कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सुनील चम्किँदा पुलिसको जित

प्रधानमन्त्री कप

काठमाडौँ — राष्ट्रिय टोलीको ढोका घच्घचाइरहेका सुनील धमलाको सानदार अर्धशतकप्रेरित नेपाल पुलिस क्लबले एक्सेल्सिया प्रधानमन्त्री कप अन्तरप्रदेश वान–डे क्रिकेटमा राम्रो सुरुआत गरेको छ । आफ्नो पहिलो खेलमा पुलिसले सोमबार प्रदेश नम्बर ७ माथि १ सय ७४ रनको सानदार विजय पायो ।

सुनील चम्किँदा पुलिसको जित

कीर्तिपुरस्थित त्रिवि मैदान सुनीलले ८३ रन बनाएपछि पुलिसले निर्धारित ५० ओभरमा ६ विकेट गुमाई ३ सय २४ रन बनायो । उनी आरिफ शेखसँग समझदारी मिलाउन नसक्दा रनआउट भए । आरिफले ५७ रन बनाए । कप्तान मन्जित श्रेष्ठ ४९ रनमा नटआउट रहे । वर्षाका कारण पटक–पटक रोकिएको खेलमा प्रदेश ७ ले ३७ ओभरमा ७ विकेट गुमाई १ सय ३० रन बनाएपछि थप खेल हुन सकेन ।

सुनीलले दिलीप नाथसँग पहिलो विकेटमा १९ ओभरभित्र ९२ रन जोडेका थिए । ५३ बलमा ४ चौका प्रहार गरी २७ रन बनाएका दिलीपलाई सन्तोष भट्टले आउट गरे । दीपेन्द्रसिंह ऐरीले २२ बलमा ४ चौका प्रहार गरी २५ र कुशल भुर्तेलले ३० बलमा ३ चौका प्रहार गरी २२ रन बनाए । सुनील र आरिफले ६ ओभरभित्र ५१ रन जोडे । रनका लागि अगाडि बढ्दा आरिफले फर्काएपछि सुनील रनआउट हुन पुगे । १ सय १३ बल खेलेका सुनीलले ९ चौका प्रहार गरे ।

सुरुदेखि आक्रामक देखिएका आरिफले ३७ बल खेली २ चौका र ५ छक्कासहित ५७ रन बनाए । उनले मन्जितसँग ३९ बलमा ५८ रन जोडे । एक समय व्यक्तिगत अर्धशतक पूरा भयो भनी ब्याट उठाएर दर्शकलाई अभिवादन गरिसकेका मन्तिज अन्तमा त्योभन्दा १ रनले पछाडि थिए । उनले ३३ बल खेली ४ चौका र ३ छक्का प्रहार गरे । सिद्धान्त लोहनी १४ बलमा ३ चौका र १ छक्का प्रहार गरी २६ रन बनाए । रिभर्स स्वीप प्रहार गर्न खोज्दा उनलाई इनिङ्सको अन्तिम बलमा सुरेन्द्र चन्दले बोल्ड गरे ।

अर्धशतक बनाएपछि आरिफ शेख ।

प्रदेश ७ का ओपनर रोहित सिंह शून्यमा आउट भए । सञ्जु धामी ६, विजय राना ५ रनमा आउट भए । रोशन नेपालीले ३ चौका प्रहार गरी १३ रन बनाए । शेर मल्लले पनि खाता खोल्न सकेनन् । अरुण ऐरीले ८८ बल खेली ५ चौका र ३ छक्का प्रहार गरी ७० रन बनाएपछि प्रदेश ७ को स्कोर हेर्नलायक भयो । सन्तोष १०, सुरेन्द्र ५ रनमा आउट भए । सागर भण्डारी ३३ बल खेली ९ रनमा नटआउट रहे ।

पुलिसका दीपेन्द्रले ८ ओभरमा १ मेडन राख्दै १९ रन खर्चेर ४ विकेट लिए । ललितसिंह भण्डारीले २ र ललितनारायण राजवंशीले १ विकेट लिए । प्रदेश ७ ले अघिल्लो दिन प्रदेश ६ लाई हराएको थियो ।

प्रदेश १ विजयी
मुलपानी क्रिकेट मैदानमा सम्पन्न अर्को खेलमा प्रदेश १ ले प्रदेश २ माथि डकवर्थ लुइस पद्धतिमा ६८ रनको विजय पायो । वर्षाले प्रभावित खेलमा टस जितेको प्रदेश १ ले ७ विकेट गुमाई २ सय २३ रन बनायो । जवाफमा महबुब आलमको कप्तानीमा रहेको प्रदेश २ नम्बर ३० ओभरमा १ सय ४५ रनमै अलआउट भयो ।

ओपनर सन्दीप ढुंगानाले प्रदेश १ बाट ५१ रन बनाए । ६९ बल खेलेका उनले ८ चौका प्रहार गरे । रवि रोय २, राजन मगर, कप्तान पुष्प थापा र अंकित सुवेदी समान १२, मिनास थापा १४ र सन्नी पुन १५ रनमा आउट भए । फिर्दोश अन्सारी ३७ र श्रवण यादव ३४ रनमा नटआउट रहे । फिर्दोशले ३३ बल खेली २ छक्का र श्रवणले ३६ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । प्रदेश २ का शम्साद शेखले १० ओभरमा ३२ रन खर्चेर ४ र महबुबले २ विकेट लिए । हरिशंकर शाहको नाममा १ विकेट रह्यो ।

ओपनर हरिशंकरले ४४ रन बनाए पनि प्रदेश २ ले गतिलो चुनौती दिन सकेन । उनले ६६ बल खेली ६ चौका प्रहार गरे । कुन्दन सिंह १६, राहुलप्रताप सिंह २२, रनमा आउट भए । रितेश सिंह १० रनमा नटआउट रहे । सुरज पटेल शून्य, हासिम अन्सारी १, महबुब ८ र शम्साद शून्यमा आउट भए । प्रदेश १ का पुष्प र मिनासले ३–३ विकेट लिए । ओपनिङ बलिङमा आएका अफ स्पिनर म्यान अफ द म्याच पुष्पले ८ ओभरमा २ मेडन राख्दै २३ र मिनासले ७ ओभरमा २९ रन खर्चे । मनोज तामाङले २ तथा फिर्दोश र सन्दीपले १–१ विकेट लिए ।

प्रकाशित : जेष्ठ १५, २०७५ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?