राष्ट्रिय फुटबल: अबको लक्ष्य ?

सुबास हुमागाईं

काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटअन्तर्गत अघिल्लो सप्ताहन्त समूह चरणको अन्तिम खेलमा यमनसँग २–१ को हार बेहोर्‍यो । यो नतिजासँगै नेपाल अंकतालिकाको पुछारमा रहँदै छनोट चरणमा जितविहीन रह्यो ।

फाइल तस्बिर

प्रतियोगितामा नेपाल दुई बराबरीसाथ २ अंक जोड्न सफल रह्यो । दुवै बराबरी नेपालले घरेलु मैदानमा यमन र फिलिपिन्सलाई गोलरहित रोकेर प्राप्त भएको थियो ।

नेपालका लागि छनोटको सुरुआत नै ‘पहिलो गाँसमै ढुंगा’ झैं भयो । टोलीका भरपर्दा मिडफिल्डर विक्रम लामा खेलको १५ मिनेट नबित्दै रातो कार्ड खाँदै बाहिरिएपछि १० खेलाडीमा समेटिएको नेपाल ४–१ ले पराजित भएको थियो । मिडफिल्डर विशाल राईले सान्त्वना गोल गर्नु र रोहित चन्द एकवर्षे विश्रामपछि मैदान फर्कनुबाहेक नेपालका लागि सकारात्मक पक्ष केही रहेन । खेलको अन्त्यतिर डिफेन्डर रविन श्रेष्ठ घाइते हुँदै शल्यक्रिया गर्नुपर्ने स्थिति आएपछि नेपाली टोली थप संकटमा पर्‍यो ।


छनोटको दोस्रो खेलअघि नेपालले मुम्बईमा भारतविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो । भारतीय भूमिमा घरेलु टोलीसँग २–० ले पराजित भए पनि उक्त प्रदर्शनले नेपाललाई यमनसँग बराबरीको नतिजा प्राप्त भयो । रमदानका कारण यमनका खेलाडीले अपेक्षित प्रदर्शन गर्न नसक्दा नेपालले निकै सुधारिएको प्रदर्शन देखायो । लगातार आक्रमणका बावजुद गोल गर्न नसक्दा भने नेपालले घरेलु मैदानमा १ अंकमै चित्त बुझाउनुपर्‍यो ।

अगस्टमा नेपालले साताव्यापी जापान भ्रमण गर्‍यो । लगत्तै सेप्टेम्बर र अक्टोबरमा ताजिकिस्तानविरुद्धको दुई खेलमा नेपालले औसत प्रदर्शन मात्र गर्‍यो । घरेलु मैदानमा दुई गोलले पछाडि परे पनि एक गोल फर्काएपछि आक्रामक देखिएको नेपालले नतिजा उल्टाउन सकेन । अवे मैदानमा भने घरेलु टोली पूर्ण रूपमा हाबी भयो । नोभेम्बरमा घरमै फिलिपिन्सविरुद्ध गोलरहित बराबरी खेलेपछि नेपालको छनोट हुने सम्भावना सकिएको थियो । उक्त खेलबाट नेपालका नियमित कप्तान अनिल गुरुङले संन्यास घोषणा पनि गरेका थिए । समग्रमा प्रतियोगिताका कुनै खेलमा पनि नेपालले आफ्नो उत्कृष्ट ११ लाई खेलाउने मौका पाएन ।

प्रतियोगितामा नेपालका लागि ६ खेलमा २१ खेलाडी मैदानमा उत्रिए । यसक्रममा सबै खेलको ९० मिनेट खेल्नेमा अनन्त तामाङ र रोहित चन्दमात्र रहे । सम्भवत: नेपालले खेलेका सबै खेलमा लगातार राम्रो प्रदर्शन गर्नेमा यी दुईसँग विशाल राई, भरत खवास र किरण चेम्जोङ देखिए ।

मुख्य प्रशिक्षक ग्योतोकु कोजीले प्रतियोगितामा दिनेश राजवंशी, जर्जप्रिन्स कार्की र देवेन्द्र तामाङलाई ‘डेब्यू’ दिए । देवेन्द्रले घाइते हुनुअघि तीन खेल खेलेका थिए । जर्जप्रिन्सले पनि ताजिकिस्तानविरुद्ध तेस्रो खेलमा डेब्यू गरेयता ३ खेल खेले । दिनेशले भने अन्तिम खेलमा ९० मिनेट खेलेर आफ्नो प्रभाव देखाए ।


