२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

पार्माको अद्वितीय कथा

सन् २०१५ मा पार्मालाई टाट पल्टेको घोषणा गरियो । इटालियन फुटबल लिगको सिरी ‘डी’ मा झारियो । अब क्लब फेरि त्यो स्थानमा पुगेको छ, जहाँ त्यो लायक छ ।
द गार्डियन

मिलान — अदालतले सन् २०१५ को मार्चमा पार्मा एफसीलाई टाट पल्टेको घोषणा गर्न खाली १० मिनेटमात्र लगायो । यो निर्णयसँगै क्लबमा लामो समयदेखि चलिरहेको नाटकमा पनि पूर्णविराम लाग्यो ।

पार्माको अद्वितीय कथा

यसबीच रोमालाई धेरैपल्ट अंक खोसेर सजाय सुनाइयो । खेलाडी र प्रशिक्षक तलबबिना खेल्न बाध्य रहे । सुरक्षाकर्मीलाई पारिश्रमिक तिर्न नसकेकै कारण धेरैपल्ट खेल पनि रद्द भए । आखिरमा क्लब एक युरोमा बेचियो, दुईपल्ट ।

त्यसको ठीक अगाडिको सिजन पार्माले सिरी ‘ए’ मा छैटौं स्थान ओगटेको थियो । त्यसयता क्लबलाई लिग संरचनाको सबैभन्दा पुछारमा झारियो । पार्मामाथि दया लागेर हो कि के हो त्यति बेला उसलाई सिरी ‘ए’ मा पूरा सिजन खेल्न दिइयो । सिरी ‘बी’ झारिने प्रक्रिया त औपचारिक मात्र रह्यो । तर क्लबलाई किन्ने कोही अगाडि आएन । ऋण नै २१ करोड ८० लाख डलर थियो, अनि तलबमा मात्र ६ करोड ३० लाख पाउन्ड तिर्न बाँकी थियो ।

त्यसैले पार्मालाई सिरी ‘बी’ मा पनि खेल्न दिइएन । यस्तोमा पार्माले सन् २०१५–१६ को सिजनमा सिरी ‘डी’ खेल्नुपर्ने भयो । सन् २००२ मा फिओरेन्टिना पनि टाट पल्टेको थियो । सन् २००४ मा नेपोलीको पनि यस्तै खराब हालत थियो । जेहोस् पार्माले यस्तो दयनीय स्थितिमा पनि फेरि सिरी ‘ए’ फर्कने सपना भने कायम राख्यो । केही स्थानीय व्यापारीले एउटा संस्था बनाए, जसको नाम थियो ‘नुओभो इजिजियो’ । यसको अर्थ हुन्छ, नयाँ सुरुआत ।

पार्माका कप्तान एलेसान्ड्रो लुकारेलीसहित अन्य खेलाडी समर्थकलाई अभिवादन गर्दै ।

यसैले क्लबको जिम्मा लियो र पूर्व प्रशिक्षक नेभिओ स्कलालाई अध्यक्ष बनाए अनि पूर्वखेलाडी लुगी एपोलिनीलाई प्रशिक्षक । सन् १९९० तिर पार्मा खुबै लयमा थियो । यी दुई त्यही बेलाका थिए । उनीहरूले त्यति बेला घरेलु र युरोपेली उपाधि लगतार जितेका थिए । समर्थक त समर्थक नै रहे आफ्नो क्लबप्रतिको मायामा कमी आएन । सिरी ‘ए’ म अन्तिम पटक हुँदा जति सिजनल टिकट बिकेको थियो, त्यो भन्दा बढी सिरी ‘डी’ मा किने ।

