एपीएफलाई लालबन्दी गोल्डकप
सर्लाही — एपीएफ क्लबले लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा शनिबार नेपाल पुलिस क्लबलाई २–१ ले हराउँदै उपाधि जितेको छ । विजेताले प्रदेश २ कै सर्वाधिक धनराशि सात लाख रुपैयाँ पुरस्कार जितेको छ ।
उपविजेता पुलिसले ३ लाख ५० हजारमा चित्त बुझाएको थियो । फाइनल खेल हेर्न दर्शकको बाक्लो उपस्थिति थियो ।
सुरुमै अग्रता लिएको एपीएफले सहजै खेल जितेको हो । खेलको २९ औं मिनेटमा एपीएफका युवराज खड्काको पासलाई प्रवीण स्याङतानले गोल गरेर टोलीलाई अग्रता दिलाए ।
पुलिसका खेलाडीले खेल बराबरीमा पुर्याउन गरेको प्रयासमा एपीएफको रक्षापंक्ति बाधक बनिरह्यो । पुलिसका खेलाडीले राम्रो अवसर सदुपयोग गर्न नसकेपछि एपीएफको अग्रतामै मध्यान्तर अगाडि नै रहयो ।दोस्रो हाफको सुरुआत पुलिसका लागि सुखद रह्यो । मध्यान्तरपछि छैटौं मिनेटमा पुलिसले पेनाल्टी हान्ने अवसर पायो । पुलिसका कप्तान भोला सिलवालको पेनाल्टी प्रहार एपीएफका गोलकिपर राजु नगरकोटीले रोके । पुलिसका खेलाडीले राम्रा अवसर गुमाएपछि खेलमा शिथिलता आयो ।
दोस्रो हाफको ३० औं मिनेटमा पुलिसका अजित भण्डारीको प्रहार बचाउने क्रममा एपीएफका डिफेन्डर रमेश दंगालले आत्मघाती गोल गर्न पुगे । आत्मघाती गोलले खेल बराबरीमा पुगेलगत्तै पुलिस खेलाडी बढी मिहिनेतमा जुटे । पुलिसको तर्फबाट अजित भण्डारी र रवि पासवानले राम्रो अवसर बनाउँदै प्रहार गरे पनि सबै असफल भए । ३३ औं मिनेटमा एपीएफका प्रवीण स्याङतानको पासमा रुपबहादुर लामाले सहजै गोल गरेका थिए ।
सर्वाेत्कृष्ट खेलाडी घोषित एपीएफका प्रवीण स्याङतानले ५० हजार रुपैयाँ पुरस्कार पाए । उदीयमान खेलाडी सर्लाही ११ का सनी चौधरी भए । उनले मोटरसाइकल पुरस्कार हात पारे । एपीएफका गोलकिपर राजु नगरकोटीले उत्कृष्ट गोलरक्षकको पुरस्कार पाए ।