कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

टिम चौराह प्लेअफमा

डीपीएल क्रिकेट

धनगढी — सोनु तामाङको आक्रामक ब्याटिङमा टिम चौराह धनगढी शनिबार रूपन्देही च्यालेन्जर्समाथि ३ रनको रोचक जित हात पार्दै रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको प्ले–अफमा पुगेको छ ।

टिम चौराह प्लेअफमा

५ खेलमा तेस्रो जित पाएपछि डिफेन्डिङ च्याम्पियन धनगढीको दोस्रो चरणमा सुरक्षित भएको हो ।
मध्यरातदेखि चलेको आँधीहुरी र वर्षाका कारण संघीय प्रहरी कार्यालय इकाई मैदानको अस्थायी संरचना भत्काउनु साथै मैदान पनि भिजेको थियो । सोही कारण महेन्द्रनगर युनाइटेड र सीवाईसी अत्तरियाबीचको पहिलो खेल एक बल पनि नफालेर रद्द भएको थियो ।

धनगढी र रूपन्देहीबीचको दोस्रो खेल मुस्किलले ८–८ ओभर खेलाउन लायक भएको थियो । त्यही सोनुको ब्याट चम्कियो । उनले १६ बलमा ४ छक्कासहित ३४ रन बनाएपछि धनगढीले ७ विकेट गुमाई ७६ रन बनायो । म्यान अफ द म्याच सोनुले सोक्रममा सागर पुनको बलमा लगातार तीन छक्का प्रहार गरे ।

म्यान अफ द म्याच ट्रफीसाथ उनै सोनु ।

धनगढीले ओपनर अस्फाक अहमदलाई पहिलो बलमै गुमायो । दिपेश श्रेष्ठको बलमा शक्ति गौचनले उत्कृष्ट रनिङ क्याच लिँदै अहमदलाई आउट गरे । यूएईका अर्का ब्याट्सम्यान रोहन मुस्ताफाले ११ बलमा १५ रन बनाए । सुनील धमला ६, कप्तान सोमपाल कामी २, राजु रिजाल शून्य, राजेश पुलामी ९ रनमा आउट भए । योगेन्द्रसिंह कार्की ५ र शंकर राना २ रनमा नटआउट रहे ।

यसअघिका पहिलो चारमा खेलमा पराजित भई राउन्ड रोबिनबाटै बाहिरिइसकेको रूपन्देहीबाट सुसन भारीले ३ विकेट लिए । सुसनले २ ओभरमा १४ रन खर्चे । दिपेश श्रेष्ठले २ तथा कप्तान शक्ति गौचन र सागरले १–१ विकेट लिए ।

सागरले ३३ रन बनाउँदा खेल रूपन्देहीको नियन्त्रणमा आएको थियो । टोलीलाई अन्तिम तीन ओभरमा विजयनिम्ति २४ रन चाहिन्थ्यो । छैटौं ओभरमा देव्रेहाते तीव्र बलर ललितसिंह भण्डारीले ३ रनमात्र दिए । सातौं ओभरको पहिलो बलमा दीपक प्रसादले १ रन प्रहार गरे । दोस्रोमा सागरले मुस्ताफाको बलमा चौका प्रहार गरे । तर अर्को बलमा मुस्ताफाले सागरलाई बोल्ड गरे । लगातार विकेट लिनेक्रममा मुस्ताफाले चौथो बलमा अमरसिंह राउटेलालाई एलबीडब्लू आउट गरे ।

वर्षासँगै हावाहुरीका कारण क्षति पुगेको मैदान मर्मत गरिँदै । तस्बिरहरू : हेमन्त श्रेष्ठ

मुस्ताफाले सो ओभरमा ७ रनमात्र दिएपछि अन्तिम ओभरमा रूपन्देहीलाई विजयका लागि १४ रन आवश्यक थियो । पहिलो दुई बलमा १ रनमात्र बनाउन सकेको रुपन्देहीबाट तेस्रो बलमा दीपक नन स्ट्राइक एन्डमा रनआउट भए । चौथो बलमा सुफियान मेहमुदले १ रन बनाए । त्यसपछि वाइडबाट १ रन आयो । २ बलमा ११ रन चाहिने अवस्थामा कुशल मल्लले पाँचौं बलमा १ रनमात्र बनाउन सके । अन्तिम बलमा मेहमुदले छक्का प्रहार गरे पनि नतिजा धनगढीको पक्षमा थियो ।

१६ बल खेलेका सागरले ३ चौका र ३ छक्का प्रहार गरे । ओपनरद्वय प्रदीप ऐरी ६ र सिद्धान्त लोहनी ३ रनमा आउट भए । मुस्ताफाले २ ओभरमा १२ रन खर्चेर २ र ललितले १५ रन खर्चेर १ विकेट लिए । ‘८ ओभरको खेल भएकाले दबाब थियो, अन्यथा त्यस्तो केही थिएन । हाम्रो रनरेट कमजोर थियो र थोरै ओभरको खेलले त्यसलाई सुधार्न सक्दैनथ्यो,’ धनगढीका कप्तान सोमपालले भने, ‘सागर पुन, सिद्धान्त लोहनी यस्तो मैदानमा राम्रो खेल्ने गर्छन् । तर हाम्रो बलरले राम्रो पुनरागमन गर्‍यो, विशेष गरी ललित र रोहनको बलिङ उत्कृष्ट थियो ।’

सोमपालले धेरै दर्शक आफ्नो टोलीको समर्थनमा आएकाले पनि धनगढी जित्नका लागि खेलेको बताए । शनिबार र सुदूरपश्चिमका तीन टिम परेकाले ठूलो संख्यामा दर्शक बिहानदेखि आएर मैदानबाहिर मूल ढोकाअगाडि बसेका थिए । थोरै ओभरको खेल भए पनि दर्शक भरिभराउ थिए ।

पराजयले धनगढीलाई प्रतियोगिताबाट बाहिरै पठाउन पनि सक्थ्यो । बदलिएको मौसममा आइतबार पनि धनगढीमा वर्षा हुने पूर्वानुमान छ र खेल प्रभावित हुनसक्छ । यस्तो अवस्थामा आइतबार सीवाईसी अत्तरिया र विराटनगर किंग्सबीच हुने खेलमा नतिजा नआएमा पराजयले धनगढीको प्ले–अफको बाटो छेक्न सक्थ्यो ।

विजयपछि धनगढी दोस्रो स्थानमा उक्लेको छ । आइतबार हुने खेलमा धनगढी र महेन्द्रनगरले विजय हात पार्न नसके धनगढीले काठमाडौं गोल्डेन्ससँग क्वालिफायर खेल्नेछ । महेन्द्रनगरले काठमाडौंसँग खेल्दै छ । लगातार चार खेल जिती काठमाडौंले अविजित यात्रासाथ क्वालिफायर स्थान सुरक्षित भइसकेको छ ।

प्रकाशित : चैत्र २५, २०७४ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?