यसरी समर्थकले टिकटबाट क्लबमा आम्दानी त बढाए नै, सँगै क्लबको सेयर पनि किने, ‘क्राउड फन्डिङ’ को मदतमा । यस्तोमा क्लबले तुरुन्तै सिरी ‘सी’ मा बढुवा पाइहाल्यो । त्यो पनि पूरा सिजन कुनै खेल नगुमाई अनि क्लबले कीर्तिमानी अंक पनि बटुलेको थियो । बढुवा पाएको सिजन नै पार्मा फेरि सिरी ‘बी’ पुग्यो । यसपल्ट भने उसले यसका लागि कडा संघर्ष गर्नुपरेको थियो । सुरुआती खेल गुमाएयता एपोलिनी बर्खास्तगी परे ।

रोबर्टो डी’ एभेरसा नयाँ प्रशिक्षक बने । र, उनको नेतृत्वमा टिमले फेरि राम्रो गर्न थाल्यो । पार्मा त्यस सिजनको सिरी ‘बी’ पुग्यो । अन्तिम निर्णायक खेल हेर्न त्यति बेला दर्शकदीर्घामा थिए, क्लबका पुराना नायक खेलाडी हर्नान क्रेस्पो । यसरी लगातार बढुवा खाए पनि क्लबमा आकर्षित भए, चिनियाँ व्यवसायी जियाङ जिझाङ । उनले क्लबमा ६० प्रतिशत सेयर किने । उनी अध्यक्ष पनि भए । उनले क्लबका समर्थकलाई चिढाउन खोजेनन्, क्लबको स्थानीयपन कायम नै राखे ।

लुकारेली जर्सी फुकालेर समर्थकमाझ ।

यसक्रममा क्रेस्पो क्लबका उपाध्यक्ष नियुक्त भए । क्लबको १० प्रतिशत सेयर समर्थककै हातमा रह्यो । जिझाङले क्लबमा बहुमत रहने गरेर सेयर किनेयता घोषणा गरेका थिए, पार्मा त्यहीं पुग्नेछ, जहाँ यो योग्य छ । नभन्दै त्यही सिजन पार्मा फेरि एकपल्ट बढुवा खान सफल रह्यो । कप्तान एलेसान्ड्रो लुकारेली त क्लबका ज्यान नै हुन् । उनले कतिपय अरु क्लबको प्रस्ताव अस्वीकार गर्दै पार्माका लागि सिरी ‘डी’ मै पनि खेल्न तयार भए ।

उनी भन्थे– क्लबलाई चाहिएमा म जुनसुकै स्तरमा पनि खेल्न तयार छु । उनी आफ्नो वचनका कायम रहे । क्लबले ‘डी’ देखि ‘ए’ डिभिजनसम्म तय गरेको यात्राको सबै मोडमा हुने उनी एकमात्र खेलाडी हुन् । जुन दिन पार्मा फेरि माथिल्लो डिभिजनमा फर्केको थियो, त्यति बेला उनी भन्दै थिए, ‘म अहिले निकै अद्वितीय स्थितिको अनुभव गर्दै छु । हामीले त्यो यात्रा सफलतापूर्वक तय गरेको छौं, जसले क्लबलाई फेरि त्यही स्थितिमा पुर्‍याएको छ, जसका लागि ऊ वास्तवमै योग्य छ ।’

उनी यसक्रममा एकपल्ट कतिसम्म भावुक भए भने क्लब माथि उक्लेकामा उनलाई विश्वास पनि भइरहेको थिएन । उनी सोधिरहेका थिए– ‘के हामी साँच्चै सिरी ए पुगेका हौं त ? ओ हो, मलाई त विश्वास पनि भइरहेको छैन ।’ यसपल्ट पार्माका लागि सिरी ‘ए’ अन्तिम पटक खेल्ने उनको योजना छ, त्यसयता संन्यास । उनी ४० वर्षका पनि भए । समर्थकलाई लाग्दो हो, उनले अझै खेले राम्रो । माथिल्लो डिभिजनमा पार्माको स्थिति जस्तै भए पनि यो टिमले तय गरेको यात्रा धेरै समयसम्म सम्झिनेछ र फेरि फेरि दोहोर्‍याएर सुनाइने छ ।

युसुफ टेकलाब
– द गार्डियन

प्रकाशित : जेष्ठ १२, २०७५ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?