण्डमा मेरो स्थान नरहने केही साथीले सुनाएका थिए । त्यो बेला पत्यार नलागेको भए पनि अहिले थाहा पाएँ । मलाई औपचारिक जानकारी प्राप्त भएको छैन तर एन्फाका केही व्यक्तिले म सेवामा नरहेको बताएका छन्,’ उनले भने ।
साफको तयारी एक ढंगले बढिरहेको अवस्थामा एन्फाको यो परिवर्तनले टोलीको तयारीमा पनि केही असर पर्ने शाक्यको बुझाइ छ । ‘फुटबल टिम गेम हो । मैदान बाहिर बल ब्वाई, व्यवस्थापक सबैको आ–आफ्नो भूमिका हुन्छ । प्रशिक्षक कोजी र मैले दुई वर्षदेखि खेलाडीसँग रहेर योजना बनाएका थियौं । टोलीमा एक–अर्काबीचको समन्वय निकै राम्रो भइसकेको अवस्था थियो । अब नयाँ परिवर्तनसँगै केही असर पक्कै पर्छ,’ शाक्यले भने ।
नयाँ नेतृत्वले बेवास्ता गर्दै सेवाबाट निकालेर अर्को प्रशिक्षक ल्याएकामा शाक्य दु:खी छन् । ‘उहाँहरू परिवर्तन गर्न आउनुभएको हो । मलाई बोलाएर यसबारे छलफल गरेर औपचारिक रूपमा जानकारी दिएको भए म खुसीसाथ छाड्ने थिएँ । म निकै सहज प्रकृतिको मान्छे हुँ । तर कुनै जानकारी नदिई यसरी बेवास्ता गर्दा संघदेखि दुखित छु,’ उनले भने ।
हाल शाक्य केही सहकर्मीसँग मिलेर च्यासलमा खोलेको नेसनल स्पोर्ट्स सेन्टरमा व्यस्त रहन्छन् । केही वर्षअघि उनले आफ्नै एकेडेमी सञ्चालन गरे पनि राखेपको प्रशिक्षक पद छाडेपछि राष्ट्रिय टोलीमा सम्मिलित हुँदा एकेडेमी थाती राख्दै एन्फामा सक्रिय रहे । तर अब उनी व्यक्तिगत तवरबाट नै बृहत् योजना बुन्नमा व्यस्त छन् । ‘मैले पहिलेदेखि नै एकेडेमी खोल्ने सपना देखेको थिएँ । अब स्वदेश तथा विदेशमा रहेका स्रोतबाट नयाँ योजना बुन्ने तयारीमा छु । ग्रास रुटदेखि फुटबल विकासका लागि छिट्टै एकेडेमी सञ्चालन गर्ने योजना छ,’ शाक्यले आफ्नो योजना सुनाए ।
प्रकाशित : श्रावण २१, २०७५ ०८:०१