कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

पुलिस र थ्रीस्टारको पर्खाइ

बुढासुब्बा गोल्डकप फाइनल आज

काठमाडौँ — ढासुब्बा रेडबुल गोल्डकप फुटबलको उपाधि जित्न राष्ट्रिय स्तरका अनुभवी खेलाडीको टोली रुस्लान थ्रीस्टार क्लब र युवा जोसले भरिएको विभागीय टोली नेपाल पुलिस क्लब शनिबार धरान रंगशालामा उत्रँदै छन्।

पुलिस र थ्रीस्टारको पर्खाइ

यो सिजन पुलिसले थ्रीस्टारलाई दुईपल्ट सामना गरेको छ। अब धरानको भेट अविस्मरणीय बनाउँदै पुलिस टोली छैटौंपल्ट बुढासुब्बा गोल्डकप उचाल्न व्यग्र छ। फाइनलबारे पुलिसका म्यानेजर ज्योतिकमल गुरुङ र कप्तान हेम तामाङले चिरप्रतिद्वन्द्वी थ्रीस्टारसँग खेल ‘टफ’ हुने बताए।

टिम म्यानेजर गुरुङले भने, ‘हामी भोलि (शनिबार) बुढासुब्बा गोल्डकप छैटौंपल्ट उचाल्ने गरी मैदानमा प्रदर्शन दिन्छौं।’ उनले आफ्ना खेलाडी सबै युवा र जोसिला रहेको उल्लेख गर्दै कोही पनि घाइते नभएकाले जित सुनिश्चित रहेको दाबी गरे। उता थ्रीस्टारका अधिकांस खेलाडी घाइते भएकाले मैदानमा को–को उत्रन्छन् निश्चित छैन। यो स्थितिमा पुलिसले अग्रपंक्तिमा रेजिन सुब्बा, सुमन लामा र रवि पासवान उतार्दै छ। मिडफिल्ड हेम तामाङ, युवराज राई, तेज तामाङले सम्हाल्दा रक्षापंक्तिको जिम्मा दिनेश राजवंशी, बुद्ध लामा, अजित भण्डारी र सन्तोष हेमरनको काँधमा रहनेछ।

कप्तान हेम तामाङले भने, ‘पोखराको फाइनलमा पनि उसलाई (थ्रीस्टार) हामीले १–० ले जितेका थियौं। अब यहाँ पनि अझ बढी गोलले जित्ने लक्ष्य छ।’ क्वाटरफाइनलमा झापाको काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटीसी) लाई २–० ले हराउँदै सेमिफाइनल पुगेको पुलिसले सेमिफाइनलमा संकटामाथि २–१ को नतिजा निकाल्दै उपाधिमा दाबेदारी प्रस्तुत गरेको हो।


यसअघि चारपल्ट च्याम्पियन भइसकेको थ्रीस्टारले बुढासुब्बाको २० औं संस्करण आफ्नो पोल्टामा पार्दै पुलिससँग पोखराको बदला लिने रणनीति बनाएको छ। माघ पहिलो सातामात्र थ्रीस्टारले सर्वाधिक राशिको इटहरी गोल्डकप जितेको थियो। थ्रीस्टारलाई युवा स्टार विमल घर्तीमगरको अभाव भने खट्किएको छ। उनी अहिले आई लिगमा खेलिरहेका छन्। विमलको स्थान लिने खेलाडी अभावले थ्रीस्टारले आफ्नो रणनीति गोप्य नै राखेको सहायक प्रशिक्षक रवीन्द्र शिलाकार र कप्तान विक्रम लामाले बताए।

पुलिसले आफूसँग युवा र जोसिला खेलाडीले गोल स्कोर गर्ने बताइरहँदा थ्रीस्टारका प्रशिक्षक शिलाकरले भने, ‘हामीसँग अनुभवी खेलाडी छन्। विक्रम लामा, रेजिन लामा, एलेन न्यौपाने, अनन्त तामाङ, सुनील बल जस्ता राष्ट्रिय खेलाडी छन्। चार विदेशी पनि छन्। यसर्थ हामी उपाधि उचाल्ने छौं।’

सुदूरपश्चिमाञ्चललाई ४–० ले क्वाटरफाइनलमा हराउँदै सेमिफाइनल पुगेको थ्रीस्टारले दुर्गापुर स्टील फुटबल क्लब कोलकाताविरुद्ध १–० को नतिजा निकालेको थियो। थ्रीस्टारले यसअघिका गल्ती सच्याउँदै पुलिसविरुद्ध गोल स्कोर गर्ने शिलाकरले बताए। उनले चार विदेशीसहित अनुभवी खेलाडी हुँदाहँुदै पनि धेरै घाइते भएको र लगातार खेल्नुपरेकाले विश्राम नपाएको बताए। घाइते खेलाडीलाई मैदानमा उतार्न फिजियोले शुक्रबार बेलुकासम्म कस्तो सल्लाह दिन्छन् सोहीअनुसार टिम सेट गर्ने तयारी रहेको कप्तान विक्रमले बताए।उनले भने, ‘यसअघि हामीले स्कोरिङ र फिनिसिङ लाइनमा समस्या भएकाले राम्रा अवसर पनि सदुपयोग गर्न सकेका थिएनौं। पुलिससँगको भिडन्तमा ती कमजोरी सुधारेर उपाधि हत्याउने छौं।’

विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार जित्ने छन्। सर्वोत्कृष्ट खेलाडीले यामाहा मोटरसाइकल जित्दा विधागत उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्ने छन्।

प्रकाशित : माघ २७, २०७४ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?