कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

अराजक खेलाडी मूकदर्शक एन्फा

राजु घिसिङ

काठमाडौँ — थ्रीस्टार क्लबले चिरपरिचित प्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दीलाई हराएर अघिल्लो शनिबार पाँचौं उदयपुर गोल्डकप फुटबलको उपाधि जित्यो । खेल सकिँदा दुवै टिम १० खेलाडीमा सीमित भएका थिए ।

अराजक खेलाडी मूकदर्शक एन्फा

थ्रीस्टारका अजायी मार्टिन्स र मनाङका विमल बस्नेतले रातो कार्ड बेहोर्दै मैदान छाडे । दोस्रो हाफमा उनीहरू झगडामा ओर्लिएको भिडियो भाइरल नै भएको छ ।

हुन त यी मनाङ र थ्रीस्टारको खेल कुनै पनि बेला तनावपूर्ण हुने गर्छ । तर कुरा खेललाई लिएर हुने झगडाको होइन, मोफसलका प्रतियोगितामा भइरहेका नियमित झगडाको हो । बल मैदानको एकातिर थियो, त्यसै बेला मैदानको अर्को क्षेत्रमा विमल र मार्टिन्स एकअर्काविरुद्ध आक्रमणमा ओर्लिएका थिए । रेफ्री नवीन्द्र महर्जनले दुवैलाई रातो कार्ड दिएर मैदानबाहिर पठाए । तत्काललाई झगडा साम्य भयो । फाइनल सकियो । थ्रीस्टार च्याम्पियन ।

विश्वव्यापी रूपमै ‘फेयर–प्ले’ नारा दिइएको फुटबलमा हातपात गर्ने खेलाडीलाई दण्ड दिन रातो कार्ड मात्र पक्कै पनि पर्याप्त सजाय हुन सक्दैन । उदयपुर जिल्ला फुटबल संघद्वारा आयोजित उदयपुर गोल्डकपको फाइनलमा भएको उक्त घटनालाई लिएर अखिल नेपाल फुटबल संघ (एन्फा) ले छानबिन समिति बनाएको छ । मोफसलका प्रतियोगितामा भएको घटनालाई लिएर सम्भवत: एन्फा आफैंले पहिलोपल्ट केही गर्ने तदारुकता देखाएको हो ।

एन्फा आफ्नै राजनीतिमा रुमल्लिएको बेला मोफसलमा नकआउट प्रतियोगिताको ओइरो नै लाग्यो । त्यसैले राजधानी सुनसान भए पनि लिग नहुँदा मोफसलकै प्रतियोगिता नेपाली फुटबलको ‘मेरुदण्ड’ बन्यो । तर यही समयमा मैदानभित्र खेलाडीहरू अनुशासनहीन बन्ने क्रम पनि बढ्यो । २०७५ सालको पहिलो प्रतियोगिता माईभ्याली गोल्डकपमा एपीएफका खेलाडीले इलामको मैदानमा देखाएको हर्कत विश्व फुटबलको नारा सुहाउँदो थिएन ।

युट्युबमा छाएको भिडियोअनुसार एपीएफका डिफेन्डर आदित्य चौधरीले थ्रीस्टारका मार्टिन्सलाई हातपात गरेको देखिन्छ । मैदानमा ढलेका मार्टिन्सलाई एपीएफका युवराज खड्काले लातले हानेका छन् । रातो कार्ड पाएर बाहिरने क्रममा आदित्यले मैदानमै जर्सी खोलेर फालेका छन् । आदित्य उनै खेलाडी हुन्, जो १२ औं साग, बंगबन्धु गोल्डकप र सोलिडारिटी कप विजेता नेपाली टिमका महत्त्वपूर्ण सदस्य थिए । ती उपाधि जित्दा उनलाई नेपालीले हिरोका रूपमा सम्मान गरेका थिए । गत महिना इलाममा देखिएको उनको रूप हिरोका लागि कदापि स्वीकार्य हुन्न ।

आर्मीका फरवार्ड नवयुग श्रेष्ठ लाखौं नेपाली बालबालिकाका लागि रोल–मोडल नै हुन् । उनीहरू नवयुगले जे गर्छन्, त्यसैलाई पछयाउन चाहन्छन् । तर नवयुगले झापा गोल्डकपको फाइनलमा दर्शकप्रति गरेको ‘व्यवहार’ पछयाउन लायक थिएनन्, उनको चरित्र रोल–मोडल मान्न लायक थिएन । त्यसैले त टिम म्यानेजर प्रकाशराज थापाले दर्शकसँग माफी माग्नुपरेको थियो । त्यसमा दर्शकले पनि भलाद्मीपन भुलेका थिए ।

