एसियाली खेलकुद: प्रदर्शन सुधार्ने लक्ष्य

सुबास हुमागाईं

काठमाडौँ — टंकबहादुर कार्कीले चार वर्षअघि कोरियामा नेपालका लागि गल्फमा एसियाडकै उत्कृष्ट प्रदर्शन गरेका थिए । १७ ओभर ३ सय ५ को स्कोरसहित शिवराम श्रेष्ठले सन् २००६ मा बनाएको स्कोरलाई एक स्ट्रोकले पछाडि पारेका उनको अन्तिम दिनको प्रदर्शन भने खराब रहेको थियो ।

एसियाली खेलकुद: प्रदर्शन सुधार्ने लक्ष्य

पहिलो दिन १ ओभर लेखाएका उनले दोस्रो र तेस्रो दिन ५ र ३ ओभरको स्कोर बनाए ।

तर अन्तिम दिन ८ ओभर ८० खेलेपछि उनी ४६ औं स्थानमा पुगे । टंक चार वर्षपछि उक्त प्रदर्शनलाई अझै सुधार गर्ने लक्ष्यसहित इन्डोनेसियामा हुने एसियाडमा सहभागिता जनाउँदै छन् ।

नेपाली टोलीमा एसियाडका लागि टंकसँगै शुक्रबहादुर राई, अजित विक र पृथ्वी मल्ल रहेका छन् । टोली पछिल्लो दुई महिनादेखि गोकर्ण गल्फ क्लबमा दैनिक प्रशिक्षणमा व्यस्त छ ।

टोलीका प्रशिक्षक दीपक आचार्यले इन्डोनेसियामा खेल हुने पोन्डोक इन्डा गल्फ कोर्सबारे विस्तृत अध्ययन गरेर त्यसैअनुसार टोलीको तयारी अगाडि बढाएका छन् । ’इन्डोनेसियाको कोर्स यहाँ उपलब्धभन्दा निकै फरक छ । कुनै होल हामीकहाँ उपलब्धभन्दा धेरै लामो दूरीका छन् । त्यसलाई ध्यानमा राखेर विशेष प्रशिक्षण शैली अपनाएका छौं,’ आचार्यले भने ।

नेपाली टोली एसियाड तयारीका लागि आइतबार थाइल्यान्ड प्रस्थान गरेको छ । नेपाल गल्फ संघले २० दिने विशेष प्रशिक्षणका लागि हुआहिनस्थित स्प्रिङफिल्ड गल्फ कोर्समा टोलीको सम्पूर्ण व्यवस्था मिलाएको छ । थाई प्रशिक्षक जित्ती श्रीतानापोलले तीन सातासम्म नेपाली टोलीलाई विशेष प्रशिक्षण दिनेछन् । अगस्ट २३ देखि २६ सम्म चार दिन चल्ने प्रतियोगिताका लागि नेपाली टोलीले खेलस्थलमै दुई दिन प्रशिक्षण गर्नेछ ।

प्रशिक्षक आचार्यका अनुसार नेपाली टोलीले थाइल्यान्डमा गरेको प्रशिक्षणले एसियाडमा निकै सहयोग पुग्नेछ । ‘थाइल्यान्डमा हामीले प्रशिक्षण गर्ने कोर्स निकै उच्चस्तरको छ । नेपालको तुलनामा इन्डोनेसिया धेरै गर्मी र हावा लाग्ने ठाउँ हो । थाइल्यान्डको मौसमले केही हदसम्म खेलाडीलाई प्रतियोगिता अगाडि वातावरणसँग घुलमिल हुन सहयोग पुर्‍याउँछ,’ उनले भने ।

एमेच्योरतर्फ पहिलो वरीयताका टंकले सूर्य नेपाल गल्फ टुरको राम्रो लयलाई प्रशिक्षणमा पनि जारी राखेका छन् । उनले यसपटक राम्रो तयारी भएकाले नतिजा पनि राम्रो हुने अपेक्षा राखेका छन् । ‘यसपटक निकै राम्रो प्रशिक्षण भएको छ । प्रतियोगितामा उत्रेपछि लक्ष्य भनेको स्वर्ण जित्ने नै हुन्छ । पछिल्ला प्रदर्शनभन्दा धेरै सुधार भएकाले नतिजा पनि त्यसैअनुसार आउने आशा छ,’ उनले भने । वैदेशिक प्रशिक्षणले टोलीको मनोबल उच्च हुने र थाई प्रशिक्षकबाट नयाँ कुरा सिक्न पाइने उनले बताए ।


नेपालले सन् २०१९ मार्चमा दक्षिण एसियाली खेलकुद (साग) आयोजना गर्दैछ । आयोजक राष्ट्रको हैसियतले नेपालले गल्फ र कराँतेलाई पनि सागमा समेटेको छ । नेपालमा हुने सागमा गल्फ समेटिनुले खेलाडीको हौसला बढेको प्रशिक्षक आचार्यले बताए । ‘सागमा गल्फ समेटिनुले टोलीको मनोबल बढेको छ । नेपालमै हुने भएकाले पदकको आशा पक्कै रहन्छ । टोलीमा रहेका खेलाडीले नियमित प्रशिक्षणमा मिहिनेत गरेका छन् र त्यसैअनुसार खेलमा सुधार पनि आएको छ,’ उनले भने ।

प्रशिक्षणमा निकै राम्रो प्रदर्शन गरिरहेको शुक्र यसपटकको तयारी हालसम्मकै उत्कृष्ट रहेको बताउँछन् । ‘हामीलाई गल्फ संघले निकै राम्रो सुविधा दिएको छ । सबै पक्षमा राम्रो व्यवस्थापन भएकाले सोचेभन्दा राम्रो तयारी पाएका छौं । एसियाका उत्कृष्ट गल्फरहरूसँग पदकका लागि निकै संघर्ष गर्नुपर्ने भए पनि आफ्नोतर्फबाट उत्कृष्ट प्रदर्शन गर्नेछौं । चार दिनको खेलमा अन्डर पार स्कोर बनाउने लक्ष्य रहेको छ,’ एमेच्योरतर्फ दोस्रो वरीयताका शुक्रले भने ।

अजित र पृथ्वी पनि पहिलो अन्तर्राष्ट्रिय सहभागितामा आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने सुरमा छन् । टंक र शुक्रले भने यसअघि विभिन्न प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै आएका छन् । दक्षिण एसियाली खेलकुदका लागि तयारीस्वरूप पनि एसियाडलाई लिइएको छ । हालसम्मकै उत्कृष्ट तयारी र विशेष वैदेशिक प्रशिक्षणले टोलीले एसियाडमा गर्दै आएको प्रदर्शन सुधार गर्ने अपेक्षा रहेको छ ।

प्रकाशित : श्रावण १५, २०७५ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?