राष्ट्रिय लिग नहुँदा प्रशिक्षक कोजीले मोफसलका केही प्रतियोगिता अवलोकनकै भरमा खेलाडी छानेका थिए । उनले राष्ट्रिय टोलीको प्रशिक्षणमा नयाँ खेलाडी समावेश गरे पनि अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा टोलीमा परेनन् । केही खेलाडी टोलीमा अटाए पनि उनीहरूले मैदानमा उत्रने अवसर पाएनन् । उचित समय प्रशिक्षण र मैत्रीपूर्ण खेल नहुँदा पनि टोलीको तयारीमै समस्या आएको थियो ।

नेपालका लागि अब सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिपअघि कुनै प्रतियोगिता छैन । प्रशिक्षक कोजीले अप्रिल १ मा तय गरिएको मैत्रीपूर्ण खेलसँगै नेपालको तयारी सुरु हुने बताएका थिए तर नहुने भयो । टोलीका भरपर्दा खेलाडी रविन श्रेष्ठ, कमल श्रेष्ठ लगायत चोटबाट फर्कने क्रममा छन् । विक्रम लामाले साफसम्म चोटबाट फर्कनेमा प्रतिवद्ध रहेको बताएका छन् । उनलाई त्यसअघि क्लब फुटबल हेर्न पनि जरुरी छ ।

प्रशिक्षक कोजी अब साफका लागि दीर्घकालीन योजना लिएर अघि बढ्नुपर्ने बताउँछन् । ‘एसियन कप हाम्रा लागि अनुभव बटुल्ने राम्रो प्लेट फर्म थियो । म खेलाडीको प्रदर्शनबाट सन्तुष्ट छु । अबको हाम्रो लक्ष्य साफ च्याम्पियनसिप केन्द्रित हुनेछ,’ कोजीले थपे, ‘यसका लागि मैले योजना बनाएर नयाँ निर्वाचित कार्यसमितिलाई बुझाउने छु । सबैभन्दा ठूलो विषय लिग सञ्चालन गर्नुपर्दछ । नयाँ कमिटीले पहिलो काम लिगलाई मूर्त रूप दिनुपर्छ ।’

कोजीलाई सुरुदेखि नै मोफसलको प्रदर्शनका आधारमा खेलाडी छनोट गर्नुपर्ने बाध्यता छ । त्यसकारण पनि उनले सोचेअनुरुप खेलाडी पाउन सकिरहेका छैनन् । उनी अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको व्यवस्था भए टोलीले राम्रो गति लिने बताउँछन् । ‘हामीले साफअघि ३–४ वटा मैत्रीपूर्ण खेल खेल्नुपर्छ । त्यसले हाम्रो स्तर मापन त हुन्छ नै । टोलीको तालमेल र खेलाडीको फिटनेसबारे पनि नियमित अपडेट हुन सकिन्छ,’ काजीले थपे, ‘लक्ष्य प्राप्तिका लागि उचित प्रशिक्षण समय र योजना आवश्यक हुन्छ । आशा छ एन्फा यसमा गम्भीर भएर अगाडि बढ्ने छ ।’

साफ च्याम्पियनसिपको समूह चरणको ‘ड्र’ अप्रिल १८ मा ढाकामा हुँदै छ । सेन्ट्रल एसिया क्षेत्रमा सरेका कारण यसपालि अफगानिस्तान साफमा सहभागी हुने छैन । नेपालसहित भारत, पाकिस्तान, आयोजक बंगलादेश, माल्दिभ्स, भुटान र श्रीलंकाले सहभागिता जनाउने छन् । अहिलेसम्म साफको फाइनल प्रवेश गर्न असफल नेपालका लागि इतिहास रच्ने राम्रो अवसर छ । त्यसका लागि एन्फा निर्वाचन र त्यसपछिको कार्यविधि नै निर्णायक हुनेछ ।

प्रकाशित : चैत्र २४, २०७४ ०७:४९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

डीपीएल क्रिकेट: काठमाडौं क्वालिफायरमा

चित्रांग थापा, विनोद पाण्डे

धनगढी — कप्तान ज्ञानेन्द्र मल्लको सानदार इनिङ्सपछि काठमाडौं गोल्डेन्स रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको क्वालिफायरमा पुगेको छ ।

गोल्डेन्सले शुक्रबार अन्तिम बलको रोमाञ्चमा विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्‍यो । लगातार चार खेल जितेर टोलीले अविजित यात्रासाथ क्वालिफायरमा स्थान सुरक्षित गरेको हो ।

