२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

तीन नेपाली खेलाडी भुटानी क्लबमा

सुबास हुमागाईं

काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्डद्वय नवयुग श्रेष्ठ र जर्जप्रिन्स कार्की तथा डिफेन्डर जितेन्द्र कार्कीले भुटानी क्लबबाट खेल्ने भएका छन् । भुटानको पश्चिमी जिल्ला पारोमा रहेको पारो फुटबल क्लबबाट उनीहरूले खेल्ने भएका हुन् ।

तीन नेपाली खेलाडी भुटानी क्लबमा

भुटानको राष्ट्रिय लिगमा छनोट हुनका लागि हुने दुई प्लेअफ खेलमा उनीहरूले पारो एफसीको प्रतिनिधित्व गर्नेछन् । तीनै खेलाडी त्रिभुवन आर्मी क्लबसँग आबद्ध छन् ।


एक वर्षअघि स्थापना भएको पारो एफसीले प्लेअफमा पारो युनाइटेड फुटबल क्लबको सामना गर्नेछ । हाललाई तीनै खेलाडीले प्लेअफका लागि मात्र खेल्ने सम्झौता गरेका छन् । प्लेअफको पहिलो खेल पारोको घरेलु मैदान वोचुमा जुन १३ मा हुनेछ । दोस्रो लेग १५ जुनमा खेलिनेछ । यो प्लेअफ विजेता भुटानको राष्ट्रिय लिगमा छनोट हुनेछ ।


नेपाली राष्ट्रिय टोलीबाट बंगबन्धु गोल्डकप र दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक दिलाउन मुख्य भूमिका खेलेका नवयुगले पहिलोपल्ट विदेशी लिगमा खेल्ने अवसर पाउन लाग्दै निकै खुसी लागेको बताए । ‘विदेशी लिगमा खेल्ने पहिलो अनुभव हो । आफूलाई सिद्ध पार्ने दबाब त छ नै । सागसँगै यसलाई अवसरको रूपमा पनि लिएको छु,’ उनले भने ।


राष्ट्रिय टोलीबाट खेलिसकेका डिफेन्डर जितेन्द्रले पनि राम्रो अवसर भएकाले नै स्विकारे बताए । ‘सुगन (तण्डुकार) दाइमार्फत राम्रो अवसर प्राप्त गर्‍यौं । विदेशी लिगमा खेलेको अनुभव पनि बटुल्न पाइने हुनाले जान खोजेका हौं । आफूले सक्दो मिहिनेत गरेर राम्रो नतिजा ल्याउने लक्ष्य छ,’ कार्कीले भने ।


गतवर्ष मात्र राष्ट्रिय टोलीबाट डेब्यू गरेका फरवार्ड जर्जप्रिन्सले पनि भुटान जाँदैछन् । एएफसी एसियन कपअन्तर्गत ताजिकिस्तानविरुद्ध नेपालमा भएको खेलबाट गरेका प्रिन्स त्यसयता राष्ट्रिय टोलीमा नियमित पर्दै आएका छन् ।

प्रकाशित : जेष्ठ २६, २०७५ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?