१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पुलिस फाइनलमा

बुटवल — सडनडेथमा आयोजक लाली रूपन्देही ११ लाई हराउँदै नेपाल पुलिस क्लब २० औं तिलोत्तमा गोल्डकप फुटबलको फाइनल पुगेको छ ।

सडनडेथमा कर्ण लिम्बूको प्रहार पुलिसका गोलरक्षक रोशन खड्काले रोकेपछि साबिक उपविजेता रूपन्देही स्तब्ध बनेको थियो । पुलिसका रेजिन सुब्बाको विजयी गोल गरेका थिए ।


पुलिसले गत वर्ष आयोजकसँग सेमिफाइनलमै हारेको बदला लिएको छ । टाइब्रेकरमा दुवैबाट ३–३ गोल भएपछि खेलको निर्णय सडनडेथबाट गरिएको हो । टाइब्रेकरमा रूपन्देहीका मनीष घले, चिनिङ गुरुङ र निशान लिम्बू गोल गरे । विश्व अधिकारी र अशोक थापाको प्रहार पुलिसका गोलरक्षक रोशनले विफल पारिदिए । पुलिसबाट सुमन लामा, वीरकुमार शाही र भोला सिलवालको पेनाल्टी गोलमा परिणत भयो । दिनेश राजभण्डारीको प्रहार रूपन्देहीका गोलरक्षक सोजित गुरुङले बचाए भने अजित भण्डारीको प्रहार बाहिरियो ।


निर्धारित समयमा दुवै टोलीबाट गोल हुन सकेन । घरेलु दर्शक र मैदानको साथले उत्साही रूपन्देहीले अधिकांश समय बल कब्जामा राख्यो । तर गोल गर्ने दर्जन अवसर सदुपयोग गर्न सकेन । कर्ण लिम्बू, विश्व अधिकारी, अमर डंगोल र गौरव बुढाथोकीको अवसरमा गोलरक्षक रोशन बाधक बने ।


पहिलो हाफमा कमजोर देखिएको प्रहरीले दोस्रो हाफमा लय समात्ने प्रयास गरेको थियो । समन्वय अभावमा दुई राम्रा अवसर गुमायो । भोला सिलवाल, विशाल श्रेष्ठ, रवि पासवान, रविन श्रेष्ठ र विशाल श्रेष्ठका प्रहार रूपन्देहीका गोलरक्षक सोजितले जोगाए ।

चारपल्टको च्याम्पियन पुलिस
टोलीका प्रशिक्षक अनन्तराज थापाले रक्षात्मक र समन्वयात्मक खेल खेलेकाले जित निकाल्न सहज भएको बताए । रूपन्देहीका प्रशिक्षक याम गुरुङले पाएका अवसर चुकाउनु र पेनाल्टीमा भाग्यले साथ नदिँदा हार बेहोर्नुपरेको बताए । बिहीबार मनाङ र थ्रीस्टारबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : चैत्र १, २०७४ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?