२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

नेपाल र नेदरल्याण्ड्सबीचको खेल रद्द

नबिन पोखरेल

लन्डन — वर्षाका कारण विश्वविख्यात लर्ड्स मैदानमा आइतबार नेपाल र नेदरल्याण्ड्सबीचको टी–२० खेल रद्द भएको छ । नेपालले एक दिवसिय अन्तर्राष्ट्रिय मान्यता पाएपछिको पहिलो २०–२० अन्तर्राष्ट्रिय खेल वर्षाले बिचमै बिथोलेको हो ।

नेपाल र नेदरल्याण्ड्सबीचको खेल रद्द

नेपालको कप्तान पारस खड्काले टस जितेपछि निम्त्याइएको नेदरल्याण्ड्सले १६.४ ओभरमा ४ विकेट गुमाई १७४ रन बनाएको अवस्थामा खेल वर्षाका कारण पूर्ण रुपमा रोकिएको थियो । यसअघि पनि खेल वर्षाले पटकपटक अवरुद्ध पारेको थियो ।

नेपालले २०१५ को विश्व २०–२० छनोट पछि पहिलोपटक २०–२० अन्तर्राष्ट्रिय खेलेको हो । मार्चमा जिम्बाबेमा भएको विश्वकप छनोटमा आठौं भएसँगै एक दिवसिय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपालको गुमेको २०–२० अन्तर्राष्ट्रिय मान्यता पनि फिर्ता भएको थियो ।

कप्तान खड्का लर्ड्समा खेल्ने यस्तो अवसर पुन: आउने विश्वस्त छन् । ‘ लर्ड्समा खेल्न पाउनु पक्कै पनि ठूलो अवसर थियो तर दुर्भाग्य मौसमले साथ दिएन,’ पारसले कान्तिपुरसंग भने, ‘यो हाम्रो नियन्त्रणमा हुने कुरा पनि भएन । यद्यपि, अलि अलि भएपनि खेल्न पायौं । मलाई आशा छ एमसीसीले यो परम्परा कायम राख्ने छ ।’

लन्डनमा आइतबार दिनभरजसो वर्षा हुँदा एकदिने त्रिकोणात्मक २०–२० श्रृंखलाको आयोजक मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्याण्ड्स तथा नेपाल र एमसीसीबीचको खेल ६–६ ओभरमा छोट्याइएको थियो ।

एमसीसीसंगको खेलमा भने नेपालले ९ विकेटको जित हात पारयो । ४१ रनको लक्ष्य सजिलै पार गर्दै नेपालले जितेको हो । उता, निर्धारित समयभन्दा ढिलो गरि शुरु यसअघिको पहिलो खेलमा नेदरल्याण्डस्ले एमसीसीलाई १० रनले पराजित गरेको थियो ।

दुई वर्षपछि नेपाल, एमसीसी र नेदरल्यान्ड्सबीच टी–२० त्रिकोणात्मक श्रृंखलाका लागि ‘दि होम अफ क्रिकेट’ भनिने लर्ड्समाउत्रिएको नेपाली टिमलाई हौसला प्रदान गर्न लन्डनस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, दूतावासका अन्य कर्मचारी, नेपालका लागि पूर्व बेलायती राजदूत, ब्रिटिश शुभचिन्तकहरु, बेलायतस्थित प्रमुख नेपाली संघसंस्थाका प्रतिनिधि, महानायक राजेश हमालसहित सयौं मैदानमा उपस्थित थिए ।

नेपाल र नेदरल्यान्ड्सबीच आम्स्ट्राडाममा अगस्ट १ र ३ दुई खेलको एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखला हुँदै छ । नेपालले पहिलोपटक एक दिवसिय अन्तर्राष्ट्रिय खेल्न लागेको हो ।



प्रकाशित : श्रावण १४, २०७५ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?