कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

राम्रा खेलाडी कति राम्रा व्यवस्थापक ?

द गार्डियन

लन्डन — चेल्सीको सेन्ट लुक चर्चमा साताअघि आयोजित एक शोकसभामा रस विलकिन्सले आफ्ना पिता (रे विलिकिन्स) बारे बोले । त्यस कार्यक्रममा इंग्लिस फुटबलले पछिल्लो ४० वर्षमा देखेका सबै प्रमुख नाम थियो । त्यसक्रममा रसले फुटबलबारे निकै साँचो तर उत्तिकै तीतो सत्य अगाडि सारे ।

राम्रा खेलाडी कति राम्रा व्यवस्थापक ?

उनले भने, ‘फुटबलले हामीलाई बुवाबिना पनि बाँच्न सिकायो । तर बुवा भने फुटबलबिना बाँच्न सक्नुभएन ।’ खेलाडीका रूपमा निकै लामो र सफल जीवनपछि पनि रे विलकिन्स फुटबलमै कायम रहे । इंग्ल्यान्डका पूर्व कप्तान रेको हृदयघातका कारण निधन भएको थियो ।

खेलाडी जीवनयताका २० वर्षमा रे विलिकिन्स फुलहम, क्विन्स पार्क रेन्जर्स र जोर्डनको राष्ट्रिय टिमका प्रशिक्षक बने । अनि चेल्सीसँगै वाटफोर्ड, मिलवाल, एस्टन भिल्ला र इंग्ल्यान्डको यू–२१ टिममा पनि व्यवस्थापक रहे । तर कुनै पनि टिममा उनी सफल रहेनन् । सहकर्मी कार्लो एन्सेलोट्टीको सहायकका रूपमा उनले छोटो समय चेल्सीमा राम्रैसँग बिताए । चेल्सीले पहिलोपल्ट लिग र कप जितेको थियो, कप डबलका रूपमा । तर स्टानफोर्ड ब्रिजमा उनी केही महिनाको अन्तरमै बर्खास्तगीमा परे ।

एन्सेलोट्टीको पूराका पूरा टिम हटाइएको थियो । सन् २०१५ मा उनले अन्तिम पटक आफ्नो जागिर गुमाए । एस्टन भिल्लाले पनि उनको पूरा टिमलाई नै बर्खास्त गरेको थियो । चलाख, प्रभावशाली, सटिक यी सबै गुण थियो, रेमा । त्यसैले उनी ड्ेरसिङ रूमका नेता पनि थिए । सफल खेलाडीपछि क्लब व्यवस्थापनमा आउन उनलाई कुनै समस्या थिएन । तर खेलाडीका रूपमा सफल हुनु एउटा तथ्य हो भने व्यवस्थापकमा उत्तिकै सफल हुनु अर्को तथ्य हो ।

अझ भनौं, कोही खेलाडीको स्तर हेरेर त्यो भविष्यमा कस्तो व्यवस्थापक हुने हो, त्यो पनि अनुमान गर्न सकिन्न । रेको शोकसभामा साँच्चै चिनिएका धेरै अनुहार थिए । त्यसमध्ये केही व्यवस्थापकका रूपमा राम्रै रहे । जस्तै, एन्टोनियो कोन्टे, रोय हडसन, केभिन किगान, ग्लेन हडल । यस्ता अनुहार पनि थिए जसले व्यवस्थापकका रूपमा आफूलाई प्रमाणित गर्न सकेनन् । भलै, खेलाडी छँदा उनीहरू गज्जब थिए । जस्तो, जियानफ्रान्को जोला, जोन होलिन्स, ब्रायन रोब्सन र पिटर रिड ।

यी आठ जनाको खेलाडी छँदाको समय र व्यवस्थापनमा बिताएका पल तुलना गर्ने हो भने कुनै प्रकारको निचोड नै निकाल्न सकिन्न । सन् १९७४ मा फर्केर हेर्ने भने त्यति बेला ग्लास्गोमा प्रतिसाता ४० पाउन्ड पाउने एक पूर्व सेन्ट फरवार्डले पछि गएर इंग्लिस फुटबलकै सबैभन्दा सफल व्यवस्थापक हुनेछ भनेर कसैले सोचेका थिए होलान् त ? उनी थिए, सर एलेक्स फर्गुसन । त्यति बेला उनी इस्ट स्टर्लिङसायरमा ‘पार्टटाइम’ प्रशिक्षक थिए ।

