२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

विश्वकप छनोट प्लेअफ: सुनौलो अवसर

नेपाल–पीएनजी भिड्दै

काठमाडौँ — नतिजाका हिसाबमा नेपालले बिहीबार आफ्नो क्रिकेट इतिहासकै सबभन्दा ठूलोमध्ये एक खेल खेल्दै छ । नेपालले प्लेअफमा पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेल जिते र अर्को प्लेअफमा आफूअनुकूल नतिजा आएमा चार वर्षका लागि वान–डे अन्तर्राष्ट्रिय मान्यता र आई–कप प्रतियोगिता खेल्ने अवसर पाउनेछ । फोर–डे प्रतियोगिता आई–कपलाई भविष्यमा टेस्ट मान्यताप्राप्त गर्ने बाटोको रूपमा पनि हेरिएको छ ।

विश्वकप छनोट प्लेअफ: सुनौलो अवसर

विश्वकप छनोटको सुपर सिक्स पुग्न नसकेका टोलीबीच प्लेअफ चरणका खेलहरू बिहीबार हुँदै छन् । प्लेअफका दुवै खेलमा नेपालका लागि अनुकूल नतिजा निस्केमा नेपालले वान–डे अन्तर्राष्ट्रिय मान्यता पाउने पक्का हुनेछ ।

प्लेअफअन्तर्गत नेपालले पीएनजीको सामना गर्दा नेदरल्यान्ड्सले हङकङसँग खेल्नेछ । नेपाललाई वान–डे अन्तर्राष्ट्रिय मान्यता पाउन पीएनजीविरुद्ध जितको विकल्प भने रहने छैन । नेपालले पीएनजीलाई र नेदरल्यान्ड्सले पनि हङकङलाई पराजित गरेको खण्डमा नेपाललाई चारवर्षे वान–डे अन्तर्राष्ट्रिय मान्यताको मौका मिल्नेछ । नेपालको जितसँगै अर्को खेलमा हङकङ विजयी हुँदा सबै अवसर पाउन नेपालले अर्को खेलमा हङकङमाथि विजय प्राप्त गर्नुपर्ने हुन्छ ।


नेपाल समूह चरणमा एक खेल जित्दै चौथो स्थानमा रह्यो । नेपालले एकमात्र जितको रूपमा अन्तिम खेलमा हङकङलाई पराजित गर्दै वान–डे अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने सम्भावना जीवित राखेको हो । यद्यपि अन्तिम खेलमा रोहितकुमार पौडेल र सोमपाल कामीको नटआउट ८९ रनको साझेदारीबाहेक नेपालको ब्याटिङ कप्तान पारस खड्कावरपर घुमिरह्यो । पारसबाहेक अन्य खेलाडीले नियमित रन जोड्न नसक्दा नेपालले लगातार एकपक्षीय हार बेहोरेको थियो । बलिङमा भने नेपालको शक्तिशाली पाटो स्पिनरहरूले विकेट लिइरहेका छन् । सन्दीप लामिछानेले ४ खेलमा ७ विकेट र वसन्त रेग्मीले ६ विकेट लिँदै विपक्षीको रनमा लगाम पनि लगाउने प्रयास गरेका थिए ।


यता पीएनजी समूहको पुछारमा अंकविहीन रहँदै प्ले–अफमा पुगेको हो । ब्याटिङमा टोनी उराले आयरल्यान्डविरुद्ध पहिलो खेलमा १ सय ५१ रन प्रहार गर्दै उत्कृष्ट सुरुआत गरे पनि अन्य खेलाडीको साथ भने छैन । बलिङतर्फ ८ विकेट लिएका नर्मन भनुआ नेपालका लागि घातक साबित हुन सक्छन् ।


नेपालले यसअघि पीएनजीविरुद्ध खेलेका तीनै खेलमा हार बेहोरेको छ । सन् २००५ मा भएको पहिलो भिडन्तमा अहिले टोलीका कप्तान पारस खड्का र शक्ति गौचन खेलेका थिए । पारसले अर्धशतक बनाए पनि नेपाल ७० रनले पराजित भयो । त्यसयता सन् २०१५ को अन्त्यतिर विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले दुवै खेल निकै झिनो अन्तरले गुमाएको थियो ।


नेपाल र पीएनजीको खेल हुने हरारे मैदान ब्याटिङमैत्री छ । कप्तान पारसको ब्याटिङमा निर्भर देखिएको नेपाललाई सोमपाल र रोहितको ब्याटिङले भने सन्तोषको सास फेर्ने बाटो दिएको छ । समूह चरणमा वर्षाका कारण केही खेलमा असर परेको यस मैदानमा फेरि वर्षा हुने सम्भावना रहेको मौसमविद्को ठम्याइ छ । कारणवश खेल हुन नसकेको खण्डमा नेपाल समूहमा चौथो भएको हैसियतले अघि बढ्नेछ ।
नेपालझैं पीएनजी पनि बिहीबार वान–डे अन्तर्राष्ट्रिय मान्यता सुरक्षित पार्ने लक्ष्यसहित मैदान उत्रनेछ । विगतमा नेपालमाथि लगातार सफलता हासिल गरेको इतिहास बोकेको पीएनजीलाई मानसिक रूपमा केही हौसला पनि मिलेको छ । साथै पछिल्ला दुई खेल यही मैदानमा खेलेको फाइदा पनि पीएनजीसँग हुनेछ ।

प्रकाशित : चैत्र १, २०७४ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?