कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रग्बी सेभेन्सको आशा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली टोलीका कप्तान कृष्ण क्षेत्रीले सिंगापुरमा हुने एसिया रग्बी सेभेन्स ट्रफीमा राम्रो गर्ने आशा रहेको बताएका छन् ।

रग्बी सेभेन्सको आशा

‘केही गर्छौं भन्ने आस छ र गर्नुपर्छ पनि,’ बुधबार टिमको बिदाइमा कप्तान कृष्णले भने, ‘हामीसँग विगतको अनुभव पनि छ । त्यसैले यसपालि राम्रो गर्ने आशा र विश्वास छ ।’ १२ खेलाडीसहितको नेपाली टोली बिहीबार सिंगापुर जानेछ । अगस्ट ४ र ५ मा सिंगापुरमा हुने महादेशीय प्रतियोगितामा १३ देशले प्रतिस्पर्धा गर्दै छन् । त्यसमा नेपालले यूएई, जोर्डन र इन्डोनेसिया रहेको समूह ‘बी’ मा प्रतिस्पर्धा गर्नेछ ।

‘यूएई कठिन टिम हो,’ कप्तान कृष्णले भने, ‘जोर्डनविरुद्ध जित हात पार्ने आशा छ । इन्डोनेसिया वरीयताप्राप्त टिम हो । हामी वरीयताविहीन भए पनि उसलाई पराजित गर्नसक्छौं भन्ने लागेको छ ।’

समूह ‘ए’ मा चार र समूह ‘सी’ मा पाँच टिम छन् । सर्वाधिक अंकका आधारमा शीर्ष चार टिम विश्व च्याम्पियनसिपलाई लागि छनोट हुनेछन् । उनीहरूले नै एसियाली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । अरु टिमले प्लेट र बल च्याम्पियनसिप खेल्नेछन् । अन्तिम स्थानमा रहने टिमको यात्रा भने समूह चरणमै सकिनेछ ।

‘एसिया रग्बी सेभेन्सका लागि दुई महिना प्रशिक्षण गरेका छौं । सबैले मिहिनेत गरे । त्यसैले उच्च स्तरमा प्रदर्शन गर्ने आशा छ, जसले नेपाली रग्बीलाई परिवर्तन गर्नसक्छ,’ नेपाली टोलीका मुख्य प्रशिक्षक राधिका हेटियाचीले भने । यी श्रीलंकाली प्रशिक्षकले नयाँ खेलाडीको रूपमा आर्मीका झुकेन राई, सञ्जय अधिकारी, हुतराज प्रधान, सिकिन्दर चौधरी र हिमालयन रग्बी क्लबका विक्रम पुरीलाई लिएका छन् । कप्तान कृष्ण, उपकप्तान विराट श्रेष्ठ, कृष्णप्रसाद धमला, जनक वाइबा, श्रीराम श्रेष्ठ, विराट ऐडी र प्रेमबहादुर कोइराला भने अन्तर्राष्ट्रिय प्रतियोगिताका पुरानै खेलाडी हुन् ।

नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङका अनुसार नेपाली महिला टिमले पनि एसिया रग्बी सेभेन्स ट्रफीमा प्रतिस्पर्धा गर्नेछ । ब्रुनाईमा अक्टोबर २२ र २३ मा हुने महिलाको प्रतियोगितालाई नेपाली टोलीको बन्द प्रशिक्षण भइरहेको उनले बताए ।

प्रकाशित : श्रावण १७, २०७५ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?