कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

यात्रा थालनी

आदर्श ढकाल

एमस्ट्र्राडम, नेदरल्यान्ड्स — नेपाल आधिकारिक रूपमा वान–डे अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने २३ औं राष्ट्र बनेको छ । एमस्टलभिनस्थित भीआरए मैदानमा बुधबार उत्रिएपछि नेपाल वान–डे अन्तर्राष्ट्रिय खेल्ने पछिल्लो मुलुक दर्ज भएको हो ।

यात्रा थालनी

तर नेपालले त्यस अवसरलाई जितमा परिणत गर्न सकेन । घरेलु टोली नेदरल्यान्ड्ससँग ५५ रनको हार स्विकार्‍यो । नेपालले यो खेल जितेको भए आफ्नो पहिलो वान–डे अन्तर्राष्ट्रिय खेलमै जित हात पार्ने सातौं राष्ट्र बन्थ्यो ।


कप्तान पारस खड्काले कसिलो बलिङ गर्दै ४ विकेट लिएपछि टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सलाई नेपालले ४७.४ ओभरमा १ सय ८९ रनमा अलआउट गर्‍यो । ओपनर ज्ञानेन्द्र मल्ल र अनिल शाहले लिस्ट ‘ए’ मान्यताप्राप्त खेलमै नेपालबाट अहिलेसम्मको उत्कृष्ट सुरुआत दिलाउने क्रममा ५८ रन जोडे पनि ४१.५ ओभरमा १ सय ३४ रनमै अलआउट भयो ।


एकसमय ८५–१ को बलियो स्थितिमा रहेको नेपालले ४९ रनमा बाँकी ९ विकेट गुमाएको थियो । मध्यक्रमका ब्याट्सम्यान शरद भेषावकरलाई फिल्डिङका क्रममा औंलामा चोट लाग्नु पनि नेपालका लागि ठूलो धक्का भयो । ११ औं नम्बरमा ब्याटिङ गर्न आएका उनी ४ रन बनाई आउट भए । शरद शुक्रबार हुने अर्को खेल खेल्न नसक्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा सम्भवत् आफ्नो अन्तिम खेल खेलिरहेका शक्ति गौचन ९ रनमा नटआउट रहे ।


धेरैपछि नेपालबाट ठूलो स्कोर बनाउन सफल ज्ञानेन्द्रले आकर्षक कभर ड्राइभहरू प्रहार गरेका थिए । अनिल २१ रन बनाई फ्रेड क्लासेनको बलमा आउट भए पनि ज्ञानेन्द्रले नेपालको इनिङ्सलाई तानेका थिए । पारसलाई १२ रनमा नेदरल्यान्ड्सका कप्तान पिटर सेलारले आउट गरे । ५७ बलमा अर्धशतक पूरा गरेका ज्ञानेन्द्रले त्यसपछि १ रनमात्र जोड्न सके । उनी माइकल रिप्पोनको बलमा एलबीडब्लू आउट भए । ६१ बलको इनिङ्समा ज्ञानेन्द्रले ८ चौका प्रहार गरे ।


यहींबाट नेपालको नाटकीय पतन भयो । आरिफ शेख, सोमपाल कामी र वसन्त रेग्मी शून्यमा आउट भए । दीपेन्द्रसिंह ऐरी विकेटमा टिकिरहे । उनलाई भेट्रान शक्तिको साथ रहयो । ४८ बलमा २ चौका र १ छक्कासहित ३३ रन बनाएका दीपेन्द्रलाई फ्रेड क्लासेनले आउट गरे । शून्यमा आउट हुने सूचीमा करण केसी पनि थपिए । रिप्पोनले २३, सिलारले २० र क्लासेनले ३० रन खर्चेर समान ३ विकेट लिए ।


यसअघि नेदरल्यान्ड्सको ब्याटिङलाई पारसले सटिक लाइन र लेन्थबाट भत्काएका थिए । सोमपाल कामीले तेस्रो ओभरमा डानियल टेर ब्राकलाई आउट गरी पहिलो सफलता दिलाएका थिए । बेन कुपरले २० रन बनाउँदै स्टेफन माइबर्गसँग दोस्रो विकेटमा ४५ रनको साझेदारी गरे । पारसले कुपरलाई एलबीडब्लू धरापमा पारे । २९ बलमा ३२ रन बनाएका माइबर्गलाई युवा स्पिनर सन्दीप लामिछानेले बोल्ड गरे । माइबर्गले करण केसीलाई लगातार तीन चौका प्रहार गरेका थिए । उनले कुल ४ चौका र १ छक्का प्रहार गरे ।
वेस्ली बारेसीलाई पारसले १२ रनमा आरिफ शेखबाट पहिलो स्लिपमा क्याच गराएपछि नेदरल्यान्ड्स ७२–४ को स्थितिमा पुगेको थियो । बास डे लिड र रिप्पोनले पाँचौं विकेटमा जोडेको ६८ रन महत्त्वपूर्ण बन्यो । डी लिडलाई सोमपालले आउट गरे । उनले ६० बल खेली १ चौका र १ छक्का प्रहार गरे । वसन्तको बलमा शक्तिले एकहाते सुन्दर क्याच लिएर सिलारलाई ५ रनमा आउट गरे ।


ठूलो विकेट नेपालले ४० औं ओभरमा लियो, जब पारसले रिप्पोनलाई दीपेन्द्रबाट क्याच गराए । रिप्पोनले ७६ बल खेली २ चौका प्रहार गर्दै ५१ रन बनाए । दुई बलपछि शेन स्नाटरलाई बोल्ड गर्दै पारसले नेदरल्यान्ड्सको स्थिति १५९–८ मा पुर्‍याए । पुछारका ब्याट्सम्यानको योगदानमा नेदरल्यान्ड्सले स्कोर १ सय ८९ रन पुर्‍यायो ।


मध्यम गतिका बलर पारसले १० ओभरमा २६ रन खर्चेर ४ विकेट लिए । सोमपालले ८.४ ओभरमा १ मेडन राख्दै ३४ रन खर्चेर ३ विकेट लिए । करण, सन्दीप र वसन्तको नाममा १–१ विकेट रहयो ।


गार्ड अफ अनर लिँदै शक्ति गौचन


पहिलो वान–डे अन्तर्राष्ट्रिय खेल्ने नेपाली टोली


ज्ञानेन्द्र मल्ल


सन्दीप लामिछाने


सोमपाल कामी


नेपाली समर्थक

प्रकाशित : श्रावण १७, २०७५ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?