२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

प्रदेश ७ लाई क्रिकेट उपाधि

काठमाडौँ — मनमोहन स्मृति अन्तरप्रदेश क्रिकेट यू–१६ क्रिकेट प्रतियोगिताको प्रथम संस्करणमा प्रदेश ७ च्याम्पियन भएको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको प्रदेश ३ विरुद्धको फाइनलमा मनोज लोथ्यालले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ५ विकेट लिएपछि प्रदेश ७ ले २४ रनको जित दर्ता गर्‍यो ।

प्रदेश ७ लाई क्रिकेट उपाधि

टस जितेर ब्याटिङ रोजेको प्रदेश ७ ले निर्धारित ३० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८ रनको बलियो स्कोर तयार पारेको थियो । लगातार विकेट गुमाएको प्रदेश ७ का लागि व्यक्तिगत ठूलो स्कोर नबने पनि सबै ब्याट्सम्यानले लगातार रन जोडेका थिए । ओपनरद्वय हृदय बिँडारीले ३३ र राजन सिंहले ६ रन जोड्दा सुवास ऐरले १४ तथा गजेन्द्रसिंह बोहोराले १६ रनको योगदान दिए । राहुल भण्डारीले ३३ बलमा २ चौका र २ छक्का मदतले ३८ रन जोड्दै इनिङ्स सम्हालेका थिए ।

एक समय १५४(७ को स्थितिमा रहेको प्रदेश ७ लाई आठौं विकेटका लागि नटआउट ५४ रनको आक्रामक साझेदारीले ठूलो स्कोरसम्म पुर्‍यायो । आठौं नम्बरका रोशन साउदले नटआउट १८ बलमा १ चौका र २ छक्का मदतले ३७ रन जोडे । नवौं क्रममा ब्याटिङ गर्न एक नरेन्द्र साउदले ११ बलमा २ चौका र १ छक्कासहित नटआउट २० रन बनाए । प्रदेश २ का विवेक यादवले २ विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रिएको प्रदेश २ ले उत्कृष्ट सुरुआत लिए पनि मध्यक्रम नचल्दा २० ओभर खेल्दै ९ विकेट क्षतिमा १ सय ८४ रनमात्र जोड्न सक्यो । ओपनर अमित यादवले ६४ बलमा ८० रनको उत्कृष्ट इनिङ्स खेल्दै टोलीलाई जिततर्फ अग्रसर गराएका थिए । २५ रन बनाएका अर्का ओपनर साहिल पटेलसँग ४१ रनको साझेदारी गरेका उनले तृतराज दाससँग तेस्रो विकेटमा ७३ रनको साझेदारी गरे । तृतराजले २७ रनको योगदान दिए ।

प्रदेश २ जितका लागि ५६ रन टाढा हुँदा चौथो विकेटका रूपमा पेभेलियन फर्किएका अमितपछि अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । प्रदेश ७ का मनोजले अमितलाई पेभेलियन फर्काएपछि मध्यक्रम धराशायी पार्न थप ४ विकेट लिए । उनी म्यान अफ द म्याच पनि चुनिए ।

उपाधि जितेको प्रदेश ७ ले २ लाख ५० हजार रुपैयाँ नगदसहित २ लाख ५० हजारबराबरकै खेल सामग्री प्राप्त गर्‍यो । उपविजेताले १ लाख ५० हजार रुपैयाँ नगद र त्यहीबराबर खेल सामग्री पायो । उत्कृष्ट ब्याट्सम्यान प्रदेश २ का अमित यादव र उत्कृष्ट बलर प्रदेश ७ का नरेन्द्र साउद भए । उनीहरूले जनही ५ हजार प्राप्त गरे । प्लेयर अफ द सिरिज प्रदेश २ का विवेक यादवले १० हजार रुपैयाँ पाए । सातै प्रदेशको सहभागिता रहेको प्रतियोगिता लिगकम नकआउटका आधारमा खेलाइएको थियो ।

प्रकाशित : वैशाख २०, २०७५ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?