३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

प्रशिक्षकको प्रतिनिधि छनोटमा विवाद

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) को अधिवेशनका लागि प्रशिक्षक संघको प्रतिनिधि छनोटमा विवाद आएको छ।

प्रशिक्षकको प्रतिनिधि छनोटमा विवाद

अध्यक्ष विनोद लामाले आफू मताधिकारसहित तथा उपाध्यक्ष सुमन श्रेष्ठ र सदस्य विजयलाल श्रेष्ठलाई प्रतिनिधिका रूपमा एन्फामा बुधबार दर्ता गराएका थिए। सोही दिन बसेको संघको बैठकले भने उपाध्यक्ष बालगोपाल महर्जनलाई मताधिकारसहित तथा अरुणा गुरुङ र राजेन्द्र तामाङलाई प्रतिनिधि पठाउने निर्णय गरेको थियो।

एन्फाको विधानअनुसार कार्यसमिति निर्णयले मताधिकारवालासहित तीन प्रतिनिधि पठाउने निर्णय गर्नुपर्छ। तर प्रशिक्षक संघका अध्यक्ष लामाले एकलौटी रूपमा प्रतिनिधि दर्ता गरेको आरोप छ। ‘कार्यसमिति बैठक अध्यक्षले भनेको समयमै बोलायौं तर उनी एन्फामा प्रतिनिधि दर्ता गराएर मात्र बैठकमा आए,’ संघका उपाध्यक्ष बालगोपाल महर्जनले भने, ‘प्रतिनिधि तोक्ने जिम्मेवारी आफ्नो भएको अध्यक्षले दाबी गरे। तर, त्यो विधान विपरीत हो। मताधिकार आफैंले लिने दाबी गर्दै उनी बैठकबाट

बाहिरिएका थिए।’

अध्यक्ष लामा बाहिरिएपछि उपाध्यक्ष महर्जनको अध्यक्षतामा बसेको बैठकले महर्जन, गुरुङ र तामाङलाई प्रतिनिधि पठाउने निर्णय गरेको थियो। उक्त निर्णयको माइन्युट संघले एन्फा सचिवालयमा बिहीबार बुझायो। ‘अध्यक्षको एकलौटी चल्ने भए संघमा कार्यसमिति किन चाहियो,’ उपाध्यक्ष महर्जनले प्रश्न गरे। प्रतिक्रिया लिने प्रयास गरे पनि अध्यक्ष लामा भने सम्पर्कमा आएनन्।

यसैबीच अध्यक्ष लामाले प्रतिनिधि तोकेका उपाध्यक्ष सुमन श्रेष्ठले विज्ञप्ति जारी गर्दै त्यसप्रति असहमति जनाएका छन्। ‘मेरो जानकारी र सहमतिबिना नै प्रतिनिधिका रूपमा मेरो नाम राखियो। यस किसिमको कार्यप्रति पूर्ण असहमति छ। अध्यक्षको यस्ता मनोमानी र निर्णयको भत्र्सना गर्दछु,’ उनको विज्ञप्तिमा

भनिएको छ।

रेफ्रीमा पनि विवाद

रेफ्री संघको निर्वाचनलाई लिएर निर्देशिका सच्याउन संघका पूर्वमहासचिव किरण गिरीले दर्ता गरेको रिटमाथि उच्चअदालत पाटनले बुधबार अन्तरिम आदेश जारी गर्दै ‘संघका पदाधिकारीलाई सपथ ग्रहण र पदीय जिम्मेवारी बहन नगर्नू/नगराउनू’ भनेको छ। नवनिर्वाचित अध्यक्ष बुद्धि गुरुङसहित पदाधिकारीले चुनावलगत्तै शपथग्रहण गरेका थिए। त्यसको एक दिनपछि अदालतको अन्तरिम आदेश आएको हो।

पूर्वसहायक फिफा सहायक रेफ्रीसमेत रहेका गिरीले निर्वाचन निर्देशिका सच्याउन अदालत गुहारे पनि उनले बिहीबार एन्फा सचिवालयमा निर्देशिकाअनुसार रेफ्री संघको निर्वाचन नभएको दाबी गर्दै उक्त चुनावलाई बदर गर्न निवेदन दिएका छन्।एन्फाको केन्द्रीय कार्यसमितिको निर्वाचन चैत १४ मा हुँदै छ। त्यसका लागि जिल्ला, क्लब र समितिहरूलाई प्रतिनिधि पठाउने अन्तिम समयसीमा बुधबार तोकिएको थियो।

प्रकाशित : माघ २७, २०७४ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?