कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अलबिदा ‘मणिदाइ’

हिमेश वज्राचार्य

काठमाडौँ — नेपाली फुटबलसँग जति नजिक छन्, उनीहरूमध्ये सबै नयाँ पुस्ताका लागि मणि शाह ‘मणिदाइ’ हुन् । पछिल्लोपल्ट उनी सार्वजनिक रूपमा देखा परेका थिए, सानेपास्थित हेरिटेज गार्डेनमा भएको एन्फा निर्वाचनमा ।

अलबिदा ‘मणिदाइ’

त्यति बेला उनी केही गलेका देखिन्थे । चुनावको सबै परिणाम आएपछि एकथरीले नारा पनि लगाए, ‘यो जित कसको, मणि दाइको ।’ केहीले उनलाई काँधमा पनि उचाले । सामान्य कुराकानीमा उनले सोधेका थिए, ‘के छ भाइ ?’ यिनै मणिदाइ सोमबार साँझ रहेनन् ।

सोमबार मध्यान्हसम्म नर्भिक अस्पतालबाट समाचार आइसकेको थियो, यसपल्ट सायद उनी निको हुने छैनन् कि ? नभन्दै अबेर साँझ पुष्टि भइहाल्यो, उनको स्तब्धपूर्ण निधनको । यससँगै नेपाली फुटबलले गुमाएको छ, इतिहासकै सबैभन्दा उत्कृष्ट खेलाडी । उनी भर्खर ५१ वर्षका थिए । सायदै उनले आफ्नो शरीर र स्वास्थ्यप्रति धेरै नै अन्याय गरे, हेलचेक्रयाइँ गरे । उनी आफ्नो केही बानीबाट टाढा रहेको भए अझै हामीमाझ हुने थिए । उनलाई चाँडै ‘अलविदा मणिदाइ’ भन्ने समय आयो ।

उनी जति वर्ष बाँचे । सबैले मानेका छन्, उनी जत्तिका उत्कृष्ट फुटबल खेलाडी अरु छैनन् । उनले लामो समय एकै लयमा खेल्न सकेनन् । तर केही वर्ष यति राम्रो फुटबल खेले कि त्यसको वर्णन गरेर साध्य हुन्न । काठमाडौंको कालधारा पुग्ने क्रममा एउटा गल्ली आउने गर्छ र त्यसको नामै रहेको छ, मणि गल्ली । त्यही गल्लीमा उनको घर छ । उनकै नामले गल्लीको पनि नाम रह्यो । नेपाली फुटबलका यसरी खेलाडीको नामबाट टोलको नाम रहेको कसैको पनि छैन ।

मणि कस्ता खेलाडी थिए त ? नेपाली फुटबलले अहिलेसम्म पाएका जति पनि खेलाडी छन्, त्यसमध्ये उनी एकमात्र ‘गड गिफ्टेड’ खेलाडी हुन् । सिधाभन्दा उनी जन्मेको नै फुटबल खेल्नका लागि थिए । त्यसैले भगवान्ले पनि उनलाई साँच्चै राम्रो र मीठो फुटबल खेल्ने कौशलता प्रदान गर्‍यो । धेरै अवसरमा उनीसँग एउटै प्रश्न बारम्बार दोर्‍याएर सोधेको छु । तर उनले ठ्याक्कै उत्तर कहिल्यै दिएनन् । प्रश्न थियो, ‘के मणि नेपाली फुटबलका सबैभन्दा राम्रा खेलाडी हुन त ?’

उनको उत्तर हुने गथ्र्यो, ‘यो मैले भन्ने होइन, अरुले भन्ने हो ।’ जतिले उनको खेल हेरे, सबैले एउटै स्वरमा भन्ने गर्छन्– उनी जत्तिको फुटबल खेलाडी नेपालले पाएको छैन ।

नेपाली फुटबलको नजिक रहेका धेरैसँगको कुराकानीमा एउटा निचोड के निस्कने गरेको छ भने नेपाली फुटबलले सम्भवत: तीन उत्कृष्ट खेलाडी पाएको छ, मणिसँगै गणेश थापा र उमेश प्रधान । यिनै थापा र प्रधानले कुराकानीले भन्ने गरेका छन्, ‘खासमा राम्रो त मणि हुन् ।’


उनी नेपालकै मात्र उत्कृष्ट खेलाडी थिएनन्, दक्षिण एसियाकै पनि राम्रा खेलाडी हुन् । भारतीय पूर्व कप्तान भाइचुङ भुटियाले पनि भनेका छन्, ‘दक्षिण एसियामा मैले मणि शाह जत्तिको राम्रो खेलाडी देखेकै छैन ।’ सन् १९९३ मा नेपालले छैटौं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्नका एक स्टार हुन् मणि । उनको गतिलो योगदानले नै नेपालको स्वर्ण सम्भव भएको थियो । भारतविरुद्ध फ्रि–किकमा सम्भव त्यो दोस्रो गोल, कसले भुल्न सक्छ र ?