टस जितेको विराटनगरले ८ विकेट गुमाई १ सय ६४ रन बनायो । अन्तिम बलमा १ रन चाहिँदा ज्ञानेन्द्रले रामनरेश गिरीको फुलटस बललाई स्क्वायर लेगमा छक्का प्रहार गर्दै विजयी रन बटुले । ३१ बलमा अर्धशतक पूरा गरेका म्यान अफ द म्याच ज्ञानेन्द्रले ४० बलको इनिङ्समा ५ चौका र ४ छक्का प्रहार गरी नटआउट ६८ रन बनाए । डीपीएलअगाडि निरन्तर असफल हुँदै आएका ज्ञानेन्द्रको यो लगातार दोस्रो अर्धशतक हो ।

कप्तान ज्ञानेन्द्रले टोलीको अविजित यात्रा कायम राख्नु ठूलो विषय भएको बताए । ‘उनीहरूले १ सय ६४ रन बनाउन सक्छन् भने हामी पनि सक्छौं भन्ने विश्वास थियो । विकेट हातमा राखेमा अन्तिम ५ ओभरमा ६० रन पनि सम्भव छ भन्ने थियो र हामीले त्यहीअनुसार खेल्यौं,’ पछिल्लो समयमा आफ्नो असफलताको प्रश्नमा बिहीबारको इनिङ्सबारे उनले भने, ‘मैले आफ्नो भूमिका निभाएको हुँ, जुन टिमलाई खाँचो थियो ।’

संघीय प्रहरी कार्यालय इकाई मैदानमा ज्ञानेन्द्रले सन्नी पटेलसँग अन्तिम १६ बलमा ३७ रनको साझेदारी गरे । पटेलले १० बल खेल्दै १ चौका र ३ छक्का प्रहार गरी नटआउट २५ रन बनाए । काठमाडौंलाई जितनिम्ति अन्तिम ५ ओभरमा ६१ र अन्तिम ४ ओभरमा ५१ रन आवश्यक थियो । १७ औं ओभरमा काठमाडौंले मञ्जित श्रेष्ठको ओभरमा २० रन जोड्यो । पुष्प थापाले एक्लै २ चौका र १ छक्का प्रहार गरेर १५ रन बनाए ।

१८ औं ओभरको दोस्रो बलमा पुष्पलाई वसन्त रेग्मीले बोल्ड गरी विराटनगरलाई खेलमा फर्काउने प्रयास गरे । पुष्पले १७ बलमा २४ रन बनाए । क्रिजमा आएका पटेलले वसन्तलाई लगातार बलमा चौका र छक्का प्रहार गरे । १९ औं ओभरमा ज्ञानेन्द्र र पटेलले विराटनगरका कप्तान पारस खड्काको ओभरमा १–१ छक्का प्रहार गरेपछि अन्तिम ओभरमा काठमाडौंलाई विजयका लागि ६ रन चाहिन्थ्यो । रामनरेशको पहिलो दुई बलमा १ रनमात्र बनाउन सकेका ज्ञानेन्द्रले तेस्रो र चौथो बलमा २–२ रन प्रहार गरे । पाँचौं बल पुन: डट भएपछि खेल अन्तिम बलमा पुगेको थियो ।

यसअघि ओपनरद्वय अमित श्रेष्ठ ५ र सुबोथ भाटी १० रनमा आउट भए । भूपेन्द्र थापा २८ बलमा ३ चौका र २ छक्का प्रहार गरी ३६ रनमा आउट भए । नरेश बुढाएरले खाता खोल्न सकेनन् । विराटनगरबाट वसन्तले २ तथा पारस, शुभम कामत र मन्जितले १–१ विकेट लिए ।

बाबर हायतले प्रतियोगितामा आफ्नो दोस्रो अर्धशतक बनाएपछि विराटनगरले राम्रो स्कोर बनाएको थियो । हायतले ३३ बल खेलेर ३ चौका र ७ छक्का प्रहार गरी ६७ रन बनाए । ओपनर दिलीप नाथले ३३ रन बनाएका थिए । २७ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे । पृथु बाँस्कोटा ११, अनिल शाह र वसन्त समान १० रनमा आउट भए । सातौं नम्बरमा आएका पारसले ६ बलमा नटआउट ८ रन बनाए ।

विराटनगरको ४ खेलमा यो दोस्रो हार हो । दुई जित पाएको विराटनगरलाई प्ले–अफमा पुग्न अन्तिम खेलमा सीवाईसी अत्तरियालाई पराजित गर्नैपर्छ ।

आजका खेल
महेन्द्रनगर युनाइटेडविरुद्ध सीवाईसी अत्तरिया
टिम चौराह धनगढीविरुद्ध रूपन्देही च्यालेन्जर्स

प्रकाशित : चैत्र २४, २०७४ ०७:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्