त्यति बेला वेस्ट ह्यामका लागि अन्तिम सिजन खेलिरहेका बबी मुरलाई फुटबल व्यवस्थापकमा निकै कमजोर हुनेछ भनेर कसले अनुमान गर्न सकेको थियो होला र ? स्टेफन जेरार्ड र फ्रान्क लाम्पार्ड पनि अहिलेसम्म फुटबलमा गज्जब नै गरेका हुन् । उनलाई जागिर दिन नचाहने फुटबल मालिक को होला र ? दुवैले इंग्ल्यान्डका लागि सयौं ‘क्याप’ जिते । अनि फुटबलमा जति उपाधि र सफलता थिए, लगभग ती सबैलाई प्राप्त पनि गरे । दुवै रे विलकिन्स जत्तिकै खेलाडी थिए ।

पछिल्लो समय टीभी पण्डितका रूपमा उनीहरू दुवैले फुटबलको स्तरीय विश्लेषण गरेका छन् । अहिले उनीहरू फुटबल व्यवस्थापनको पहिलो खुडकिलोमा छन् । उनीहरूलाई खेलाडी छँदा समर्थन गर्नेहरू पनि मख्ख छन् । तर उनीहरूको परीक्षा बाँकी नै छ, भविष्यमा चाँडै के हुने भने त्यो कसैले टुंगो लगाउन सक्दैन । जेरार्डले छोटै समय भएपछि लिभरपुलको उमेर समूहको टिम सम्हालेका छन् । हालै मात्र उनले रेन्जर्सको प्रस्ताव स्विकारे । यस क्रममा उनको बाक्लै चर्चा पनि भयो । लाम्पार्डले पनि पछिल्ला केही अन्तर्वार्तामा आफूमा पनि व्यवस्थापक हुने सपना रहेको बताएका थिए । त्यसैले उनी यूएईएफएको प्रो–कोचिङ लाइसेन्स कोर्स गर्दै छन् । अनि चेल्सीको एकेडेमीमा ‘इन्टर्नसिप’ पनि गरिसकेका छन् । राम्रा खेलाडीका लागि राम्रा उदाहरण बन्ने गर्छन् जिनेदिन जिदान । निकै सफल खेलाडी जीवनपछि जिदान सुरुमा रियल म्याड्रिडका दोस्रो रोजाइको टिमका प्रशिक्षक बने । त्यसयता उनले सिंगो बेर्नाबेउ नै सम्हाले ।

त्यसमा पनि उनी उत्तिकै सफल रहे । यस्तोमा उनी रियलको इतिहासमै सबैभन्दा सफल प्रशिक्षक बन्ने बाटोमा छन्, जोस भिलालोग्ना, म्यागुएल मुनोज र भिन्सेन्ट डेल बोस्कीभन्दा पनि सफल । यतिमा मात्र सबै पूरा हुँदैन । जिदान मात्र होइन, उदाहरण दिन त ग्यारी नेभिल पनि छन् । लाम्पार्ड र जेरार्डकै पुस्ताका खेलाडी हुन्, नेभिल । हडसनले पनि नेभिलको योग्यता देखेर उनलाई सन् २०१२ तिर इंग्लिस टिममा आफ्नो सहायक बनाए ।

त्यसको तीन वर्षपछि नेभिलले भ्यालेन्सियाको हेड–कोचको प्रस्ताव स्विकारे । क्लबका सिंगापुरे व्यावसायिक मालिक पिटर लिमका साथी थिए उनी । त्यति बेला टिम ठीकै थियो, तर राम्रो लयबाट गुज्रिरहेको थिएन । नेभिललाई स्पेनी भाषा आउँदैन थियो, न त उनले कहिल्यै ला लिगामा खेलेका थिए । उनलाई क्लबमा साथ दिन भाइ फिल नेभिल भने थिए । चार महिनाको बिर्सनलायक समयपछि उनी भ्यालेन्सिया छाड्न बाध्य रहे । निकै खराब रह्यो उनको अनुभव ।

जेरार्डले पनि कहिल्यै स्कटिस फुटबलमा खेलेनन् । नेभिलले जस्तै उनी त्यस्तो स्थानमा जाँदै छन्, जहाँ उनको आफ्नो भाषासँग मिल्दो भाषा बोलिन्छ । ग्लास्गोमा उनले सानो न सानो भुल गर्नुपर्छ, सबैको आँखा उनमै केन्द्रित हुनेछ, त्यसमा शंका नगरे हुन्छ । उनी त्यहाँ त्यस विन्दूमा चिप्ले, त्यो शिखरबाट खसेको जस्तै हुनेछ र त्यसले दिने चोट पनि गहिरो नै हुनेछ । यता लाम्पार्ड भने जेरार्डले त्यहाँ के कस्तो गर्ने हो, त्यसलाई खुबै चाख लिएर हेरिरहेको हुनेछन् ।

रिचार्ड विलियम्स –द गार्डियन

प्रकाशित : जेष्ठ ५, २०७५ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?