मणि नेचुरल लेफ्ट फुटेड थिए । मौका पायो कि गोल गर्ने । नभए खुबै राम्रो पास निकाल्ने । भनेको ठाउँमा उनी बल खसाल्न सक्थे । बल पनि यसरी खसाल्थे कि त्यो पास पाउने खेलाडीलाई गोल गर्न समेत सजिलो हुने । उनी सुरुमा फरवार्डबाट खेल्थे । पछि मिडफिल्डमा झरे । कताबाट खेल्दा सजिलो त ? उनको जवाफ थियो– फरवार्ड । मणिलाई गोल गर्नु खुबै मनपथ्र्यो । त्यसैले उनी सुरुमा फरवार्ड भए । नेपालका पूर्व प्रशिक्षक जो किनरले उनीभित्र एउटा मिडफिल्डमा हुनुपर्ने सबै गुण देखे, त्यसैले मिडफिल्डर बनाए ।

उनको पालाका जति पनि नाम चलेका खेलाडी थिए, ती सबैले लामो–लामो कपाल पाल्थे । उनको पनि लामो कपाल थियो । त्यसमाथि उनको कपाल प्राकृतिक रूपमा घुम्रेको । उनी हेर्दैमा म्याराडोना जस्ता थिए । सन् १९८६ को विश्वकपमा म्याराडोना के चम्के, मणिले पनि उनको केही केही शैलीलाई पछयाए । हुन पनि एक समय मणिको खेल म्याराडोनाकै जस्तै उत्कृष्ट थियो । त्यसैले उनलाई धेरैले नेपालका म्याराडोना पनि भने ।


मणि म्याराडोनाका फ्यान त थिए नै । तर उनलाई कसैले म्याराडोना भनेको भने रूचेन । उनी आफ्नै नामले चिन्न चाहन्थे । मणिका बुवा लक्ष्मणविक्रम शाह त्यो बेलाको राष्ट्रिय खेलकुद परिषद्का मुख्य प्रशिक्षक थिए । उनको मुख्य विधा त एथलेटिक्स थियो । विद्या व्यायाम मन्दिरबाट पनि फुटबल खेले, त्यो बेलाको चलनअनुसार ‘लेफ्ट आउट’ । उनी आफ्ना छोरालाई लिएर रूपक शर्माको फुटबल हेर्न दशरथ रंगशाला पुग्थे । सबैको अगाडि भन्थे, ‘यो छोरालाई पनि फुटबल खेलाडी बनाउँछु ।’

त्यो बेला काठमाडौंमा ५ फिट बराबरका खेलाडी मात्रको प्रतियोगिता चल्ने गथ्र्यो । खेलहरू भने हुने गथ्र्यो रत्नपार्कमा । त्यस्तै कुनै एक प्रतियोगितामा उनले त्यौडबाट खेले । पछि उमेर समूहको फुटबलका लागि हुने छनोटमा भिडे र चुनिए, सन् १९८३ को प्रिन्सेस कपका लागि । बैंककमा हुने यो प्रिन्सेस कप नै उनी सहभागी पहिलो ठूलो औपचारिक प्रतियोगिता थियो । सन् १९८४ मा पनि उनले प्रिन्सेस कप खेले, त्यति बेला कप्तान पनि थिए ।


नेपाल त्यस बेला दोस्रो भएको थियो र मणिले ८ गोल गरेका थिए । उनी बने, हाइएस्ट स्कोरर । त्यही वर्ष त भएको थियो, काठमाडौंमा पहिलो दक्षिण एसियाली खेलकुद । मणिले ढाकामा भएको दोस्रो दक्षिण एसियाली खेलकुददेखि मद्रासको सातौं दक्षिण एसियाली खेलकुदसम्म खेले । काठमाडौंमै भएको दक्षिण एसियाली खेलकुदको त्यो पहिलो संस्करणमा पनि उनी कुनै न कुनै रूपमा जोडिएकै मान्नुपर्छ । किनभने उनी थिए, बल ब्वाई ।

पोस्टको ठीक पछाडिको भाग उनको हुने गथ्र्यो । उनी खुबै घोरिएर गोल कसरी हुन्छ भनेर हेर्थे । उनले त्यति बेला नेपालले खेलेका सबै चारै खेले हेरे । नेपालले गरेको प्रत्येक गोलको मज्जा पनि खुबैसँग लुटे, नजिकको दूरीबाट । दोस्रो दक्षिण एसियाली खेलकुदका लागि भनेर फुटबलमा नयाँ प्रशिक्षक भित्रिएका थिए सान्तोस । उनी ब्राजिली थिए । उनले मणिलाई फ्रि–किक र पेनाल्टीको विशेष अभ्यास पनि गराएका थिए । भारतविरुद्ध ढाकामा मणिको फ्रि–किक र पेनाल्टीमा गोल त्यसैको परिणाम त थियो ।

मणिले नेपालका लागि कुल ४८ क्याप जिते, बैंककमा भएको एसियाली खेलकुद उनको अन्तिम प्रतियोगिता रह्यो । त्यस एसियाली खेलकुदको उद्घाटन समारोहमा मणिले नेपालको झण्डा बोकेका थिए । उनलाई यसमा खुबै गर्व थियो । तर बैंककमा उनले कुनै खेल खेलेनन् चोटका कारण । यससँगै उनको खेलजीवनमा पूर्णविराम लाग्यो । उनले नेपालको राष्ट्रिय जर्सीबाट कुल ६ गोल गरे । उनले विदेशका क्लबबाट जति नै प्रस्ताव आए पनि खेलेनन् ।

किनभने उनलाई खुबै ‘होम–सिक’ हुने गथ्र्यो । घरेलु फुटबलमा भने उनी मनाङ मस्र्याङ्दी बढी आवद्ध रहे । मनाङ मस्र्याङ्दीले स्थापनाका बेला जुन खाले सफलता हात पारेको थियो, त्यसमा मणिको ठूलो हात रह्यो । सन् १९९० मा आरएनएसीका लागि मणि फुटबल खेल्न सिक्किम पुगेका थिए । अवसर थियो, गभर्नर्स गोल्डकप । मणिको खेल हेरेर मख्ख पर्नेमा एक थिए, नवीना । त्यति बेला उनी भाइचुङ भुटियासँगै एउटै स्कुलको सात कक्षामा पढथन् । पछि नवीना मणिको प्रेममा परिन् । नेपाल आएयता उनीहरूको विवाह भएको थियो ।

प्रकाशित : जेष्ठ १, २०७५ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?