इंग्ल्यान्ड, स्पेन, जर्मनी वा त्यस्तै फुटबल व्यवस्थित गरिएको देशमा भएको भए आदित्य, युवराज, मार्टिन्स, विमल, नवयुगको करिअरप्रति नै गम्भीर प्रश्न तेर्सिने थियो । उनीहरूलाई थुप्रै खेल वा लामो अवधिको प्रतिबन्ध र जरिवाना त कसैले रोक्न सक्ने थिएन । उनीहरूले नेपालमै भएकाले, त्यो पनि एन्फाले बेवास्ता गर्दा खुलेर खेल्ने र चाहेअनुसार व्यवहार गर्ने अवसर पाइरहेका छन् । अखिर यस्तो कहिलेसम्म ?सर्लाहीमा चैतमा भएको राजर्षि जनक कप फाइनलको दृश्य त अझै भयानक थियो । टिम थिए, सुदूरपश्चिम ११ र आर्मी । दोस्रो हाफमा विकास खवासलाई डरलाग्दो ‘फाउल’ गरेपछि रेफ्री सुदीश पाण्डेले सुदूरपश्चिमका आरोनलाई रातो कार्ड दिएका थिए । आरोन मैदानमै थिए, रेफ्री पाण्डे अर्कैतिर लागे । अनि भयो हातपात । त्यसले मैदानलाई नै मोर्चामा परिणत गरिदियो । दुवै टिमका खेलाडी किक वर्षामा लागेका थिए । यसबीच दर्शकले पनि आर्मीका खेलाडीलाई प्रहार गरे । वागमती नगरपालिकाका मेयरजस्तो गरिमामय पदमा चुनिएका व्यक्ति पनि मैदानमै पुगेर खेलाडीलाई हप्काउन भ्याए ।

अन्तत: त्यो दिन फाइनल स्थगित भयो र बाँकी समय भोलिपल्ट खेलाउने आयोजक वागमती युवा क्लबको निर्णयलाई सुरक्षाको कारण देखाउँदै आर्मीले अस्वीकार गरिदियो । टिमलाई काठमाडौं फर्काउन पनि आर्मीले ब्यारेकबाहिरको स्थिति बुझ्नुपरेको थियो । खेलाडीलाई नै सुरक्षा दिन सक्दैन भने त्यस्तो स्थानमा प्रतियोगिता आयोजना गर्न एन्फाले किन स्वीकृति दिन्छ ? खेलाडीलाई सुरक्षित र क्लबलाई व्यवस्थित गर्न सके मात्र प्रतियोगिता सफलतापूर्वक सम्पन्न हुनसक्छ । त्यसैले एन्फाले प्रतियोगितालाई मान्यता दिनुपूर्व मापदण्ड तोक्ने बेला भइसकेको छ ।

सर्लाहीको झगडाले एन्फाको रेफ्री समितिको सिफारिसबिना पुगेका निर्णायकहरूले राजर्षि जनक कप खेलाइरहेको रहस्य खुलेको थियो । यसरी सहभागी हुँदा रेफ्रीमाथि दुव्र्यवहार हुन्छ भने त्यसको जिम्मेवार कसलाई मान्ने ? हुन त बुढासुब्बा गोल्डकपमा युद्ध शाही र तिलोत्तमा गोल्डकपमा जुमनु राईले रेफ्रीलाई हातपात गरे पनि त्यस घटनाप्रति एन्फा चुप बसेको थियो । देशको फुटबलको सर्वोच्च संस्थाले नै आँखा चिम्लिने गर्छ भने त्यस्तो अवस्थामा रेफ्रीले कसरी सही निर्णय दिनसक्छ ?

अर्को कुरा, राजधानीमा भएका प्रतियोगितामा रेफ्रीमाथि हातपात गर्दा खेलाडीले एक वर्षदेखि १६ महिनासम्म प्रतिबन्ध बेहोरेका छन् । खेलाडीबीच एक–अर्कामा हातपात हुँदा पनि थप खेलमा निलम्बन गरिएका छन् । तर त्यस नियमलाई एन्फाले काठमाडौं उपत्यकामै सीमित गरेको छ, मोफसलको प्रतियोगितामा लागू गर्ने प्रयास गरेको छैन । आज रातो कार्ड बेहोरेका वा झगडा गरेका खेलाडीले भोलि अर्को प्रतियोगितामा पुरस्कृत भइरहेको भेटिन्छ । रातो कार्ड र हातपातले खेलाडीलाई प्रतिस्पर्धामा खासै असर गरेको देखिन्न । त्यसैले खेलाडीको बढ्दो अनुशासनहीनता तोड्न पनि मोफसलका प्रतियोगितालाई एन्फाले मापदण्ड बनाएर नियमन गर्नुपर्ने टड्कारो आवश्यकता छ ।

प्रकाशित : जेष्ठ १३, २०७५ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?